म्यागेजिन


अफिसियटिङ सीईओ उपासनाको सूत्रः प्रगतिका लागि आफैँसँग प्रतिस्पर्धा

अफिसियटिङ सीईओ उपासनाको सूत्रः प्रगतिका लागि आफैँसँग प्रतिस्पर्धा

सन्तोष न्यौपाने
मंसिर २८, २०७७ आइतबार १३:४४,

‘तिमीले इन्स्योरेन्स बेचेर खान सक्छौ त?’

झन्डै एक दशकअघि भारतको एक बिमा कम्पनीमा काम सुरु गर्दा उपासना पौडेललाई सोधिएको प्रश्न थियो यो। प्रश्न उनको व्यक्तिगत क्षमतामाथि थिएन। बरु, त्यसमा महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने आग्रह थियो।

‘एचआर तयार गर्नुपर्छ। अनेक खाले रणनीति बनाउनुपर्छ। तिमीलाई गाह्रो छ,’ उनीहरु भन्थे।

यस्ता प्रश्न चसक्क मुटुमा बिझ्थे र उनी कामले नै जवाफ दिने अठोट गर्थिन्। यसैको परिणामस्वरुप उनले एक दशक नबित्दै लोभलाग्दो सफलता हासिल गरेकी छन्।

‘भारतमा काम सुरु गर्दा यो क्षेत्रमा महिलाहरुको संख्या थोरै थियो। अनि यस्तैयस्तै प्रश्न आउँथे,’ उपासनाले सुरुवाती दिन सम्झिन्।

गतसाता ट्रेड टावरको चौथो तलामा रहेको युनाइटेड इन्स्योरेन्सको कार्यालयमा भेटिएकी उपासना पौडेल अफिसियटिङ सीईओको कुर्सीमा थिइन्। युनाइटेड इन्स्योरेन्सको सीईओको कुर्सी खाली भएसँगै कम्पनी व्यवस्थापनको सम्पूर्ण जिम्मा उनको काँधमा छ।

Upasana Poudel2

उनका दिन निकै व्यस्त छन्। बिहानै अफिस छिरेकी उनी बेलुका ९–१० बजे मात्र घर पुग्छिन्।

‘यसरी काम गर्नु भयो भने त दुई वर्षमा तपाईं चेट हुनुहुन्छ,’ साथीहरुले चेताइसके।

‘अब विस्तारा पनि अफिसतिरै लैजाने कि!’ परिवारबाट प्रतिक्रिया आउँछ।

घरमा १६ महिनाको बच्चा छ। कहिलेकाहीँ परिवारलाई समय दिन नसकेको महसुस हुन्छ।

‘कहिलेकाहीँ गिल्टी फिल हुन्छ,’ उनले भनिन्, ‘तर कुनै प्रोजेक्ट हातमा लिइसकेपछि छाड्न मन लाग्दैन। कम्तीमा एक वर्षमा कम्पनीले लय लिन्छ। त्यसपछि परिवारको निम्ति केही समय होला।’

तर, १० बजे आएर ४ बजे घर जाने बानीले कम्पनी नबन्ने उनको ठम्याइ छ।

‘जहिले पनि कम्पनी र आफ्नो करिअर बनाउने हो भने काम गर्ने ठूलो उर्जा चाहिन्छ,’ उनी भन्छिन्, ‘यहाँ कसैले लौ भनेर दिने होइन, आफ्नो स्पेस आफैँ बनाउनु पर्छ।’

Upasana Poudel4

उनलाई धेरै पटक मान्छेहरुले सोधेका छन्– महिलाहरुलाई काम गर्न कति गाह्रो छ?

‘महिलाले आफैं कति इफोर्ट लगाउँछन् भन्नेमा भरपर्छ,’ उनको जवाफ छ, ‘सबै कुरा विस्तारै परिवर्तन हुँदैछ। त्यो कुरा बुझेर आफूलाई तयार गर्नुपर्छ।’

नयाँ पुस्तामा त्यो इच्छाशक्ति भएको उनले पाएकी छन्। घरमा ससाना बच्चा भएका कैयौँ कर्मचारी उनीसँगै काम गर्छन्।

‘उहाँहरुले पनि केही व्यवस्था मिलाएर काममा आइरहनु भएको छ,’ उनले भनिन्।

आफ्नै कम्पनीमा महिला र पुरुष कर्मचारीको अनुपात मिलाउने प्रयास उनले गरिरहेकी छन्।

Upasana Poudel7

यतिबेला कोरोना बिमा भुक्तानीको दबाब बढिरहेको बेला उनी कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने रणनीति बनाउँदैछिन्। कम्पनीलाई हिजोभन्दा आज र आजभन्दा भोलि राम्रो बनाउनु छ। राम्रा ग्राहकलाई कम्पनीसँग जोड्ने र आम मानिसबीच उपस्थिति बनाउनु पर्नेछ।

त्यसका लागि कम्पनीका केही रणनीति परिवर्तन गर्नुपर्ने छ। २७ वर्ष पुरा पुरा गरेको कम्पनीले बजारमा बलियो उपस्थिति देखाउनुपर्ने हो। तर, सोचेजस्तो हुन सकेको छैन।

त्यसैले उनले नयाँ तरिकाले काम गर्दैछिन्। कम्तीमा शेयरधनीलाई लाभांश वितरण गर्ने अवस्थामा कम्पनीलाई पुर्‍याउने उनको चाहना छ।

‘तत्कालीन र दीर्घकालीन रणनीतिमा रिटेललाई फोकस गर्ने योजना छ,’ उनी भन्छिन्, ‘यी सबै सेवाको प्रभावकारिता भने ‘डिजिटाइजेसन’ बाट आउँछ। आउटपुट आजको भोलि आउँदैन तर एकदुई वर्षमा कम्पनीलाई सस्टेनेबल बनाउन सकिन्छ।’

Upasana Poudel5

आफैँसँग प्रतिस्पर्धा
उनको सूत्र छ– प्रगति गर्ने हो भने सधैँ आफैँसँग प्रतिस्पर्धा गर्नु पर्छ। चाहे त्यो व्यक्तिगत होस् या कम्पनीको प्रगति।

आफैँसँग प्रतिस्पर्धा गर्दा बितेका समयमा भन्दा राम्रो गर्ने र सधैँ उत्साहित हुने ठाउँ रहन्छ।

‘एकै पटक नम्बर वान बनाउँछु भनेर उच्च आशा राखेर हुँदैन,’ उनले भनिन्।

एक वर्षअघि युनाइटेडमा आएपछि सबैभन्दा पहिला कम्पनीको भिजिबिलिटी बढाउने प्रयासमा उनी लागिन्। त्यसका लागि कम्पनीमा रहेका समस्या पहिल्याउन उनी लागिपरिन्।

‘ग्राहकलाई सेवा दिने कुरामा पछि पर्नु हुँदैन। बिजनेस ल्याउने तर सेवा राम्रो नभए अर्थ हुँदैन,’ उनी भन्छिन्, ‘त्यहाँ हामीले ध्यान केन्द्रित गर्‍यौँ।’

अहिले उनी ठूला ग्राहकको संख्या बढाइरहेकी छन्। त्यसैले अहिले नै उनी कम्पनीलाई बजारका प्रतिस्पर्धीसँग तुलना गर्न चाहन्नन्।

‘कमसेकम सय करोड क्लबमा पुगौं त्यसपछि मात्र बजारसँग प्रतिस्पर्धा हुन्छ,’ उनी भन्छिन्, ‘अहिलेको प्रतिस्पर्धा आफैँसँग छ।’

कम्पनीको अवस्था सुधार गर्नुपर्ने छ। अन्य कम्पनीसँग तुलना गर्ने हो भने कम्पनी अन्तिमबाट चौथोमा पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको प्रगति राम्रो छ। अहिले उनको कम्पनी १५ औं स्थानमा उक्लेको छ।

गत वर्षको अन्तसम्ममा युनाइटेडको मार्केट सेयर १.९ प्रतिशत थियो भने यो वर्षको चार महिना कात्तिकसम्ममा ३.७ प्रतिशत पुगिसकेको छ। प्रगति दर ५० प्रतिशतमाथि छ। गत वर्षभरीमा १८ करोडको प्रिमियय उठाएको कम्पनीले यो त्रैमासिकमै २७ करोड पुर्‍याइसकेको छ।

स्थापनाको मितिले हेर्दा युनाइटेड इन्स्योरेन्स पाँचौं कम्पनी हो। ३३ स्टेसन शाखा र २३० कर्मचारी भएको २७ वर्ष पुरानो कम्पनीलाई स्थापित गर्न उनले अझै धेरै काम गर्न बाँकी छ।

Upasana Poudel3

कोरोना एक अवसर
आजभोलि बिमा कम्पनीहरुमा भीडभाड छ। दाबी गर्नेहरुको संख्या बढेको छ। जसमध्ये आधा कोरोना बिमाका छन्।

कम्पनीलाई दाबी भुक्तानी गर्ने दबाब भएपनि यो उनीहरुका लागि एक अवसर पनि हो। यसले बिमाको महत्व आम मानिसलाई बुझाउन सघाएको उपासनाको अनुभव छ।

‘युनाइटेडको अछाम जिल्लामा एक शाखा छ। अछाम जस्तो ग्रामीण क्षेत्रमा इन्स्योरेन्स गराउन निकै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘कोरोना संकटपछि बुझाइमा केही परिवर्तन आएको छ। अहिले त्यस क्षेत्रका मान्छे इन्स्योरेन्स गर्नु पर्‍यो भनेर आफैँ आउन थालेका छन्। सहरमा पनि इन्स्योरेन्सबारे मानिसहरुको रुचि बढेको छ।’

धेरैले इन्स्योरेन्सलाई सरकारी कर बुझाउने दायित्व मात्र बुझेका छन्।

Upasana Poudel6

वोडाफोन छाडेर बिमामा
काठमाडौंमा डीएबी स्कुल पढेकी उपासनाले काठमाडौँ कलेज अफ म्यानेजमेन्ट ग्वार्कोबाट स्नातक गरिन्। त्यसपछिको उच्च शिक्षाको लागि भारत गइन्।

भारतको गन्यमान्य कलेज दिल्ली युनिभर्सिटीस्थित फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजमा एमबीए पढिन्। त्यहाँ कलेजले नै कामको व्यवस्था मिलाइदिन्थ्यो।

त्यही अवसरमा समर इन्टर्नसिपमा उनी पुणेको एक कम्पनीमा पुगिन्। त्यो उनको पहिलो काम थियो।

इन्टर्नसिप जम्माजम्मी तीन महिनाको थियो। छोटो समय भए पनि उनको लगावका कारण कम्पनी प्रभावित भयो।

‘मलाई त्यहीँ कामको अफर गर्नु भयो,’ उनले सुनाइन्, ‘त्यहीँबाट मेरो व्यावसायिक करिअर सुरु भयो।’

त्यही बेला उनको बिहे भयो। श्रीमान् मुम्बईमा काम गर्थे। बिहेपछि कि श्रीमानले मुम्बई छोड्नु पथ्र्यो कि उपसनाले पुणे। पुणेभन्दा अवसरका दृष्टिकोणले मुम्बई राम्रो भन्ने आकलन गरे दुवैले।

झण्डै डेढ वर्षको पुणेको बसाइपछि उपसना मुम्बई गइन्।

पति पल्लव पराजुलीसँग उनको पहिलो भेट दिल्लीमा एमबीए पढ्दा भएको थियो। त्यहाँ पढ्दापढ्दै मायाप्रीति बस्यो। त्यसलाई उनीहरुले विवाहमा बदले।

मुम्बई आएपछि उनी एक बिमा कम्पनीमा काम गर्न थालिन्। त्यहीँबाट उनलाई बिमा कम्पनीप्रति रुचि जागेको थियो।

सन् २०१६ मा उपसना भारतको चर्चित टेलिकम कम्पनी वोडाफोनमा प्रवेश गरिन, जहाँ उनले भारतभरको पोस्टपेड बिजनेस हेर्न थालिन्। त्यहाँको वातावरण रमाइलो थियो। तर उनलाई लामो समय काम गर्न मन लागेन।

‘मेरो विज्ञता बिमामै छजस्तो लाग्यो,’ उपसनाले भनिन्, ‘लेट्स गो ब्याक भनेर म बिमा कम्पनीमै फर्किएँ।’

सन् २०१८ मा दुवै जनाले नेपाल फर्किने निर्णय गरे।

त्यसपछि सानिमा जनरल इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरका रुपमा काम गर्न थालिन्। सानिमामा झन्डै डेढ वर्ष काम गरेपछि युनाइटेड इन्स्योरेन्समा डेपुटी सीईओ पदमा भ्याकेन्सी खुल्यो।

‘यहाँ केही गरेर देखाउन सकिन्छजस्तो लाग्यो र म युनाइटेड इन्स्योरेन्समा आएँ,’ उपसनाले भनिन्, ‘म मार्केटिङ मात्र होइन, रिइन्स्योरेन्सदेखि आईटी ट्रान्सफरमेसनसम्मका सबै प्रोग्रामको निपुण थिएँ। त्यसैले सजिलो भयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .