म्यागेजिन


‘डुमेरो’ : काठमाडौं छिरेका हरेकको जीवनकथा

‘डुमेरो’ : काठमाडौं छिरेका हरेकको जीवनकथा

अनन्त नेपाल
भदौ ५, २०७७ शुक्रबार १५:२३,

‘बाबा, यो डुमेरो भनेको के हो?’

‘डुमेरो भनेको काम नभै लखरलखर डुल्नु हो, जाँ पनि पुग्नु।’

‘अनि यस्तो डुल्ने पनि किताब हुन्छ त?’

‘हुन्छ नि!’

‘ए, अनि मैले पनि पढ्न हुन्छ यो किताब?’

‘तिमीलाई नेपाली आउँछ त अनि?’

‘ला... त्यसो भए यो किताबलाई इङ्लिसमा ट्रान्सलेट गर्दिसिन्छ?’

बच्चाले नयाँ खेलौना पाएजस्तो खाँदा, बस्दा जता जाँदा पनि लिएर हिँडेको किताब देखेर छोरीले सोधेका प्रश्न हुन्, यी।

कहिल्यै त्यसरी एकचित्त भएर पढेको नदेखेकी मेरी छोरीका सामान्य प्रश्नका उत्तर कठिन थिएनन्। तर मलाई  एकछिन सोचमग्न बनाइदियो। ओहो... किताब पढ्ने बानी त छुटेछ गाँठे!

बजारमा प्रशस्त किताब छन्, राम्रा किताब छन्, औसत किताब छन्, नयाँ छन्, पुराना छन्, पुरस्कृत छन्, पाठकले माया गरेका किताब छन्। तर झकझक्याउने नै खालका किताब नभएर हो कि खोजी नपसेर हो, हिजोआज त्यति किताब पढिन्न।

सरला मेरो नजिककी साथी हो, ऊसँग तँ तँ र म म चल्छ। हामीले कहिल्यै एकअर्कालाई ‘तिमी’ सम्म पनि सम्बोधन गरेनौं, आवश्यकै परेन। करिअरको सुरुवातमा एफएम रेडियोमा काम थाल्दा मेरो स्वर परीक्षा लिनेमा ऊ पनि थिई। पछि हामी साथी भयौं।

दिन, महिना, वर्ष बितेर गए। त्यसउप्रान्त प्रायः ऊ लेखक, म उसको ‘फ्यान’ भएरै यारी दोस्ती निर्वाह गरिरह्यौं।

उसका सबैजसो लेख पढेको छु। कहीं कतै भनी पनि हाल्छु- ‘खतरा लेखिस् है केटी’ भनेर। नत्र चुपै बस्छु।

‘डुमेरो’ आउँदैछ भन्ने थाहा पाएपछि भने चाख लाग्यो। सोधें- ‘किताब आउँदै हो?’

‘अँ, अब बजारमा निस्किने तयारीमा छ, कोरोनाले पो के गर्छ!’

‘कोरोनाको भ्याक्सिनसम्बन्धी हो र?’

‘लोल!’

‘नत्र भए के को डर?’

‘अँ।’

‘सय-दुई सय कपि पठाइदिनु कति सकिन्छ, यता म बेच्दिउँला।’

‘ल पख्, म नेपालयलाई भन्दिन्छु।’

कुरा भएको १० दिन पनि बित्दा नबित्दै दैलोमा किताबका पोका झरे। प्लास्टिकले बेरेकाे, झलक्क हेर्दा बोटबिरुवाको तीनपुस्ते लेखेजस्तो लाग्ने ‘डुमेरो’ झटपट खोलेर पढ्न थालें।

भूमिका छैन, प्रस्तावना छैन, तँ मेरो लेख्दे, म तेरो लेख्दिन्छु, भनेजसरी सट्टेबाजीका समीक्षा छैनन्। सीधा ‘सिन ओपन’ हुन्छ। क्यारेक्टर हुन् कि जीवित प्राणी, छुट्याउन गाह्रो हुन्छ। फूपु भदैनीको डिभाइन रिलेसनसिपमा कुनै बाहिरी रंग पोतिएको छैन। निश्चल छ, जस्तो हुनुपर्ने हाे, तेस्तै।

नारायणगढ बजारको सेरोफेरो जस्ताको तस्तै लपक्क टाँसिएको छ, फिलिमको पोस्टरमा भातको माड टाँसेजस्तै। जताजता क्यारेक्टर घुम्छन्, त्यतैत्यतै परिवेश चलचित्रजसरी आँखामा नाच्न थाल्छन्। दृश्यको वर्णन रिल बाई रिल सोलिड छ। 

रेडियो/टीभीको मोह, नायिका बन्ने रहर, बाआमालाई स्वावलम्बी बनेर देखाउने उत्कट चाहनाले सोनम बिस्तारै रंगमञ्चको चक्रव्यूहमा फस्छे। चौथाइ कथा सकिँदा नसकिँदै आफ्नो एम्बिसनमा लगभग कामयाब भइसकेकी उसको जीवनमा त्यसपछि आउने घटनाक्रमले हामीले बाँचेको समयको यथार्थ चित्रण गर्छन्।

पात्रहरू कहीं कतैबाट डिराइभ्ड लाग्दैनन्, तिनका बाेली, लवजमा कुनै लगाम छैन, जसरी कुरा गर्छौं हामी हरदिन, त्यसरी नै बोल्छन्। तिनका मुटु धड्किन्छन्, ती मुस्कुराउँछन्, प्रेम गर्छन्, रिसाउँछन्, मन लागेको गर्छन्।

मोफसलबाट काठमाडौं छिरेको जो कोहीको दैनिक जीवनको सेरोफेरो छ, कथामा। नयाँ, नौलो अथवा ‘वाउ’ भनेर चकित पार्ने कुरा केही छैन। वास्तविक जीवनमा फिल्ममा जस्तो छिटोछिटो परिवर्तन, अकस्मात् चिठ्ठा वा अनायासै बित्याँस पार्ने घटना विरलै हुन्छन्। यो कथामा पनि त्यस्तो केही छैन।

त्यसैले कसैले यसलाई लिनिङ टुवार्ड्स ननफिक्सन भने भने आँखीभौं उचाल्नु पर्दैन। सिम्प्लिसिटीकै कारण पनि धेरैले आफ्नो वर्तमान वा विगतसँग ‘रिलेट’ गर्न सक्छन्। मलाई लाग्छ- त्यही भएर पनि बढी रुचाइएको होला। र त यो महामारीका बेला पनि रिप्रिन्टमा जाँदै छ, किताब।

सुप्रियाका पलमा म आफ्नै अन्तरंगी केही साथीको झल्को भेट्छु। यतिविधी माया गर्ने साथी हुन्छ र भनेजस्तो। पत्रिकामा छापिइसकेको सरलाको आफ्नै लेख यशोधराको बुद्धत्व र महाभारतको कथाको प्रसंग सुहाएको छ।

विशेषगरी राहुलसँग यशोधराको संवादले यसै पनि जतिपटक पढ्यो, उतिपटक जीउमा काँडा उमारिदिन्छ।

कवितात्मक शैली भएर पनि सलल्ल बगेको छ– कथा, नारायणीको पानीजस्तै। भाषामा जार्गन्स् छाडेर चलनचल्तीका लवज टपक्क टिप्नसक्ने लेखकको खुबी राम्राेसँग झल्किन्छ।

‘बियरका बोतल आमाले देखिन् भने ढाडमा रन्दा लगाउँछिन्’– कस्तो सिम्पल र रियालिस्टिक साउन्ड गर्ने एक्स्प्रेसन।

‘माया गर्नेसँग हो हार्ने
अपमान गर्नेसँग त म
एक थोपा रगतको भरमा लड्छु
बगरमा एक्लै उभिएर
भत्काइदिन्छु तिम्रो अभिमानको लंका’- वाह! क्या कन्फिडेन्स् छ।

‘पछिल्लो दुईपटक छातीमै औंला पुर्‍यायाे, सिनमै मस्त भएजस्तो गरी। म अलमल परें। यो सिनमा डुबेकै हो कि नियत गडबड भयो? अगाडि यत्तिका मान्छे छन्’ –अक्सर नायिकाहरू अवसरका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने सोचमा प्रहार छ, सिमरनको रियाक्सनमा।

आयातीत शब्दबाहेक अंग्रेजी शब्द कमै भेटिने नेपाली किताबमाझ ‘डुमेरो’ मा प्रयोग गरिएका चलनचल्तीका अंग्रेजी शब्द र वाक्यांश सरर्र आँखाबाट मस्तिष्कसम्म पुग्छन्, बिनाहिच्किचाहट।

साहित्यमा भाषा स्वेच्छाचारी हुनुहुँदैन, तर जीवनको कथा भन्ने बेला जस्ताको तस्तै भन्न अकमकाइयो भने राजाको अद्भुत लुगाजस्तै हुन्छ- किताब, लास्टमा ‘...ए राजा त नांगै!’

साहित्यले पनि बदलिँदो समाज, उठेको चेतनास्तर, मानिसमा बढ्दै गएको अरू भाषाप्रतिको लगावलाई आत्मसात् गर्नुपर्छ, नत्र त खुइँखुइँ नेपाली शब्दकोश घोकेर बसे भैगो। ‘डुमेरो’ मा प्रयोग भएका कुनै पनि शब्द उरन्ठेउला लागेनन्, मलाई।

कथा भन्ने शैलीबारे यत्ति भनूँ- सरला वाज बोर्न टु बिकम ए न्याचुरल स्टोरी टेलर।

शारीरिक सम्बन्ध र प्रेमको सवालमा ‘डुमेरो’ स्वच्छन्द दौडेको छ, दुनियाँ/समाजको बेवास्ता गर्दै। नेपाली समाजमा महिला स्वतन्त्रता- धेरै बहस र चर्का टीकाटिप्पणी भइरहने टपिक हो। तर एउटी महिलाको यौन स्वतन्त्रताबारे के भन्छ नेपाली समाज? एक जनासँग प्रेम गरेकी नारीले अर्कोसँग पनि त्यस्तै सम्बन्ध एकै समयमा वा केही अन्तरालमा राख्न खोजिन् भने त्यसलाई कसरी व्याख्या गरिएला? सिउँदोमा विवाहको लाहाछाप जरुरी छ, शारीरिक सम्बन्धका लागि?

अर्काले बनाइदिएको सही र गलतको परिभाषाभित्र कैद भएकाे छैन, ‘डुमेरो’। निस्फिक्री छ, चञ्चल छ र पनि संयमित छ। 

आफ्नै शरीरको उपेक्षा गर्नेले कसरी अरूसँग प्रेम गर्न सक्ला? शारीरिक सम्बन्धको व्याख्या गर्दा सोझै गाँस हाल्न हतार गरेजस्तो लाग्ने लेखनशैलीको सट्टा ससाना मुहूर्तलाई सजीव देखाएर न्याय गरेको छ, ‘डुमेरो’ ले।

अब भन्नुहोला- ‘यो त रिभ्यु भएन, खालि राम्रा कुरा मात्रै भो!’

क्षमा चाहन्छु- मैले जसरी पढें, जसरी बुझें, त्यसैगरी भनें। फेरि भएभरको कथा ओल्टाइपल्टाइ लेखिदिएर लेखक, किताब र प्रकाशकप्रति अन्यायै गर्न पनि त भएन नि, हैन? ल, बाँकी समीक्षा गर्ने काम तपाईं अरू पाठकको।

अहिलेलाई यत्ति भनौं- अंग्रेजीमा उल्था भएछ भने वा मेरी छोरीले नेपाली पढ्न सिकिन् भने उनका लागि एक प्रति छुट्याएर राखिदिनेछु।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .