ad ad

म्यागेजिन


यी ‘सामसङ म्यान’ जसले हाम्रो हात-हातमा मोबाइल पुर्‍याए

यी ‘सामसङ म्यान’ जसले हाम्रो हात-हातमा मोबाइल पुर्‍याए

सन्तोष न्यौपाने
फागुन २४, २०७६ शनिबार १२:१९,

मुख्यसचिव लोकदर्शन रेग्मीको फोन आयो।

‘सिंहदरबारमा आइदिनुपर्‍यो, एउटा जरुरी बैठकका लागि,’ दीपक मल्होत्रालाई रेग्मीले भने।

मुख्यसचिवको निम्ता अस्वीकार गर्ने कुरै थिएन। 

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि छिर्न सक्ने चिन्तामाझ मुख्यसचिवले निजी क्षेत्रसँग बैठक डाकेका रहेछन्।

मंगलबार साँझको चार बज्दै गर्दा व्यवसायी मल्होत्रा सिंहदरबारतिर लागे।

अचानक तय भएको बैठकले मल्होत्रासँग लिइएका ‘अप्वाइन्मेन्ट’ प्रभावित भए। हामी ज्ञानेश्वर हाइटस्थित आईएमएसको कार्यालयमा थियौँ।

नेपालको व्यवसाय क्षेत्रमा परिचित नाम हो आईएमएस अर्थात इन्टिग्रेटेड मोबिलिटी सोलुसन।

कार्यालयमा चहलपहल थियो। केही विदेशीहरु व्यवसायका कुरा गर्दै थिए। उनलाई भेट्ने समय लिएकाहरु आउने जाने क्रम चलिरह्यो।

उनका सहयोगी समयतालिका मिलाउन लागिरहेका थिए। यो दौडधुपले मल्होत्राको व्यस्त दैनिकीको झल्को दिन्थ्यो।

व्यस्त नहुन् पनि किन। उनी २० कम्पनीका मालिक हुन्। ५ सयभन्दा धेरैलाई रोजगारी दिइरहेका छन्। नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष तथा मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए) का अध्यक्ष मल्होत्राका यी कम्पनीले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका छन्।

उनका कम्पनीहरुलाई ‘आईएमएस ग्रुप’ भनेर चिनिन्छ। पहिला यस कम्पनीको नाम ‘इन्टरनेसनल मार्केटिङ सर्भिस’ थियो।

पछि नाममा अलि चित्त बुझेन। मल्होत्राले केही परिवर्तन गर्दै ‘इन्टिग्रेटेड मोबिलिटी सोलुसन’ राखे। जुन कम्पनीले अहिले सामसङ मोबाइल फोनमात्रै आयात गर्छ।

उनी नेपालको सामसङ मोबाइलका आधिकारिक बिक्रेता हुन्।

‘फोन आएको आयै गर्छ,’ सिंहदरबारको झण्डै दुई घण्टा लामो बैठकपछि हामीसँगको वार्तालाप सुरु गर्दै उनले भने।

हातमा बोकेका दुवै मोबाइल उनले टेबलमा राखे। एउटा सामसङ गोल्ड र अर्को थियो सामसङ एस ट्वान्टी प्लस।

मल्होत्राका १९ कम्पनीको बारेमा कुनैबेला चर्चा गरौँला। आज भने हामी उनको मोबाइल व्यवसायको कुरा गर्नेछौँ। अर्थात सामसङ मात्र आयात गर्ने इन्टिग्रेटेड मोबिलिटी सोलुसनको।

मल्होत्रा मुलुकमा मोबाइल फोन सेटको व्यवसाय सुरु गर्ने ‘पायनियर’ भनेर चिनिन्छन्। ताइवानको सिनाउ कर्डलेस, विभिन्न ब्रान्डका बार फोनदेखि पछिल्ला स्मार्टफोन सेट नेपालमा भित्र्याएको जस उनलाई जान्छ।

DeepakMalhotra3

वर्षौँ लगाएर बुबाको होटललाई टेलिफोन
काठमाडौं, सुन्धारानजिकै गणवालमा मानसरोबर होटल थियो। त्यो होटलका सञ्चालक थिए, मल्होत्राका बुबा देवराज।

उनी बुबालाई सघाइरहेका थिए।

त्यसबेला होटलमा टेलिफोन थिएन। देवराज भन्थे– टेलिफोन भए ‘कम्युनिकेसन’ मा कति सजिलो हुन्थ्यो होला।

त्यो बेला नेपाल दूरसञ्चारले टेलिफोन लाइन दिन सुरु गरिसकेको थियो।

टेलिफोन लाइन पाउने भाग्यमानी ठानिन्थे। टेलिफोनमा कुरा गर्न पाउने भाग्यमानी राजपरिवारका सदस्य थिए। त्यसपछि केही सरकारी निकायमा टेलिफोन थियो।

सर्वसाधारणले त देख्न समेत पाएका थिएनन्।

देवराजले पनि २०२६ सालमा दूरसञ्चार कम्पनीमा एउटा निवेदन पेस गरे, ‘एक लाइन टेलिफोन पाऊँ’ भनेर।

देवराजले निकै पर्खिए। ६ महिना, १ वर्ष भयो। केही जानकारी भएन।

उनले झन्डै बिर्सिसकेका थिए। एकै पटक ८ वर्षपछि २०३४ सालमा दूरसञ्चारले सूचना निकाल्यो। जसमा २०२६ सालमा टेलिफोन लाइनको लागि निवेदन दिनेमध्ये ५० जनाले टेलिफोन लाइन पाएको जानकारी थियो। मल्होत्राको नाम पनि त्यसमा थियो।

मल्होत्रा परिवारलाई निकै ठूलो उपलब्धी हालिस गरेजस्तो भयो।

‘ओहो हाम्रो घरमा फोन आउने भयो भनेर रमायौं,’ त्यो क्षण सम्झँदै मल्होत्रा भन्छन्, ‘हामी निकै खुसी भएका थियौं।’

फोनको लाइन पाएपछि त्यसलाई सञ्चालन गर्न उनीहरुले फोनसेट किने। कसरी जोड्ने भनेर दूरसञ्चारमा सम्पर्क गरे।

तर, अर्को समस्या आइलाग्यो।

‘फोन सञ्चालन हुन टेलिफोन तार जोड्ने प्वाइन्ट चाहिन्छ,’ दूरसञ्चारले भन्यो, ‘तपाईंको घर नजिक त्यस्तो प्वाइन्ट छैन।’

लाइन पाइसकेका थिए। बल्लबल्ल पाएको फोन छोड्न पनि भएन। उनीहरुले फेरि तार तान्ने प्वाइन्टको लागि निवेदन हाले।

त्यो प्वाइन्ट पाउन पनि पक्कै केही वर्ष लाग्ने उनीहरुलाई थाहा भइसकेको थियो।

तर, टेलफोन लाइन भने सदुपयोग भयो। मल्होत्राको मामाघरमा एक प्वाइन्ट रहेछ। आफ्नो घरमा प्वाइन्ट नपाउँदासम्मको लागि मामा घरमा त्यो टेलिफोन प्रयोग गरे।

प्वाइन्ट पाउन झन्डै दुई वर्ष लाग्यो। मामा घरमा प्रयोग भएको फोनलाई आफ्नै घर गणवहालमा सारे।

DeepakMalhotra4

आफ्नै व्यवसायको सुरुवात
बुबाले होटल सञ्चालन गरिरहँदा मल्होत्रा अध्ययनमा थिए। बुबाका एक्ला छोरा मल्होत्रालाई लागिरहेको थियो, ‘म आफैँ केही गर्नुपर्छ।’

घरनजिकै रहेकोे नेपाल आदर्श माध्यमिक विद्यालयमा पढेका मल्होत्राले पब्लिक युथ क्याम्पसबाट प्रवीणता प्रमाण पत्र तह (२०३४–२०३६) पास गरे।

शंकरदेव क्याम्पसमा स्नातक तह (२०३६–२०३८) पूरा गरेसँगै उनले व्यवसाय सुरु गरे। पारिवारिक विरासतका कारण उनलाई त्यसमा कुनै मुस्किल भएन। सन् १९७९ देखि बैंकक, सिंगापुरबाट टेलिभिजन, मोटर्स पार्टस आयात गर्न थाले।

‘यी नै सामानबाट मैले व्यवसाय सुरु गरेको थिएँ,’ मल्होत्राले सुरुका दिन सम्झिए, ‘व्यवसाय गर्न पनि निकै गाह्रो थियो।’

मुलुकमा सामान आयात गर्न सहज थिएन। सरकारले सामान आयात गर्न लाइसेन्स प्रथा लागू गरेको थियो। लाइसेन्समा सामानको परिमाण पनि तोकिन्थ्यो। थुप्रै कम्पनीको लाइसेन्स किन्नुपथ्र्यो।

विदेशबाट आउनेको पासपोर्ट प्रयोग गरेर पनि सामान आयात गर्न सकिन्थ्यो। उनीहरुले केही सामान ल्याइदिन सक्थे। त्यसैले, पासपोर्ट पनि बिक्री हुने अवस्था थियो।

‘तिनै पासपोर्ट र अन्य कम्पनीको लाइसेन्स किनेर पनि सामान आयात गर्नुपर्थ्याे मल्होत्रा भन्छन्।

सन् १९९३ मा उनले आईएमएस (इन्टरनेसनल मार्केटिङ सर्भिस) कम्पनी स्थापना गरे।

DeepakMalhotra2

मोबाइल आयात व्यवसाय
मुलुकमा विद्यार्थी आन्दोलन सकिँदै गर्दा २०३७ सालमा मल्होत्रा हङकङ गए।

त्यो बेला हङकङमा सञ्चार माध्यमको विकास भइरहेको थियो।

कर्डलेस फोन आइसकेका थिए। ती फोन पनि ‘हाइ रेन्ज’ लाई भ्याउने खालका थिए।

हङकङका सहरमा कर्डलेस फोनमा कुरा गर्दै हिँड्थे मान्छेहरु।

‘ओहो यो त हाम्रोमा पनि काम लाग्छ,’ त्यसरी कुरा गर्दै हिँडेको देखेपछि उनलाई लाग्यो।

साथीहरुसँगको त्यही यात्रा उनको लागि व्यवसायको ‘टर्निङ प्वाइन्ट’ भयो। हङकङ घुमेर आएपछि ‘व्यापार गर्न सक्छु’ भन्ने लाग्यो उनलाई।

नेपालमा सञ्चार माध्यमको निकै दुःख थियो। ट्रंकल फोन गर्न बुक गर्नुपथ्र्यो। एक दुई घण्टा कुर्नुपर्थ्याे।

ठुल्ठूलो स्वरले कुरा गर्नुपर्ने।

मल्होत्राले नेपालमा पनि कर्डलेस फोन ल्याए। आफ्नो व्यक्तिगत प्रयोगको लागि। यो फोन चलाउन भने साह्रै गाह्रो थियो। त्यसको बेस नै निकै ठूलो थियो। घरमाथि एन्टेना राख्नुपर्थ्याे।

तर, त्यो फोन उनले चलाउन सकेनन्।

सन् १९९६ तिर ताइवानको सेनाउ भन्ने कम्पनीले कर्डलेस फोन बनायो। उसले सुधारिएको प्रविधिसहित ठूलो क्षेत्र ओगट्ने कर्डलेस बनाएको थियो।

‘त्यो साँच्चिकै राम्रो थियो,’ मल्होत्रा भन्छन्, ‘सेनाउ भन्ने फोन नेपालमा पनि आयो। केहीले यसको प्रयोग पनि गरे।’

बोकेर हिँड्न मिल्ने खालको फोन थियो तर घरको छतमा एन्टेना भने राख्नु पथ्र्यो। त्यति गरेपछि फोनले २५ किलोमिटर वरपरको क्षेत्रसम्म कभर गथ्र्यो।

सुरक्षाका हिसाबले यो निकै कमजोर थियो। यसमा गरिएका कुरा एफएम रेडियोमा सुन्न सकिन्थ्यो। कतिले त्यही फोनका कुरा सुन्न पनि एफएम रेडियो व्यान्डविथ बटारिरहन्थे।

तर, सञ्चारको सुविधै नभएको बेला त्यही फोन चलाउन पाउनु पनि निकै ठूलो उपलब्धि थियो। आपतकालीन अवस्थामा भगवान सरह हुन्थ्यो।

संसारमा मोबाइल फोनको विकास हुँदैथियो। विभिन्न खालका कर्डलेस प्रयोग भइरहेको अवस्थामा पहिलो पटक सेलुलर मोबाइल फोनको आविष्कार भयो।

संसारभर यसको चर्चा भयो। नेपालमा पनि ल्याउन पाए हुन्थ्यो भन्ने सबैलाई लागेको थियो।

‘सन् १९९५ मा भारतमा भित्रिएको त्यो टेक्नोलोजी मैले नेपाल ल्याएँ,’ मल्होत्रा भन्छन्।

सेलुलर मोबाइल फोन उत्पादन गर्ने कम्पनीहरु धमाधम आए। विभिन्न ब्रान्डमा मोबाइल उत्पादन हुन थाले। विश्वमा टेलिकम क्षेत्रमा ठूलो विकास भइरहेको थियो।

मल्होत्राले पानासोनिक, मोटोरोला, अलकाटेल, एरिक्सन जस्ता ब्रान्डका मोबाइल सेट आयात गर्थे। हङकङ, सिंगापुर, दुबई लगायतका देशबाट मोबाइल ल्याउँथे।

त्यसै वर्ष मल्होत्रालाई कम्पनीको नाम केही परिवर्तन गर्न मन लाग्यो। आईएमएसको पुरानो रुपलाई परिवर्तन गर्दै इन्टेग्रेटेड मोबिलिटी सोलुसन नाम दिए।

पछि नोकिया मोबाइल पनि आयो। त्यो पनि नेपालमा ल्याएर बेच्न थाले।

नोकिया आक्रामक रुपमा बजार प्रवेश गर्यो। नोकियाको हस्तक्षेप यस्तो थियो, जसले अन्य कम्पनीलाई नै सुकाइदियो। सन् २०११ सम्म नोकिया एक नम्बरमै रहिरह्यो। नेपालमा पनि सबैभन्दा राम्रो फोनको रुपमा बिक्री भइरह्यो।

‘नेपालमा मोबाइल फोन सञ्चालन नहुँदा पनि यहाँ आयात भएको थियो,’ मल्होत्रा भन्छन्, ‘त्यो मोबाइल भारतीय पर्यटकलाई बिक्री गरिन्थ्यो।’

त्यो बेलासम्म भारतमा हरेक सामानको भन्सार कर धेरै थियो। नेपालमा भने सस्तो। भारतका पर्यटकहरु धेरै नेपाल पनि आउँथे। यहाँ सामान किन्थे र जान्थे।

भारतमा भन्सार धेरै भएकाले महंगो हुँदा नेपालबाट भारतमा मोबाइल फोन जान्थ्यो। ती भारतीय पर्यटकले नेपालमा मोबाइल फोन किनेर जान्थे।

मोबाइल फोन मात्र होइन, अन्य सबै सामान पनि त्यसैगरी चलिरहेको थियो। पछि त्यहाँ भन्सार घटेपछि भारत जान छोड्यो।

नेपाल दूरसञ्चार कम्पनीले सन् १९९८ ९२०५५ साल० मा पहिलो पटक मोबाइल सेवा सुरु गर्यो। भारतमा त्यसको दुई वर्ष पहिले नै सुरु भइसकेको थियो।

त्यो बेलासम्म विश्वमा बार फोन नै प्रयोग भइरहेको थियो।

त्यो बेला फोन सेट ल्याएर बेच्न पनि निकै गाह्रो थियो।

‘टेलिफोनको लाइन र त्यसपछि प्वाइन्ट लिन गाह्रो भए जस्तै मुस्किल थियो मोबाइल बेच्न,’ मल्होत्रा भन्छन्, ‘दूरसञ्चारले कतिखेर सिम बाँड््ला भनेर कुर्नु पथ्र्यो।’

नेपाल दूरसञ्चारले बेलाबेलामा मात्र सिम बेच्थ्यो। त्यो पनि पाइँदैनथ्यो। महिनौँ दिनसम्म पर्खनुपर्थ्याे।

सिम बाँड्ने बेलामा मात्र मोबाइल सेट बिक्री हुन्थ्यो। अरु बेला व्यापार ठप्प हुन्थ्यो।

मोबाइल शुल्क पनि महंगो थियो। कल गर्दा मात्र होइन, रिसिभ गरेको पनि शुल्क लाग्थ्यो। एक कल फोन गर्दा १६ रुपैयाँ र रिसिभ गरेको ८ रुपैयाँ थियो। पछि घटाएर ८ र ४ रुपैयाँ भयो। पछि इनकमिङ कल निशुल्क भयो।

DeepakMalhotra5

सामसङको आधिकारिक बिक्रेता
मल्होत्राले विभिन्न ब्रान्डका मोबाइल फोन आयात गरिरहेका थिए। विश्वमा मोबाइल फोन उत्पादन गर्ने कम्पनीहरु पनि थपिँदै गएका थिए।

अब कुनै एक कम्पनीको मुख्य एजेन्सी बन्दा राम्रो हुन्छ भन्ने मल्होत्रालाई लाग्यो।

‘सन् २००१ मा सामसङको आधिकारिक बिक्रेता बन्यौँ,’ उनी भन्छन्, ‘त्यसपछि सामसङमात्र आयात गर्न थाल्यौं।’

कोरियाको सामसङको आधिकारिक बिक्रेता बन्दा बजारमा नोकिया मोबाइलको वर्चस्व थियो। अरुलाई बजार लिन धेरै गाह्रो थियो।

‘जेसुकै भए पनि गर्ने’ आँट मल्होत्राले आँट गरे। ‘जति बिक्री भए पनि सामसङ नै बिक्री गर्ने भन्ने थियो,’ उनी भन्छन्।

सन् २०११ मा मोबाइल प्रविधिले ठूलो फट्को मार्यो। स्मार्ट मोबाइल सेट बजारमा आयो।

स्मार्टफोन सुरु भएपछि हरेक ब्रान्डले आ–आफ्नो प्लेटफर्म प्रयोग गरे। सामसङ एन्ड्रोइड प्लेटफर्ममा गयो। नोकिया माइक्रोसफ्टमा।

प्रयोगकर्ताले एन्ड्रोइडलाई अलि धेरै रुचाउन थाले।

‘एक्कासि गेम चेन्ज भयो,’ मल्होत्रा भन्छन्, ‘सामसङ नम्बर एकमा पुग्यो।’

DeepakMalhotra6

१३ वर्षदेखि आधिपत्य जमाएको नोकियाको ‘डाउनफल’ सुरु भयो। त्यसको सीधा फाइदा मल्होत्रालाई भयो। सामसङ अहिले संसारकै प्रमुख स्मार्टफोन निर्मातामध्ये एक हो।

पछिल्लो समय नेपाली बजारमा केही चिनियाँ स्मार्टफोन आक्रामक रुपमा आइरहेका छन्। पहिले पनि विभिन्न ब्रान्डका चिनियाँ फोन आउँथे। तर, यति चर्को टक्कर दिन सकेका थिएनन्।

बजारमा विभिन्न मोबाइल ब्रान्डको तीव्र प्रतिस्पर्धा भइरहेको छ। मुलुकमै पहिलो पटक उपभोक्ताको हातमा मोबाइल सेट थमाउने मल्होत्रा पनि त्यही प्रतिस्पर्धामा छन्।

स्मार्ट फोनको बजार विस्तार भइरहेको छ। अहिले पनि नेपालमा मोबाइल सेटको बजारमा ४५ प्रतिशत बजार हिस्सा सामसङले लिएको उनको दाबी छ।

उनका अनुसार केही वर्षअघिसम्म सामसङको हिस्सा ५२–५३ प्रतिशतमा थियो।

अहिले मोबाइल हरेक व्यक्तिको जीवनशैली बनेको छ। २०५८ सालमा पहिलोपटक सामसङ मोबाइल ल्याँउदा वर्षमा ४–५ हजार सेट पनि बिक्री हुँदैनथ्यो। अहिले महिनाकै लाखौं मोबाइल बिक्री हुन्छन्।

मोबाइल फोन अहिले व्यक्तिका लागि नभइ नहुने साधन बनेको छ। आवश्यकताका साथसाथै यो फेसन पनि हो।

एउटै सेटमा वाकमेन, क्यामरा, रेकर्डर, रेडियो, टर्चलाइट, घडी सबै हुनथाल्यो। मोबाइलले यी उपकरणलाई विस्थापित गरिसकेको छ।

अब त स्मार्टफोन यति आवश्यक भइसक्यो कि यो बिना अर्थतन्त्रको गाडी पनि रोकिने स्थिति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .