ad ad

म्यागेजिन


जसले गोठमा सुरु भएको द्वारिकाजलाई विख्यात हेरिटेज होटल बनाइन् (भिडिओ)

नौ दशक पार गरेकी अम्बिका भन्छिन्– मेहनत गर्न उमेरले छेक्दैन
जसले गोठमा सुरु भएको द्वारिकाजलाई विख्यात हेरिटेज होटल बनाइन् (भिडिओ)

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठ। फोटो/भिडिओ : विशाल कार्की/सरोज नेपाल


सम्झना घिमिरे
भदौ १७, २०८० आइतबार ६:३५, काठमाडौँ

अरु दिनभन्दा आज खुट्टाले अलि बढी नै दुःख दिइरहेको छ, अम्बिका श्रेष्ठलाई। घुँडामा समस्या छ। सहज हिँडडुल गर्न सक्दिनन्। बसिरहँदा पनि उनी घरी गोडा सिधा पार्थिन्, घरी असिनपसिन हुँदै खुम्च्याउँथिन्।

९१ वर्ष पुगिसकेकी अम्बिका क्षणक्षणमा आफ्नै शरीरसँग संघर्ष गरिरहेकी छन्। तर, यो उमेरमा पनि उनी अत्यन्त सक्रिय छिन्। व्यवसायका अलावा महिला सशक्तीकरणका क्षेत्रमा पनि काम गरिरहेकी छन्।

आफूले सक्ने काम सधैँ गरिरहनुपर्छ भन्ने सोच राख्छिन् उनी। त्यसैले नै यो उमेरमा पनि उनी आफैँले जीवनका ५६ वर्ष खर्चिएर ठड्याएको व्यवसाय द्वारिकाज होटलको नेतृत्व गरिरहेकी छन्। अहिले त उनको शरीर जतिजति कमजोर हुँदै गएको छ, द्वारिकाजको ब्रान्ड त्यति नै बलियो हुँदै गएको छ।

अम्बिका हामीसँग गफिन छोरी संगीताको साथमा आइपुगिन्, वाकरको सहारामा। सेतो कुर्ता र कालो सल लगाएकी उनको अनुहार तेजिलो देखिन्थ्यो। काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज होटलको बीच भागमा रहेको उनको पुरानो घरअगाडि हामी उनको कुरा सुन्न बस्यौँ।

भित्र रेस्टुरेन्ट र बार बाहिरबाटै देखिन्छ। उनका पति द्वारिकादास श्रेष्ठले स्नेहपूर्वक सजाएका झ्याल र ढोकाहरु अझै उस्तै छन्। जसले उनलाई पतिको याद दिलाइरहन्छन्।

‘यो घर यति राम्रो थिएन पहिले,’ अम्बिका स्मृतिका पानाहरु हामीमाझ पल्टाउन थाल्छिन्, ‘परिवारबाट छुट्टिएर हामी सुरुका दुई वर्ष भाडाको घरमा बस्यौँ। त्यसपछि ऋण काढेर यो घर बनाइयो।’

सिक्किमबाट विवाह गरेर काठमाडौँ भित्रिएपछि
सिक्किमबाट द्वारिकासँग सन् १९५५ मा विवाह गरेर काठमाडौँ भित्रिएपछि उनका दिनहरु माइतीका जस्तै रहेनन्।

‘आमाले विदाइको हात हल्लाउँदै गर्दा माइतीको नाम नबिगारेस् भन्नुभएको थियो,’ सौम्य मुद्रामा उनी पुराना दिन सम्झिन थाल्छिन्, ‘म नाम नबिर्गान बुहार्तन खेप्न थालेँ।’ 

उनले अंग्रेजी पढेकी थिइन्। कपाल छोट्याएकी थिइन्। आधुनिक कपडा लगाउँथिन्। एउटी महिलाले घरको चौघेराभित्र कैद हुनु हुँदैन भन्ने उनको सोच र स्वभाव थियो। द्वारिकाको परिवारलाई यो सब राम्रो लाग्दैनथ्यो। उनीहरुको नजरमा अम्बिका ‘घर बिगार्ने बुहारी’ थिइन्। आफन्तहरु नै उनलाई ‘किरा’ भन्थे। उनको अंग्रेजी लवज सुनेर उनलाई विदेशी भन्थे। 

‘मलाई नेवारी भाषा आउँदैन थियो। सासूससुराले बोलेको नबुझेर ट्वाँ परिरहन्थेँ,’ उनी सम्झिन्छिन्। 

बुहारी चुलोचौकामै रमाउनुपर्छ भन्ने परिवारको सोचविपरीत द्वारिका श्रीमतीलाई अगाडि बढाउन चाहन्थे। पत्नीलाई परिवारले गरेको व्यवहार देखेर द्वारिकाको पनि चित्त बुझेको थिएन। 

त्यसैले उनले परिवारसँग छुट्टिने प्रस्ताव राखे।

भिडिओ : 

उनलाई पनि जाउँजाउँ त लाग्थ्यो तर परिवारकी जेठी बुहारी थिइन् उनी। सिक्किमबाट विदा हुँदै गर्दा आमाले निन्याउरो अनुहार लाएर भनेका कुराहरु सम्झिन्थिन्।

‘उहाँले पहिलोपटक घर छोडेर जाउँ भन्दा मानिनँ,’ अम्बिका सुनाउँछिन्, ‘मलाई डर थियो परिवार भाँडेको आरोप लाग्छ भन्ने।’ 

नाम बिग्रिन्छ भन्ने डरले अम्बिका सबै हेलाहोचो चुपचाप सहन्थिन्। द्वारिका उनको अवस्था देखेर खिन्न हुन्थे। 

एकदिन द्वारिकाले एक्लै भए पनि घरबाट निस्कने हिम्मत गरे। 

‘म जान्छु, तिमी बस्ने भए बस भनेपछि म पनि उहाँकै पछि लागेँ,’ उनी सुनाउँछिन्। 

इन्द्रचोकको मखनटोलमा रहेको घर छाड्दा द्वारिका–अम्बिका दम्पतीको साथमा एक वर्षकी छोरी र एक छोरा थिए। 

द्वारिकाजको जग
द्वारिका क्याम्पस पढ्दादेखि नै बडिबिल्डरका रुपमा परिचित थिए। तथापि उनको रुचि सम्पदा संरक्षणमा ज्यादा थियो। खासगरी उनी नेपाली काष्ठकलासँग मोहित थिए। पुराना मक्किइसकेका घरका थाम, झ्यालढोकामा कुँदिएका चित्रहरु घण्टौँ हेरेर घोत्लिरहन्थे उनी।

द्वारिकाले सन् १९५० को दशकतिर खिचापोखरीमा व्यायाम मन्दिर खोलेका थिए। जुन अहिले पनि जमलको ज्याठामा सञ्चालनमै छ।

सन् १९५२ साल तिरको कुरा हो, एक बिहान द्वारिका टुँडिखेलमा युवाहरुलाई जिम सिकाएर फर्किंदै थिए। जाडोको महिनामा हनुमानढोकाअगाडिको डबलीमा दुई जनाले विभिन्न चित्र कुँदिएका काठका थाम जलाएर आगो तापिरहेको देखे।

‘उहाँले म नयाँ दिन्छु, यो पुरानो काठ मलाई देऊ भन्दा समेत पत्याएनछन्। उहाँले नयाँ काठ दिएर ती पुराना बुट्टा कुँदिएका काठहरु लिएर आउनुभयो। यही कारणले उहाँलाई पछिसम्म पनि पागल भन्ने गर्थे रे,’ अम्बिका सुनाउँछिन्।

द्वारिकालाई त्यो दृश्यले धेरैदिनसम्म पोलिरह्यो।

‘उहाँ संस्कृति र कलालाई आमा मान्नुहुन्थ्यो, संस्कृति संरक्षण नभए हामी अनाथ हुन्छौँ भन्ने मान्यता थियो,’ अम्बिका सम्झिन्छिन्।

त्यसपछि झन् द्वारिका फालिएका बुट्टेदार काठ, झ्यालहरुको खोजी गर्न थाले। 

छुट्टिएपछि हाल द्वारिका होटल रहेकै स्थानमा द्वारिका र अम्बिकाले ९ रोपनी जग्गा किने। अम्बिकाका अनुसार त्यो स्थानमा राणाहरुको भग्न घर र ग्यारेज थियो। उनीहरुले सोही स्थानमा नयाँ घर बनाए।

द्वारिकाले आफ्नो चारकोठे घरलाई पनि परम्परागत शैलीमै बनाए। घरका झ्याल, ढोकाहरु थोत्रा थिए। त्यसैलाई उनले पुनर्निर्माण गरेर चिटिक्क पारे। 

आज पनि यो घर उनीहरुको आधार बनेर उसैगरी उभिएको छ। यो त्यही घर थियो, जहाँ अम्बिका र द्वारिकाले व्यवसायको सपना देखेका थिए। सपनालाई यथार्थमा बदल्न दिनरात खर्चिएका थिए। पाइलामा पाइला मिसाउँदै साथै चल्ने बाचा गरेका श्रीमानको साथ छुटेको पनि यही घरमा थियो। त्यसैले होला, आफ्ना पुराना दिनहरु सम्झन उनी सकिनसकी भए पनि यही घरअगाडि आइपुग्ने गर्छिन्।

आज यसको वरिपरि आठ वटा ठूला भवनहरु बनिसकेका छन्। सानो होटलबाट विश्वको एउटा प्रमुख हेरिटेज रिसोर्ट बनिसकेको छ द्वारिकाज।

‘समय कति छिटो सकिँदो रहेछ पत्तै नहुने। रित्तो हात लिएर यो घर बनाएका थियौँ,’ अम्बिका अतीतमा हराउँदै छेवैमा रहेको काठको सानो सन्दुक नियाल्छिन्। यस्तो लाग्छ उनी सन्दुकमा श्रीमान द्वारिकाको याद खोजिरहेकी छिन्।

‘उहाँ त कुहिएको काठ पनि बोकेर ल्याउने, त्यसरी ल्याउँदै जाँदा यो पुरै जमिन डम्पिङ साइट जस्तै भइसकेको थियो,’ धेरैबेरपछि उनले मौनता तोडिन्। न्यास्रिएको उनको अनुहारमा थोरै चमक देखियो।

कलात्मक काठ संकलन गर्न उनी कहिले बन्दै गरेका घरहरु चाहर्थे त कहिले फोहोरका डंगुरमा चिहाँउथे। यो क्रम द्वारिकाले मृत्युपर्यन्त जारी राखेको अम्बिका सम्झिन्छिन्। 

त्यसरी जम्मा भएको काठलाई के गर्ने भन्ने अम्बिकालाई थाहा थिएन। न त द्वारिकासँग नै स्पष्ट योजना थियो। तैपनि द्वारिकाले घरमै वर्कसप खोलेर दुई जना सिकर्मीबाट ती काठको सम्बर्द्धन गरिरहेका थिए।

अम्बिकाले सन् १९५९ मा काठमाडौँको कान्तिस्वरी स्कुलमा पढाउन थालिन्। पहिलो महिना नै अम्बिकाले ८० रुपैयाँ तलब पाइन्।

‘त्यतिबेला घरमा पुग्ने भाँडा पनि थिएन। मैले त्यो ८० रुपैयाँ भाँडाकुँडा र खानेकुरा किन्नमै खर्च गरेँ,’ अम्बिकाले सुनाइन्।

द्वारिका सरकारी जागिरे थिए। घरमा दुई साना छोरा र छोरी, द्वारिका जागिरको सिलसिलामा कहिले काठमाडौँ हुन्थे भने कहिले तराई पुग्थे। 

राजा महेन्द्रले २०१८ सालमा पञ्चायती शासन सुरु गरेपछि उनी बडाहाकिम नियुक्त भएका थिए।

आर्टमा स्नातक सकेकी थिइन् अम्बिकाले। अंग्रेजी फरर बोल्न सक्ने। त्यसैले स्कुल छाडेर उनले न्युरोडमा रहेको अमेरिकन लाइब्रेरीमा काम गर्न थालिन्। जहाँ मासिक तलब ६ सय रुपैयाँ थियो।

‘अंग्रेजी राम्रो बोल्थेँ। त्यही भएर मलाई फस्ट पब्लिक अफेयर अफिसरको रुपमा नियुक्त गरिएको थियो,’ उनले भनिन्।

द्वारिका बडाहाकिमबाट रिभर भ्याली प्रोजेक्टको इन्चार्ज हुँदै राष्ट्रिय वाणिज्य बैंकमा सरुवा भइसकेका थिए। उनलाई सुगरको बिरामीले पनि सताउन थालेको थियो। समस्या बढ्दै गएपछि अम्बिकाले जागिर छोडेर उनको स्याहार गर्न थालिन्। द्वारिकाले पनि केही समयपछि बैंकको जागिर छोडे।

‘उहाँ र म दुवै बेरोजगार भइसकेका थियौँ, आम्दानीको बाटो खोज्दै हामी बालाजुमा एउटा फर्निचर फ्याक्ट्रीको साझेदार भएर काम गर्न थाल्यौँ तर त्यो धेरै दिन चलाउन सकिएन,’ उनले भनिन्।

गोठमा द्वारिकाजको स्थापना
आयआर्जनको बाटो हराएपछि अम्बिकाले घरमै गाई पालेकी थिइन्। उनको गोठमा बसेर थेसिस लेख्ने प्रस्ताव लिएर अमेरिकन लाइब्रेरीका डाइरेक्टरकी श्रीमती एक दिन उनको घरमा आइपुगिन्। 

उनलाई शान्त वातावरण चाहिएको थियो। अम्बिकाको घरवरपर काठको थुप्रोबाहेक केही थिएन।

‘मलाई तिम्रो गोठमाथि कोठा बनाइदेऊ न भनेपछि श्रीमानले उनका लागि सानो कोठा बनाइदिनुभयो। तल गाईवस्तु, माथि उनी बस्नेगरी,’ उनले सुनाइन्।

खानेकुराको जिम्मेवारी अम्बिकाले लिइन्, ‘हामीले घरमा चिया नास्ता र खाना पुर्‍याइदिन्थ्यौँ।’ 

अम्बिकाको आतिथ्य र शान्त वातावरणबाट उनी मोहित थिइन्। एकदिन उनैले सुझाइन्– अरु कोठा थपेर भाडामा किन लगाउँदैनौ?

त्यतिबेला काठमाडौँमा गेस्टहाउसहरु कम थिए। विदेशीहरु आउँदा बस्ने पर्याप्त ठाउँ थिएन। द्वारिकाले सन् १९६९ बाटै काठमाडौँ ट्राभल एजेन्सी खोलेर सञ्चालन गरिरहेका थिए। त्यसैले पनि उनको एजेन्सीबाट आउने पर्यटकलाई होटल खोज्ने जिम्मा द्वारिकाकै थियो।

‘त्यतिबेला ७५ प्रतिशत जापानी पर्यटक हाम्रो एजेन्सीबाटै आउजाउ गर्थे,’ उनी सम्झिन्छिन्। 

उनीहरुले भारत र जापानमा कम्पनी विस्तार गरे। पर्यटकहरु नेपाल आउनका लागि उनीहरुसँगै ठोक्किन थाले। 

यता द्वारिका र अम्बिका बस्दै आएको घर लगभग कुहिएका र भाँचिएका काठहरुले छोपिइसकेको थियो। त्यसैले छेउछाउका मानिस आउन सहज मान्दैन थिए। 

द्वारिकाले सुझाव मानेर गोठलाई नै दुई वटा कोठाको घर बनाए। त्यसपछि ग्यारेजमाथि पनि छत हालेर तीन वटा कोठा थपे। पछि त्यही पाँच वटा कोठामा नेपालमा अध्यययन गर्न आउने विदेशीहरु बस्न थाले।  

‘हामी आफैँले आफ्नो भान्साबाटै पकाएर उनीहरुलाई खुवाउँथ्यौँ, गेस्ट हाउसजस्तै थियो,’ अम्बिकाले सुनाइन्।

यतिबेलासम्म द्वारिकाज होटल औपचारिक रुपमा सञ्चालनमा आइसकेको थिएन।

‘टर्निङ पोइन्ट’ बन्यो राजा वीरेन्द्रको राज्याभिषेक
राजा वीरेन्द्रको राज्याभिषेकले आफूहरुलाई स्थापित गराएको ठान्छिन् अम्बिका। सन् १९७२ मा वीरेन्द्रको राज्याभिषेकमा भाग लिन द्वारिकाकै एजेन्सीबाट विदेशी पाहुनाहरु ठूलो संख्यामा आउँदै थिए। 

‘त्यतिबेला भएका होटल र लजहरु सबै पाहुनाले भरिएकाले साना होटलहरु पनि धमाधम खुलिरहेका थिए,’ उनी भन्छिन्। 

अन्तिम समयमा थाइल्यान्डबाट राजाका पाहुना जहाज नै लिएर आउने भए। द्वारिकाकै जिम्मामा थिए उनीहरु पनि। श्रेष्ठ दम्पतीलाई आपत पर्‍यो– ती पाहुनालाई अब कहाँ राख्ने?

उनीहरुसँग अब आफ्नै घर मात्रै बाँकी थियो।

‘हामीले रातारात हाम्रो किचन, लिभिङ रुम र छोरीको कोठामा उनीहरुलाई बस्ने व्यवस्था मिलायौँ। छोरीलाई पनि माथिको तल्लामा रहेको हाम्रै कोठामा सारेर उनीहरुलाई राख्यौँ,’ उनले भनिन्।

राज्याभिषेक सकेपछि उनीहरु फर्किने बेलामा आतिथ्य गज्जबको भएको प्रतिक्रिया दिए। उनीहरुको प्रतिक्रियाले द्वारिकाको मन पुलकित हुँदै थियो। पुराना काठबाट उनी एउटा/एउटा गर्दै साना घरहरु निर्माण गरिरहेका थिए तर व्यावसायिक रुपमा भने अगाडि बढेका थिएनन्। सन् १९६४ बाटै भवन निर्माण गर्न थाले पनि उनीहरुले वीरेन्द्रको राज्याभिषेकपछि सन् १९७७ मा द्वारिकाज होटल दर्ता गरे। 

तर, पैसाको अभाव त्यहाँ पनि खट्कियो। 

अम्बिका भन्छिन्, ‘हामीले ठूलो लगानी जुटाएर यो होटल निर्माण गरेनौँ। अलिअलि गर्दै आफैँ बन्यो थोरै लगानीमा।’

आफू बसिरहेको घरलाई होटल बनाउन उनीहरु भाडाको घरमा सरे।

होटल व्यवस्थापनको जिम्मा स्विस नागरिक आनोमोरिस्पारलाई दिए भने द्वारिका र इन्जिनियर प्रेमप्रकाश श्रेष्ठले होटलको डिजाइन गरे। 

द्वारिकाको स्केचको सौखले यहाँ साथ दियो। उनले हालको द्वारिका होटलको सम्पूर्ण डिजाइन त्यतिबेलै गरेका थिए। 

आधुनिक घर र सोही अनुसारका साजसज्जाले नेपालीपन हराउँदै थियो। मानिसहरु आधुनिकतामा रमाइरहेका बेला द्वारिकाले परम्परागत शैलीका दुई वटा भवन निर्माण गरेका थिए। 

होटल विस्तार हुँदै गर्दा द्वारिका भने थलिँदै गए। मधुमेहसँगै अरु रोगसँग जुधिरहेका थिए उनी।

द्वारिकाज होटल अहिले जसरी पूर्ण रुपमा सञ्चालनमा आइनसक्दै सन् १९९२ को एक दिन द्वारिकाले शरीर छाडे।    

श्रीमानले छोडेर गएको आज २९ वर्ष पुगिसक्यो तर अम्बिकालाई श्रीमानको अन्तिम वाक्यले अझै विश्राम लिन दिएको छैन। 

‘उहाँको अन्तिम वाक्य नै मेरी आमालाई कसले हेर्छ भन्ने थियो,’ अम्बिका सम्झन्छिन्। 

उनकी आमा अर्थात् उनले संकलन गरेका पुरातात्विक वस्तुहरु।

बुबाको अन्तिम वाक्यको जवाफ छोरी संगीताले दिइन्, ‘म छु। म हेर्छु’ 

‘छोरीको उत्तरले म अवाक् भएँ, उहाँले मेरी छोरीकी आमा वा उहाँकी आमा दुवैलाई भन्नुभएको थिएन। उहाँले संकलन गरेका काठहरु, सांस्कृतिक सामग्री र संरचनालाई आमा भन्नुभएको थियो। छोरीले त्यो बुझिछन्। हत्तपत्त उनी म छु भनेर अघि सरिन्,’ अम्बिका भन्छिन्, ‘उहाँको अन्तिम वाक्य नै त्यही रह्यो। यसले पनि मलाई एउटा छुट्टै शक्ति दियो, उहाँको नामलाई ब्रान्ड बनाउन।’

श्रीमानको मृत्युपछि अम्बिकाको सहारा छोरी संगीता नै भइन्। जर्मन नागरिकसँग विवाह गरी दुई सन्तानकी आमा बनेकी उनी आधा समय नेपाल र आधा जर्मनी बस्न थालिन्। 

‘श्रीमान साथमा हुँदा त प्रश्न तेर्स्याउने समाज त्यसपछि मेरा लागि झन् अप्ठेरो बन्न थाल्यो। नातेदारहरु पनि उस्तै। म समाजसँग त लडी नै रहेकी थिएँ। अब छोरीको पनि साथ पाएपछि म झन् सशक्त रुपमा अगाडि बढ्न थालेँ,’ अम्बिका थप्छिन्, ‘छोरी पनि सानो छोरालाई छोडेर कहिले नेपाल त कहिले जर्मनी गर्न थालिन्। बुबाको व्यवसायमा उनी सक्रिय हुन थालिन्।’ 

आज अम्बिकाकी छोरी संगीता र नाति विजयले द्वारिका सम्हालिरहेका छन्। गोठबाट सुरु भएको हेरिटेज होटल द्वारिकाज ग्रुप अफ कम्पनी बनेको छ भने धुलिखेलमा पनि लक्जरिअस रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ। 

यो सफलताले ल्याएको परिवर्तनप्रति पुलकित हुँदै अम्बिका भन्छिन्, ‘पछि त सासूले मलाई नै सबैभन्दा धेरै माया गर्न थाल्नुभयो।’

जब अमेरिकी र जापानीले भने ‘सरी अम्बिका, वी कान्ट गिभ यु अ भोट’
गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित भइसकेकी छिन् अम्बिका। महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष हुन् भने नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष।

९१ बर्षको उमेरमा पनि हेरिटेज संरक्षण र महिला उत्थानमा उत्तिकै सक्रिय अम्बिका महिलामैत्री समाज निर्माण हुन अझै समय लाग्ने धारणा राख्छिन्। 

उनी आफैँले पनि परिवारबाट सुरु भएको विभेद सफल व्यवसायी भइसक्दा साझेदारहरुबाट समेत भोगिन्। 

उनी सन् १९६९ मा नेपालको प्रथम महिला जेसिस अध्यक्ष बनिन्। नेपालका लागि अध्यक्ष बनिसकेकी उनी जेसीआई वर्ल्डमै पनि उपाध्यक्ष पदमा उठिन्।

‘त्यतिबेला पनि विकसित देशका व्यक्तिहरु नै आएर मलाई ‘सरी अम्बिका, वी कान्ट गिभ यु अ भोट, विकज यु आर अ विमिन’ भने। म ट्वाँ परेँ,’ उनले सुनाइन्। त्यसो भन्नेहरु अमेरिका, अस्ट्रेलिया र जापानका मानिस थिए।

‘चुनावमा उठिरहँदा उनिहरुले त्यसो भनेपछि मलाई रिसले आँसु आइरहेको थियो। तर पनि म उनीहरुसँग भिडेँ,’ उनले भनिन्।

हारको चोटले भन्दा त्यहाँ भोगेको विभेदकारी व्यवहारले अम्बिकालाई धेरै दिनसम्म चिमोटिरह्यो। 

‘विकसित मुलुकका व्यक्तिमा पनि महिला कमजोर भन्ने मानसिकता रहेछ। म नेपालको जेसीआई अध्यक्ष भइसकेको थिएँ। उनीहरुको व्यवहारले छक्क परेँ,’ उनले भनिन्।

९० वर्ष पार गर्दा अम्बिकाले सयौँ पटक यस्तो विभेद भोगिन्। अचेल अम्बिकालाई लाग्छ, महिला आफैँले आफ्नो विकास नगर्दासम्म महिला उत्थानका कुरा असम्भवप्राय छन्। 

अम्बिका पछिल्लो समय महिला तथा युवाहरु स्वनिर्भर हुनु पर्ने धारणा राख्छिन्। दैनिक हजारौँको संख्यामा युवा विदेश पलायन हुँदै गर्दा देश थप संकटमा पर्ने उनको भनाइ छ।  

‘विदेशमा कहिल्यै पनि पहिलो दर्जाको नागरिक भएर बस्न सकिँदैन। युवाहरूले आफ्नै देश नेपाललाई नै बनाउन र यहीँ बस्न किन नखोज्ने?’ उनी प्रश्न गर्छिन्।

‘छिटो फल खोज्दा युवामा निराशा छ’ 
अहिलेका युवामा छिटो नतिजा खोज्ने गलत प्रवृत्ति देखिएको तर्क गर्छिन् अम्बिका।

‘नेपालमा अवसरको प्रशस्त बाटाहरु हुँदाहुँदै पनि मेहनत नै गर्दैनन्। यसरी त फ्रस्टेसन बढ्छ। यो गलत हो,’ उनी भन्छिन्, ‘भारतीय बजारभन्दा नेपाली बजारमा अवसर धेरै छ। राजनीतिक, प्रशासनिक अड्चनहरु धेरै छन् तर ती अड्चन अवसरका अगाडि न्यून छन्।’

‘लड्नु पर्‍यो नि! सजिलै त सफल हुनै सकिँदैन। तपाईंले मेहनत गर्नैपर्छ। पटकपटक लड्नै पर्छ,’ उनको कथन छ।

निश्चित उमेरपछि कामबाट निवृत्त हुने अवधारणासँग पनि सहमत छैनन् अम्बिका। काम गर्ने उमेर सकियो भन्ने धारणा नै गलत भएको ठान्छिन् उनी।

‘हरेक व्यक्तिभित्र मणि छ, त्यो मणिलाई तिखार्नुस्, टल्किने बनाउनुस्। त्यसो गर्न उमेरले छेक्दैन,’ उनी भन्छिन्, ‘तपाईंको सफलताबाट प्रेरित भएर अरु युवा सफल हुनसक्छन्।’

(नेपालखबरमा प्रकाशित रिपोर्ट कपी गरेर पुन: प्रकाशन वा साभार गरेको वा अडिओ/भिडिओ बनाएर प्रसारण गरेको पाइएमा तत्काल कानुनी कारबाही अगाडि बढाइने छ– सम्पादक)

भिडिओ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .