सिड्नीमा पाइला टेकेको १० वर्ष पूरा भइसकेछ । यी १० वर्षमा योगेश र मैले कति दुःख खेप्यौं र कति हण्डर खायौं भन्ने कुराको कुनै लेखाजोखा नै छैन। हुन त विदेशको ठाउँ सहज त कहाँ हुन्छ र? न सुत्ने ठेगान, न खाने नै। यति हुँदाहुँदै पनि दिनरात नभनी काम गरेँ, कमर्सियल कुकरी पढेँ र पीआर लिएँ।
योगेश मेरो ‘डिपेन्डेन्ट’मा मसँग विवाह गरेर सिड्नी आएको थियो। पीआर भएपछि उसले सिटीको वुलवर्थ सपिङ सेन्टरमा काम सुरु ग¥यो। मैले सिड्नीको पिटरसम भन्ने ठाउँको एउटा नाम चलेको क्याफेमा मेनेजरको रुपमा काम पाएँ।
योगेश मेरो बुबाको साथीको छोरा। पहिल्यैदेखि राम्रो चिनजान थियो। हामी एकअर्काको घरमा जाने आउने गथ्र्यौ। दुवैको परिवारको ईच्छा पनि हाम्रो विवाह भइदिए हुन्थ्यो भन्ने थियो।
म भर्खरै प्लस टू सकेर बसेकी थिएँ। त्यति नै बेला परिवारको ईच्छा पूरा भयो। बिहेपछि मैले योगेशको आग्रहमा आइएलटीएस गरेँ। आइएलटीएस सकेपछि एप्लाई गरेँ। अन्ततः विवाह भएको एक वर्षमा हामी सिड्नी आइपुग्यौँ।
हाम्रो जीवन खुसीसाथ बितिरहेको थियो। एकअर्काले कहिल्यै कसैमाथि कुनै गुनासो गरेनौँ। १० वर्षसम्म कुनै दिन झगडा परेको वा अविश्वास पैदा भएकोसम्म याद छैन मलाई।
तर, एकदिन।
हामी खाना खाँदै थियौँ। योगेशको म्यासेन्जरको घन्टी बज्यो। सासू आमाको फोन रहेछ। ‘बाबु नीतासँग कुरा भयो त? मर्ने बेलामा त नातिको मुख हेर्न पाउनुपर्यो नि।’ केही समय औपचारिक कुरा गरेपछि उहाँले भन्नुभयो। मैले सुनिहालेँ। मलाई अब खाना विष झैं लाग्न थाल्यो। न निल्न सकेँ, न त ओकेल्न नै।
बच्चा जन्माउने ईच्छा हामी दुवैको थियो। तर, कयौँपटकको प्रयास असफल भएपछि हामी तनाबमा थियौँ। जाँच गर्न अस्पतालमा पनि गएका थियौँ। कमजोरी मेरैतर्फबाट देखियो।
योगेश मलाई सधैं साहनुभूति दिन्थ्यो। ऊ भन्थ्यो, ‘आकृति, हाम्रो नभए के भो त हामी बच्चा ‘एडप्ट’ गरौँला।’ उसको यही कुराले मलाई सधैँ हौसला मिल्थ्यो।
तर, यतिबेला आमा र उसको र्वातालापले मेरो मन छियाछिया भएको छ। परिवारले जेसुकै गरे पनि योगेशले त मलाई साथ देलाजस्तो लागेको थियो। उसको त योजना नै अर्कै रहेछ।
योगेश भने आमाले त्यसो भनेपछि खाना छाडेर अर्कै कोठामा गएर गफिन थाल्यो। यता मेरो आँखाबाट आँसु झरिरह्यो।
५ मिनेटपछि ऊ आयो। मैले केही थाहा नपाएजसरी आँसु पुछेँ। योगेश पनि पहिलेजस्तै समान्यरुपमा प्रस्तुत भइरहेको थियो। मेरो मनले भन्यो, ‘१० वर्षसम्म उसले मसँग यसरी नै नाटक गरेको रहेछ।’
यसरी नै दिनहरु बित्दै गए।
एकदिन बिहानै मर्निङ सिफ्ट छ भनेर योगेश काममा जान तयार हुँदै थियो। त्यति नै बेला उसको मोबाइलमा मेसेज आयो, ‘बेबी कम फास्ट, आई एम वएटिङ।’ त्यो मेसेज देखेपछि मलाई रिंगटा लाग्न थाल्यो। उनीहरुबीच कुनै सम्बन्ध नभएको भए उसले बेबी किन भन्थी र? उसले अफिस जान्छु भनेर किन ढाँट्थ्यो र? फेरि मेसेज नीताको नामबाट आएको थियो। जसको नाम केही दिनअघि आमाको मुखबाट सुनेकी थिएँ।
योगेश बाथरुमबाट निस्किनुअघि नै मैले उसको मोबाइल जहाँ थियो त्यहीँ राखिदिएँ। मेरो मानसपटलमा भने मैले कहिल्यै नदेखेकी नीता नामकी केटी घुमिरही। योगेशको टेखावटी प्रेम नाचिरह्यो।
योगेश मलाई ‘हग’ गरेर काममा गयो। म मूर्ति बनेर उभिइरहेँ। ऊ केका लागि मसँग यस्तो औपचारिकता निभाइरहेको छ? भन्ने प्रश्नले पिरोलिरह्यो।
सिड्नी आएदेखि योगेश र मेरो बैंक अकाउन्ट पनि एउटै थियो। एकदिन काम सकेर घर फर्कंर्दै थिएँ। बैंककबाट ३ हजार डलर झिकेको मेसेज आयो। यत्रो पैसा उसले किन झिक्यो? मलाई एकपटक पनि सोध्न किन जरुरी ठानेन? मनमा कुरा खेल्न थाले। विक्षिप्त भएँ। टाउको दुखिरहेको थियो। घर पुग्नासाथ सुतेँ।
योगेश राति ९ बजे कोठामा आयो। आजभोलि यसै पनि उसको सिफ्ट कति बजेसम्म हुन्छ र ऊ त्यसपछि कहाँ जान्छ मलाई जानकारी हुन छाडेको थियो। एउटै घरमा बसे पनि अपरिचित झैँ थियौँ हामी।
कोठामा छिरेर योगेशले मेरो निधार छाम्यो। मलाई झनक्क रिस उठ्यो। मुख खोल्न बाध्य भएँ, ‘स्टप दिस ननसेन्स, आई ह्याभ बिन सफरिङ अ लट।’
सायद योगेशलाई कुनै अनुमान थिएन, म के भनिरहेको थिएँ। मैले ऊ र नीताबीचमा भएको सबै मेसेजको फोटो खिचेर राखेकी थिएँ। त्यो सबै उसलाई देखाइदिएँ। ऊ उल्टै मसँग निहुँ खोज्न थाल्यो। रातभर हाम्रो ठूलो झगडा प¥यो। उसले सजिलै भनिदियो, ‘मैले मेरो घरको वंश धान्न भए पनि अर्को विवाह गर्नैपर्छ।’
‘मलाई किन गर्भमै मारिदिएनौँ आमा’ म जोडले कराएँ। छाती पिटिपिटी रोएँ। त्यस रात एक पल पनि मलाई निद्रा परेन।
योगेशले भोलिपल्टै डिर्भोस पेपर लिएर आयो। मैले केही नसोची हस्ताक्षर गरिदिएँ। सोच्नु के नै थियो र। नाटकीय प्रेममा बाँच्नुभन्दा बरु एक्लै बाँच्न ठीक भन्ने लाग्यो।
अफिसमा फोन गरेर दुई÷तीन दिन बिदा लिएँ। रातभरी आँखा झिमिक्कै नगरी बिहान भयो। सुटकेसमा आफ्ना लुगा पोको पारेर गन्तव्यविहीन यात्रामा निस्किएँ।
ट्रेन स्टेसन पुग्नै लागेकी थिएँ। कसैले हर्न बजायो। म झस्केँ। ‘हे आकृति हाउ आर यू’ कारबाट कालो चश्मा लगाएको कोही निस्किँदै मलाई बोलायो। रोहित रहेछ। मेरो स्कुल पढ्दाको साथी। जसले मलाई आफूभन्दा बढी प्रेम गथ्र्यो। तर, हामीबीचमा बाहुन र क्षेत्रीको उपमा पर्खाल बनेर उभिएको थियो। हाम्रो प्रेमबारे थाहा पाएपछि बुबाले सानै उमेरमा मेरो योगेशसँग विवाह गरिदिनुभएको थियो। योगेशले पनि मेरो समस्यालाई सहजै बुझेको थियो। भन्थ्यो, ‘प्रेम प्राप्तिमात्र नभएर त्याग पनि हो, आकृति।’
‘आर यू अल राइट?’ रोहितले माथिदेखि तलसम्म मलाई निहालेर हेरेपछि सोध्यो।
‘आईएम ओके’ मैले जवाफ फर्काएँ। उसले सँगै कफी पिउने प्रस्ताव राख्यो। म उसको कारमा चढेँ। करिब १५ मिनेटको ड्राइभपछि हामी एउटा क्याफेमा पुग्यौँ।
कफी पिउँदै मैले उसलाई आफ्नो मीठो विगतदेखि तीतो वर्तमानसम्मको कुरा सबै भनेँ। कतिखेर आँसु झ¥यो थाहै पाइनँ।
रोहितले मेरो आँसु पुछ्दै भन्यो, ‘यदि तिमी अनुमति दिन्छौँ भने म तिमीसँग विवाह गरेर बाँकी जीवन बिताउन चाहन्छु।’
खासमा म सिड्नी छु भनेरै ऊ यता आएको रहेछ। आईटी पढ्दै र एउटा कम्पनीमा काम गर्दो रहेछ। म केही नबोलेपछि उसले थप्यो, ‘सोचेको थिएँ जिन्दगीमा फेरि कहिल्यै बिहे गर्दिनँ भनेर।’ म केही नबोली उसलाई हेरिमात्र हरेँ।
ऊ जुरुक्क उठ्यो। मलाई आफ्नो अँगालोमा बाँध्यो। १० वर्षपछिको मिलनले म भावुक बनेँ। आँसु रोकिएनन्। सायद खुसीको आँसु हुनुपर्छ।
प्रतिक्रिया