ad ad

म्यागेजिन


भारतीय नेपालीभाषीको आन्दोलनको कथा ‘फातसुङ’

भारतीय नेपालीभाषीको आन्दोलनको कथा ‘फातसुङ’

नीरज लवजू
असार २८, २०७६ शनिबार ११:१,

नेपाली भाषामा लेख्ने भारतीय लेखकहरूको नेपालसँगको सम्बन्ध सेतू पछिल्लो समय बलियो बन्दै गएको छ। पञ्चायतकालमा भारतको दार्जिलिङ, कालिङपोङ र खर्साङ क्षेत्रका साहित्य, संगीत र कला क्षेत्रका प्रतिभाशाली साहित्यकार र कलाकारले नेपालको कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका निम्ति महत्वपूर्ण योगदान गरेका थिए।

समयान्तरमा यो सिलसिला धिमा गतिमा अघि बढ्यो। तर, केही समययता अझ भिन्नरूपमा नवीकरण हुँदै गएको देखिन्छ। हिजो नेपालको सरकारी पहलबाट जोडिएको यो सम्बन्ध आज नागरिक तहबाट प्रवद्र्धन भइरहेको देखिन्छ। नेपालका लेखक, कवि र कलाकारको सिक्किम, दार्जिलिङ, कालिङपोङतिर र उताका लेखक, कवि र कलाकारको नेपालतिर आउजाउ बाक्लो बन्दै जानु यसको एउटा उदाहरण हो।

एकै भाषामा लेख्ने साहित्यकारबीचको सम्बन्ध विस्तारको यो सिलसिलालाई नेपाली साहित्य बजारमा छुदेन काविमोको उपन्यास ‘फातसुङ’ को उपस्थितिले अझ व्यापक बनाएको छ। कविमोको १५० पृष्ठको ‘फातसुङ’ उपन्यासले नेपालीभाषी भारतीय जनताको ग्रामीण जीवनको चित्रण गरेको छ। उपन्यासको मूल परिधि अलग ‘गोर्खाल्यान्ड’ को माग गर्दै सन् १९८० को दशकमा भएको आन्दोलन हो।

उपन्यासमा नोर्देन, नसिम र सूर्य दा तीन पात्रलाई केन्द्रमा राखी गोर्खाल्यान्ड आन्दोलनको विभिन्न आरोह–अवरोह र कुइँनेटाहरूको औपन्यासीकरण गरिएको छ। लेप्चा भाषामा ‘फातसुङ’ को अर्थ माटोको कथा अर्थात् धर्तीको कथा भएको पुस्तकमा उल्लेख छ। भारतमा नेपालीभाषीको अलग प्रान्तको माग गर्दै भएको आन्दोलन र संघर्षको कथा भएकाले उपन्यासको नामकरण मौलिक र सान्दर्भिक छ।

उपन्यास कथावाचकका बालसखा रिपदेनको घर पहिरोले सोहोरेर तल हुत्याएको घटनाबाट सुरु हुन्छ। रिपदेन र कथावाचकको बाल्यकालका रमाइला किस्साबाट सुरु भएको उपन्यास नोर्देन, नसिम र सूर्य दाले अलग गोर्खाल्यान्डका लागि गरेको बलिदानीपूर्ण सशस्त्र संघर्षको कथामा घुमेको छ। दार्जिलिङमा हुने गोर्खाल्यान्ड आन्दोलनबारे नेपाली पत्रपत्रिकामा बेलाबेला आउने समाचार र केही लेखमार्फत नेपाली पाठकलाई जानकारी नभएको होइन। तर, गोर्खाल्यान्ड आन्दोलनभित्रको अन्तरकथा बुझ्न भने यो उपन्यास उपयोगी छ।

गोर्खाल्यान्ड आन्दोलनमाथि पश्चिम बंगाल सरकारको दमन र आन्दोलनभित्रै विभाजनको कथा उपन्यासको प्रमुख विषय हो। दार्जिलिङलाई हिल काउन्सिलको अधिकारमा सीमित राख्ने पक्ष वा अलग राज्यका लागि लड्ने पक्षबीचको विभाजन र संघर्षलाई उपन्यासमा चित्रण गरिएको छ। मूलतः यो उपन्यास हिल काउन्सिलको अधिकारभन्दा अघि बढेर अलग गोर्खाल्यान्डका लागि सशस्त्र संघर्षमा होमिएको एउटा समूहको कथा हो। शान्तिपूर्ण आन्दोलनमाथिको दमनको प्रतिरोधमा यो समूह सशस्त्र संघर्षमा होमिएको देखाइएको छ। उनीहरूका गतिविधि मूलतः नेपालीभाषीको बाहुल्य भएको टिस्टा नदी छेउछाउका ग्रामीण पहाडी क्षेत्रमा आधारित भएको चित्रण गरिएको छ।

सशस्त्र विद्रोहको तयारीको क्रममा योद्धाले भोग्नुपर्ने जीवनका जटिलता हरेक द्वन्द्व साहित्यमा जस्तै यो उपन्यासमा पनि सजीव चित्रण गरिएको छ। गोर्खाल्यान्ड आन्दोलनभित्रकै अर्को समूह (एनबी) सँगको द्वन्द्व र तत्कालीन पश्चिम बंगाल सरकारको नेतृत्वमा रहेको भाकपा (माक्र्सवादी)प्रतिको आक्रोशको चित्रणका कारण यो तत्कालीन भारतीय नेपालीभाषीको आन्दोलन बुझ्ने साहित्य बनेको छ।
दार्जिलिङ वरपरका नेपाली भाषीहरूले बोल्ने आफ्नै मौलिक विशेषतासहितको नेपाली भाषामा लेखिएको यो उपन्यास नेपाली भाषाको उपन्यास भएर पनि यसमा फरक भाषिक मिठासको अनुभूति गर्नसक्छौँ।

भिन्न आञ्चलिक भाषिक विशेषता हुनु यो उपन्यासको अर्को विशेषता हो।तथापि उपन्यासले तत्कालीन आन्दोलनको वैचारिक गहिराइलाई भने समात्न सकेको देखिँदैन। गोर्खाल्यान्ड आन्दोलनभित्रका विभिन्न धारलाई सतही रूपमा मात्र छोएको देखियो। राज्यको दमनको प्रतिकार र आन्दोलनभित्रकै अलग–अलग समूहको अन्तरविरोधलाई घटनाक्रममा चित्रण गरिए पनि यसको वैचारिक जगमा यो उपन्यास पस्न सकेको देखिँदैन। 

उपन्यासका मूल पात्रहरू नोर्देन, नसिम र सूर्य दा राजनीतिक संघर्षमा होमिएका छन्। तर, उनीहरूको वैचारिक र राजनीतिक चेतनाले भने भुँइ छोएजस्तो देखिँदैन। आफ्नो माटोको लागि लड्ने भावनाबाट अभिप्रेरित भएर उनीहरू संघर्षमा बलिदानीभावका साथ होमिएकोमा कुनै सन्देह छैन। तर, कुनै राजनीतिक चेतना र वैचारिक जगबिना नै उनीहरू त्यो आन्दोलनमा होमिएको देखाइएको छ। साहसिक काम नै उनीहरूको विशेषता भनी चित्रण गरिएको छ। उनीहरूलाई जुन तहको जिम्मेवारी दिइएको छ, त्यसको सापेक्षमा हेर्दा उनीहरूको राजनीतिक स्तर ज्यादै कम भएको महसुस पाठकले गर्न सक्छन्।

प्रतिशोध, प्रतिरोध र साहसिक काम नै उनीहरूको विशेषता बनाइएको छ। उपन्यास वियोगान्तमा टुंग्याइएको छ। त्यसकारण लेखक स्वयंले पनि उनीहरूको वैचारिक स्तर र शैलीप्रति असहमति व्यक्त गरेको देखिन्छ।

उपन्यासकार छुदेन काविमोको लेखन शैली सरल र रसिलो छ। पाठकलाई उपन्यासको कथाभित्रै डुबाउने क्षमता छ– उनको भाषामा। उपन्यासको बुनोट रोचक छ। रिपदेन नोर्देनको छोरो भएको रहस्य पाठकले उपन्यासको अन्तिममात्र बुझ्ने तरिकाले प्रस्तुत गरिएको छ। सशस्त्र संघर्षमा होमिएका युवाहरूको प्रेममय भावले उपन्यासलाई अझ रसिलो बनाइएको छ।

नेपाली साहित्य अझ समृद्ध र विस्तार हुँदै छ भन्ने दसीको रूपमा लायक उपन्यास हो ‘फातसुङ’ उपन्यास। दार्जिलिङको नेपाली जनजीवनबारे अझ पनि धेरै कथाले नेपाली साहित्यलाई समृद्ध बनाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .