म्यागेजिन


छोराछोरीको भोक टार्न कपाल तिलाञ्जलि दिने महिला

छोराछोरीको भोक टार्न कपाल तिलाञ्जलि दिने महिला

नेपालखबर
माघ २०, २०७६ सोमबार १३:३२,

जुन दिन आफ्ना छोराछोरीको भोक टार्न कपाल बेचेकी थिइन् प्रेमा सालभमले त्यो दिन आफ्नो लागि जीवनकै नरमाइलो क्षण भएको उनी सम्झिन्छिन्।

तीन सन्तानकी आमा प्रेमाले १ सय ५० भारतीय रुपियाँमा कपाल बेचेकी थिइन्।

धेरै ऋण लागेपछि उनका श्रीमानले परिवारको सपना पूरा गर्न सकेनन् र आत्महत्याको बाटो रोजे। प्रेमाले भने हिम्मत हारिनन्।

कपाल बेचेको पैसाले एक दिनको भोक त टर्‍यो तर साहुको ऋण तिर्न सकिनन् प्रेमाले। भोलि के खाने त्यो प्रश्न पनि उनको मस्तिष्कमा फनफनी घुमिरहन्थ्यो।

तर, त्यसपछिका घटनाक्रमले भारतकै प्रेरणा बनिन् प्रेमा।

ऋणमा डुबेको जीवन
श्रीमानले आत्महत्या गर्नुअगाडि प्रेमा श्रीमानसँगै तामिलनाडुको इटाभट्टामा काम गर्थिन्। जसोतसो गुजारा चलिरहेको थियो।

इटाभट्टासम्बन्धी काम पुरै सिकेकाले उनका श्रीमानले आफैं एउटा इटाभट्टा खोल्ने निधो गरे। ऋण खोजे। तर, काम सोचेजस्तो हुन सकेन। व्यापार ठप्प भएपछि उनीहरुले ऋण तिर्न सकेनन्।

श्रीमानले आत्महत्या गरेपछि प्रेमा एक्लो भइन्। अब परिवारको सबै जिम्मेवारी उनकै काँधमा थुप्रियो।

प्रेमाले कमाएको पैसाले तीन छोराछोरीलाई बिहान बेलुका  छाक टार्नै नै हम्मेहम्मे पथ्र्यो। त्यसमाथि ऋण तिर्ने जिम्मेवारी। त्यसैले उनले आफ्ना साना दुई छोरीलाई सँगै काम गर्न लान्थिन्।

प्रेमाले बीबीसीसँग भनिन्, ‘एक दिन काम गर्दा मैले २ सय रुपियाँ कमाउँछु, यसले एक दिन परिवार मजाले चल्छ।’

यसको अर्थ यो पनि हो कि उनी बिरामी भइन् भने परिवार चल्न सक्दैन। ‘बिरामी हुँदा मैले भारी काम गर्न सक्दिनँ। कहिलेकाँही हनहनी ज्वरो आएर धेरै दिन घरमै बस्नुपरेको छ।’

एकपटक प्रेमा तीन महिना बिरामी परिन्। खानेकुरा सबै सकियो। ‘मेरो ७ वर्षको छोरा कलियाप्पन विद्यालयबाट फर्कियो,’ उनी सम्झिन्छिन्, ‘खाना खान नपाएपछि छोरा भोकले रुन थाल्यो।’

प्रेमासँग गहना थिएनन्, सम्पत्ति थिएन जसलाई उनी बेच्न सकुन्।

‘कुनै समय मसँग १० रुपियाँ पनि थिएन। प्लास्टिकका भाडा मात्र घरमा थिए,’ उनी भन्छिन्।

त्यसैबखत् उनले कपाल बेच्ने निधो गरेकी थिइन्। ‘कपाल किन्ने पसलबारे मैले सुनेकी थिएँ,’ उनी भन्छिन्, ‘मैले त्यहाँ गएर मेरो शीरमा भएको सबै कपाल १५० रुपियाँमा बेचिदिएँ।’

१ सय ५० रुपियाँ सुन्दा थोरै सुनिन्छ। शहरको रेस्टुरेन्टमा यसको केही पनि आउँदैन। तर, प्रेमाले गाउँमा यो पैसाले धेरै थोक किन्न सकिन्।

‘मैले प्रतिप्याकेट २० रुपियाँ पर्ने तीन प्याकेट पाकेको भात छोराछोरीको लागि किनिदिएँ’ प्रेमा भन्छिन्।

कपाल बेचेको पैसाले केही दिनमात्र खान पुग्यो। उनी विकल्पविहीन भइन्। त्यसपछि उनले कठोर निर्णयहरु लिन सुरु गरिन्।

Bala prema3बाला मुरुगानका साथमा प्रेमा। तस्बिर स्राेत : बीबीसी

आत्महत्याको निर्णय
विकल्पविहीन हुन पुगेकी प्रेमाले आत्महत्या गर्ने निर्णय समेत गरेकी थिइन्। एकपटक पसलमा उनी धारिलो हतियार किन्न गएकी थिइन्।

तर, पसलेले प्रेमाले आत्महत्या गर्ने प्रयास गरेको हुनुपर्छ भन्ने थाहा पाएपछि केही बेचेनन्। अर्कोपटक उनले फेरि आत्महत्या गर्ने प्रयास गर्दा उनकी बहिनीले त्यसो गर्न दिएनन्।

त्यसको केही दिनपछि बाला मुरुगानले प्रेमाको अवस्थाबारे थाहा पाए। बाला मुरुगान इटाभट्टाको मालिक थिए।

बाला मुरुगान पनि गरिब परिवारबाट संघर्ष गरेर त्यो स्थानमा पुगेका थिए। बालाले आफ्नो साथीबाट प्रेमा यो अवस्थामा आउनुको कारण थाहा पाए।

प्रेमाको अवस्था बालाले सहजै महसुस गरे किनभने बाला पनि गरिबी र भोकमरीबाट गुज्रिएका थिए।

कुनै समय जब बाला १० वर्षका थिए। उनीहरु पनि ऋणमा डुबेका थिए। खाना जुटाउन उनकी आमाले किताब बेचेकी थिइन्।

बालाकी आमाले छोराछोरीलाई मार्ने र आफैं आत्महत्या गर्ने सोच पनि बनाएकी थिइन्। तर ठूलो संघर्षपछि बाला यतिबेला आर्थिक रुपमा सक्षम बनेका छन्। परिवार भोकै बस्नु परेको छैन।

हाल बाला इँटाभट्टाका साथसाथै एउटा कम्प्युटर ग्राफिक्स सेन्टरका मालिक हुन्।

बालाले प्रेमाको मुहारमा आफ्नी आमाको झल्को पाए। त्यसपछि उनलाई सहयोग गर्ने चाहना झनै बढ्यो। बालाले प्रेमालाई केही पैसा दिए र आफ्नो कथा सुनाएर जीवनमा कहिल्यै हार नमान्न सुझाब दिए।

बालाले आफ्नो साथी प्रभुको सहयोगमा सामाजिक सञ्जालमा प्रेमाको कथा भने। सहयोग गर्न अपिल गरे।

प्रेमाको कथा सुनेपछि उनको नाममा एकै दिनमा भारतभरबाट १ लाख २० हजार रुपियाँ जम्मा भयो।

सहयोगबाट प्रेमाको जीवनमा ठूलो आशा जाग्यो। उनले १ लाख २० हजारपछि आफूलाई सहयोग नगर्न आग्रह गरिन्।

बालाले सहयोगी हात सबैलाई धन्यवाद भन्दै बाँकी पैसा मिहिनेत गरेर कमाउने अनि ऋण तिर्ने संकल्प गरिन्।

यतिबेला प्रेमाले महिनामा सबैको गरेर मात्र ७ सय रुपियाँ ऋण तिर्नुपर्छ। जिल्ला प्रशासनले प्रेमाको दु:खको बारेमा थाहा पाएपछि दुध बेच्ने एउटा डिलर खोलिदिने वाचा गरेको छ।

प्रेमा अन्धकारबाट उज्यालोतर्फ बढ्दै छिन्। विस्तारै उनी आफ्नो खुट्टामा उभिँदै छिन्।

तर, दु:खको कुरा भारतमा लाखौं प्रेमाजस्ता पात्र छन्। जो गरिबी र भोकमरीमा डुबेका छन्।

विश्व बैंकको तथ्यांक अनुसार भारत विश्वमा गरिबीमा बाँचिरहेका मानिसहरुको सूचीको दोस्रो स्थानमा छ।

प्रेमा अझै पनि पढ्न र लेख्न जान्दिनन्। उनीजस्ता अनगिन्ती मानिसहरु भारतमा छन् जसले सरकारले ल्याएको गरिबी न्युनीकरणको नीति चालै पाउँदैनन्।

प्रेमाका अनुसार बालाजस्ता हजारौं मानिस विश्वमा हुन जरुरी छ जसले असहायलाई सहारा दिन सकुन्।

‘मैले अहिले आएर थाहा पाएँ, आत्महत्याकाे निर्णय सही रहेनछ,’ उनी खुशी हुँदै भन्छिन्, ‘अब बाँकी ऋण तिर्न ममा आत्मविश्वास जागेको छ। छोरा छोरीको लागि मिहिनेत गर्न तयार छु।’
–बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad