आमाको अनुहार कस्तो थियो, उलाई याद छैन। आमाको बोली सम्झना छैन। आफ्नी आमाको मायालु स्पर्श याद छैन। बस् उनले पुराना तस्बिरहरुमा आमाको रुप हेरेकी छन्। यमुना सानै छँदा उनकी आमा अर्को बच्चा जन्माउन नसकेर बितिन्।
आमा नभए पनि उनले मायाको अभाव भने खेप्नु परेन। बुबाले दोस्रो विवाह गरेनन्। संयुक्त परिवारमा ठूलोबुबा र ठूलीआमा पनि थिए। सायद आमा नभएकी छोरी भनेर होला, ठूलोबुबा–ठूलीआमाले कहिल्यै ठूलो बोली गरेनन्। आफ्ना ४ छोरीसँगै हुर्काए। हुर्किने क्रममा यमुनालाई कहिल्यै लागेन, आमा भएको भए मेरो जीवन यस्तो हुन्थ्यो। आफैँ आमा भएपछि मात्रै हो यमुनाले आमाको अभाव महसुस गरेको।
उनका बुबा कवि घले नाङ्लो, डालो बुन्थे। खेतीको काम गर्थे। गाउँमा हुने ठूला साना कार्यक्रममा आफैँ भान्से भएर पुग्थे। उनी भन्थे, ‘मानिसले जीवन उपयोगी शिक्षा लिनु पर्छ।’
बुबाले उनलाई कुरुसले स्विटर बुन्न सिकाए। कखरा बुबाले नै सिकाए।
त्यो समय यमुनाले एसएलसी पास गर्दा उनका अधिकांश साथीहरुले घर सम्हालिसकेका थिए। केही विवाह गर्ने तयारीमा थिए। बुबाले भने, ‘तिमीले अगाडि पढ्नु पर्छ, तर प्राविधिक विषय पढ।’ यमुनाका बुबामा प्राविधिक शिक्षाप्रति लगाव थियो। रामपुर क्याम्पसमा कृषि पढेका एक जना दाइ छिमेकमा थिए। छिमेकी दिदी नर्स थिइन्। बुबा उनीहरुबाट प्रभावित थिए। उनले यमुनालाई पनि नर्सिङ या कृषि पढ्न भने। उनले दुवैतिर फारम भरिन्। दुवैतिर नाम निस्कियो। उनको आफ्नै रोजाइ थिएन। बुबाले सल्लाह दिए, ‘नर्स भयो भने डाक्टरको निर्देशनमा चल्नु पर्छ। कृषि पढ्यो भने आफैँ हाकिम हुन पाइन्छ।’
त्यतिबेला उनलाई लागेको थियो घरनजिकैको क्याम्पस भएर बुबाले यसो भन्नु भएको होला। उनी रामपुर क्याम्पस भर्ना भइन्। अहिले फर्किएर हेर्दा यमुनालाई लाग्छ, ‘बुबाले सही भन्नुभएको रहेछ।’
छोरीको विवाह, बुबाको मन दुखाइ
रामपुर क्याम्पसबाट यमुनाले स्नातक सकिन्। स्नातकपछि उनी नेदरल्यान्ड्स सरकारको ‘मेची पहाडी विकास परियोजना’ अन्तर्गत पाँचथर पुगिन्। सोही परियोजनाका लागि विष्णुराज उप्रेती इलाम पुगेका थिए। एउटै परियोजनामा काम गर्ने यमुना र विष्णुको बारम्बार भेट भयो। उनीहरुका धेरै स्वभाव मिल्थे, भावना मिल्थे, सपना मिल्थे। यो भेटको झण्डै एक वर्षपछि यमुना र विष्णु विवाह गर्नुपर्छ भन्ने निचोडमा पुगे।
तर यो सम्बन्धलाई विवाहमा परिणत गर्न भने त्यति सजिलो थिएन। एक त अन्तरजातीय विवाह, अर्को विष्णु घरको जेठो सन्तान भएकाले परिवारप्रतिको जिम्मेवारी र बाबुआमाको सपना पुरा गर्नु पर्ने दबाब थियो। तर, विष्णुले कुनै कुरासँग असहज मानेनन्। विवाहको कुरा चल्दा यमुनाले भनिन्, ‘तपाईंलाई त गाह्रो नहोला, मलाई चाहिँ अलिकति सोच्नु पर्छ।’
गुरुङ समुदायकी छोरी यमुना त्यो बेला धेरै पढ्ने छोरीमा पर्थिन्। छोराहरु समेत धेरै पढ्दैनथे, धेरैको ध्याउन्न लाहुरे बनने हुन्थ्यो। त्यसैले यमुनाले स्नातक पढ्न सुरु गर्दा आफन्तीले भनेका थिए, ‘यसले अब आफ्नो जातसँग विवाह गर्दिन। धेरै पढी यसलाई मिल्ने पढेलेखेको केटा हाम्रो जातमा भेटिदैन।’
विष्णुसँग विवाहको कुरा चलेपछि यमुनालाई लाग्यो, ‘आफन्तीको कुरा मैले प्रमाणित गर्दिने भएँ।’
उनलाई तत्काल निर्णय गर्न गाह्रो भयो। सोच्दै जाँदा उनलाई फेरि लाग्यो, ‘उहाँसँग विवाह गर्नु मेरो जीवनका लागि सही निर्णय हुन्छ।’
उनीहरुले पाँचथर फिदिम वडा कार्यालयमा विवाह दर्ता गरे। त्यही उनीहरुको विवाह थियो।
विवाहपछि विष्णुले आफ्नो घरमा जानकारी गराए। विष्णुका भाइ काठमाडौं पढ्थे। भाइमार्फत खबर पठाए। तर यमुनाका लागि भने बुबालाई आफ्नो बिहेको खबर पठाउन सजिलो भएन। विष्णुले नै नजिकका आफन्तीलाई फोन गरेर भने, ‘म यमुनाको साथी हो, उसले त बिहे गरिछन्’ भने। यमुनाका बुबा आफ्नी छोरीको बिहेको खबर पत्याउन तयार भएनन्। उनले भने, ‘मेरो छोरीले त्यसो गर्नै सक्दिन।’
यमुनालाई आफ्नो बुबाको विश्वासमाथि घात गरेको महसुस भयो। यही कुराले लामो समय यमुना मानसिक रुपमा विक्षिप्त भइन्। यो अवस्थाबाट फर्किन उनलाई समय लाग्यो। उनलाई त्यतिबेला लागेको थियो, ‘आफ्नो जीवनका लागि सही पात्र छान्दा पनि हाम्रो समाजको मूल्यमान्यताले पीडा दिदो रहेछ।’
घरमा भने उनलाई निकै सहज भयो। यमुनाका ससुरा गाउँ सचिव थिए। ठेक्कापट्टाको काममा पनि उनी देशका थुप्रै क्षेत्र पुगेका थिए। सायद जीवन बुझ्ने उनको तरिका फरक थियो। गुरुङकी छोरीसँग छोराले विवाह गर्यो भनेर गाउँलेले भन्दा छोरालाई सन्देश पठाए ‘गुरुङहरु इमान्दार हुन्छन्।’ गाउँमा भन्दिए, ‘छोराजत्तिकै पढेकी बुहारी, एउटै परियोजनामा काम गर्ने, छोराले जत्तिकै कमाउने बुहारी हरकोहीले पाउँछ!’ घरले सजिलोसँग स्वीकार गरिदियो, समाज बोल्न सकेन, यमुनालाई सहज भयो।
छोरी जन्मिएपछि बुबासँग भेट
विवाहपछि परियोजनाले यमुनाको पनि इलाम सरुवा गरिदियो। करिअरमा स्थिर भएपछि बच्चा जन्माउने, केही समय बच्चालाई दिने अनि काममा फर्किने, यो हिजोआजको कुरा हो उतिबेला त्यस्तो सोच थिएन। विवाह गरेको झण्डै एक वर्षपछि उनी आमा बन्ने भइन्।
इलाम जिल्ला अस्पतालमा चेकअप गराइन्। उनको गर्भमा बच्चा आएको पक्का भयो। यमुना र विष्णु दुवैको घरसँग नजिकको सम्बन्ध बनेको थिएन। दुवैका परिवार बाहिर। गर्भावस्थाको समयमा उनीहरु मात्रै थिए। दुवैले आफूले सकेको र जानेको तरिका अपनाए। एकले अर्कालाई भर दिए।
यमुनाको गर्भावस्था इलाम, पाँचथर, ताप्लेजुङका गाउँ–पाखा हिँडेर बित्यो। अहिलेजस्तो गाडी थिएनन्, सहज बाटो थिएन। उकालो–ओरालो, जंगलको बाटो हुँदै एक जिल्लाबाट अर्को जिल्ला, एक गाउँबाट अर्को गाउँ जानु पथ्र्यो। तर यमुनालाई शारीरिक रुपमा त्यति धेरै गाह्रो भएन।
यमुनाको गर्भमा ९ महिनाको बच्चा हुर्किरहेको थियो। उनी श्रीमान्सहित परियोजनाकै एक कार्यक्रममा विराटनगर आइन्। विराटनगरको कार्यक्रम सकियो। त्यतिबेला विराटनगर जाने मान्छे प्रायः जोगबनी घुम्न जान्थे। यमुना र विष्णु पनि होटलबाट निस्केर जोगबनी हिँडे। बाटोमै पथ्र्यो कोसी अञ्चल अस्पताल। अस्पताल पुगेपछि विष्णुले भने, ‘यहाँसम्म आइपुगियो एकपटक चेकअप गराउँ।’ चेकअप गराउँदा डाक्टरले भने, ‘कुनै पनि बेला तपाईंको बच्चा जन्मिन्छ, भर्ना हुनुस्।’
केही सोच्ने बेला थिएन। उनी अस्पताल भर्ना भइन्। अर्काको ठाउँ, चिनेका मान्छे धेरै थिएनन्। बस्ने ठाउँ थिएन। विष्णु तनावमा परे। त्यहीँ भएका साथीले सहयोग गरे। विराटनगरमै डेरा खोजे। यता अस्पतालमा यमुनाको अप्रेसन गर्नु पर्ने भयो। तर, अस्पतालको लापर्बाही सम्झिँदा यमुना अझै पनि क्रुद्ध हुन्छिन्।
यमुनालाई अप्रेसन थिएटरमा लैजाने बेलामा अस्पतालकै सिनियर डाक्टरकी श्रीमतीमा जटिलता आएछ। उनी पनि आमा बन्ने तयारीमा थिइन्। त्यसपछि अस्पतालका सबै डाक्टर र नर्स उतै लागे। ड्युटीमा भएका डाक्टरले उनी लगायत अन्य बिरामीलाई समय नै दिएनन्। त्यही काम गर्थे डा. ज्ञानेन्द्र कार्की। विराटनगर जाँदा यमुनाले बेलाबेला उनैलाई चेकअप गराएकी थिइन्। तर त्यो दिन उनी बिदामा थिए। अस्पतालले फोन गरेर कार्कीलाई बोलाए। रातको ११ बजे उनको अप्रेसन भयो। उनीहरुले बुक गरेको क्याबिन पनि डाक्टरले नै लिएछन्। उनलाई नर्मल वार्डमा राखियो। यसबारे यमुनालाई आज पनि चित्ता दुखाइ छ।
पुसको चिसो मौसम, अप्रेसन गरेको सुत्केरी, औषधिले फुलेको ज्यान यमुनालाई आफैँ उठ्न पनि मुस्किल थियो। उनलाई उठाउने, शौचालय लैजाने, छोरीलाई दूध ख्वाउन सहयोग गर्ने सबै काम विष्णुले गरे। यो सबै हेरिरहेकी अर्को बेडकी सुत्केरी महिलाले सोधिन्, ‘तपाईंको छोरा जन्मिएको हो?’ उनले ‘छोरी हो, किन र’ भन्दा महिलाले भनिन्, ‘छोरी पाउँदा पनि कति माया गरेको!’ यमुनाले छोरा र छोरीबीचको त्यति ठूलो अन्तर पहिले महसुस गर्नुपरेको थिएन। त्यसपछि उनले वार्डमा भएका सबैका कुरा सुनिन्। उनीसँगै आमा भएकी एक महिलाले तेस्रो पटक छोरीलाई जन्म दिएकी थिइन्। तेस्रो पटक पनि छोरी जन्माएको भनेर श्रीमान् र घरका कोही मान्छे नआएपछि आमा आएर उनको स्याहार गरिरहेकी थिइन्। उनलाई त्यतिबेला लाग्यो, ‘मैले क्याबिनमा बस्न नपाएर राम्रै भयो, मैले यहाँ जिन्दगी सिक्ने मौका पाएँ।’
अप्रेसन बिग्रिएर दुःख
११ दिनसम्म यमुना र विष्णु विराटनगर बसे। कोसी अञ्चल अस्पतालमै उनको टाँका काटियो। छोरीको न्वारान गरेर उनीहरु इलाम फर्किए। इलाम फर्किएपछि यमुनाको अप्रेसन गरेको घाउ पाक्यो। टाँका काट्दा एउटा धागो छुटेछ, त्यसैको कारणले उनको घाउ पाक्यो। पहिलो बच्चा भएकाले उनीहरु आफैँलाई पनि धेरै ज्ञान थिएन। डाक्टरलाई फोन गरे। डाक्टर औषधि खान सुझाए। जिल्लाकै अस्पतालमा गएर टाँका काटियो, यमुनाले औषधि खाइन्। औषधिले उनको घाउ मात्रै सुकाएन दूध पनि सुकायो।
बट्टाको दूध प्रचलनमा थिएन। आमाको दूधले पेट नभरिएपछि उनकी छोरी बेस्मारी रुन्थिन्। बच्चा रोइरहेको सुनेपछि यमुनाकी घरबेटीले बच्चालाई मह चटाउन भनिन्। यमुनाले चटाइन। महले बच्चाले लठ्याउँदो रहेछ, मह चाटेपछि उनी निदाउँथिन्। उनलाई साथीहरुले काँढापानी खानु, दूध आउँछ भने, तर उनलाई काँढापानी भनेको के हो भन्ने नै थाहा थिएन। दूध र मिश्री दुवै उनलाई मन पर्दैनथ्यो। तर दूधमा मिश्री हालेर पकाएको पानी उनले नाक र आँखा बन्द गरेर खाइन्। केही समय त्यो खाएपछि दूध आयो। त्यसपछि ६ महिना उनले आफ्नो दूध मात्रै खुवाइन्।
३ महिनापछि काम र ६ महिनापछि उनी फिल्डमा निस्किन्। उनको यात्रा त्यति सहज थिएन। फिल्डमा जाने बाटो सजिलो थिएन। घण्टौँ जंगलको बाटो हिँड्नु पथ्र्यो। बच्चालाई राति हिँडाउनु हुँदैन, खोला तार्नु हुँदैन, जंगलमा हिँडाउनु हुँदैन भनिन्थ्यो। उनले केही सोच्न पाइनन्। सानो हुँदासम्म त ठिकै थियो। उनीसँग फिल्डमा जाने अरु दुई जना हुन्थे। उनीहरुले पनि बोक्थे। उनी आफैँ पनि बोकेर हिँड्न सकिन्थन्। आमा चिन्ने भएपछि उनकी छोरी अरुसँग नमान्ने भइन। जंगलको बाटोमा घण्टौँ छोरीले नदेख्नेगरी सहयोगीलाई छोरी दिएर हिँडिन्। उनलाई लाग्थ्यो, ‘मैले जति दुःख पाए पनि उसले दुई वर्ष दूध खान पाउनु पर्छ।’
कहिलेकाहीँ बास बस्ने ठाउँमा पुग्दा राति हुन्थ्यो। गाउँका आमाले यमुनालाई गाली गर्दै भन्थे, ‘घाम डुब्ने बेलामा बच्चालाई अलैची घारीमा लिएर किन हिँडेको।’ त्यतिबेला उनको मन झसङ्ग हुन्थ्यो। छोरी जन्मिएको डेढ वर्षपछि बुबालाई इलाम बोलाइन्। बुबा इलाम गएपछि उनलाई अझै सहज भयो। दुई वर्षपछि यमुनाले छोरीलाई फिल्ड लैजान छोडिन्।
छोरी हुर्केने क्रममा उनले भोगेका सुख दुःखको निकै लामो फेहरिस्त छ। फिल्डमा गएको बेला कहिले आधारातमा ब्युँझिएर छोरीको शरीर माथि हिँड्दै गरेको बिच्छी फाल्दाको क्षण होस् अथवा छोरी लडेर आधा रातमै लरीमा लोग्ने मान्छेहरुसँग घण्टौं हिडेको जंगलको बाटो सम्झिदा अहिले पनि यमुनाको मन झसंग हुन्छ। तर त्यो समय मान्छेसँग मान्छे डराउनु पर्ने समय थिएन। उनी पनि अवस्थासँग डराइन, मान्छेसँग डराइनन्।
उनकी छोरी साढे दुई वर्षकी भएपछि यमुना दम्पतीलाई नेदरल्यान्ड्स सरकारले पढ्नको लागि छात्रवृत्ति दियो। छोरी काठमाडौं छाडेर उनीहरु नेदरल्यान्ड्स गए। सुरुवाती दिनमा यमुनालाई छोरीको समझनाले निकै सतायो। हरेक छाक खाना खानेबेलामा यमुनाका आँसु खस्थे। एक वर्षपछि अनुसन्धानका लागि नेपाल आउँदा उनले छोरी सँगै लिएर गइन्। १८ महिनामा उनको पढाइ सकियो, उनी नेपाल फर्किन्। उनका श्रीमान् पीएचडी गर्न उतै बसे।
छोरीको प्रश्नपछि दोस्रो सन्तान
आफू एक्लो सन्तान भएकाले पनि यमुनाको भित्री मनमा दुई सन्तान चाहिन्छ भन्ने थियो। छोरी हुर्कंदै गर्दा घरमा अर्को बच्चा थिएन, पाको उमेरका मान्छेसँग उनको कुराकानी मिल्दैनथ्यो। स्कुलबाट फर्किपछि उनकी छोरी अस्मिता खेलौना, भित्तासँग कुरा गर्न थालिन्। बाहिर खेल्नु पर्छ नि नानी भन्दा उनले प्रश्न गरिन्, ‘बाजे उफ्रिनुहुन्छ मसँग? तपाईं खेल्नु हुन्छ मसँग?’ त्यसपछि यमुनाको अवचेतन मनमा गडेर बसेको दोस्रो सन्तानको चाहनाले थप मौलाउने मौका पायो। उनले श्रीमानसँग सल्लाह गरिन्।
दोस्रो पटकको गर्भावस्था पनि शारीरिक रुपमा उनलाई खासै असहज भएन। सात महिनाको गर्भ हुँदा उनी बंगलादेश गइन्। कार्यक्रम सकेर फर्किंदा उनी चढेको बस पल्टियो। उनका साथीहरु गम्भीर घाइते भए। उनलाई ठूलो चोट त लागेन। तर बच्चा नचलेको जस्तो महसुस गरिन्। नेपाल फर्किएर उनले पुराना डाक्टर हिरा डंगोललाई देखाइन्। उनले राम्रो अस्पताल जान भने। उनले डाक्टर भोला रिजाललाई फोन गरेर भनिन्, ‘मलाई यस्तो खालको समस्या पर्यो, तपाईं हेरिदिनुहुन्छ?’
रिजालले सहज रुपमा उनलाई अस्पताल बोलाए। दोस्रो पटक पनि उनको अप्रेसन गर्नु पर्ने भयो। ओम अस्पतालमा डा. भोला रिजालले उनको अप्रेसन गरे। त्यतिबेला भोला रिजाल टिमसँग कुरा गर्दै यमुनाको अप्रेसन गरिरहेका थिए। यमुना उनीहरुका कुरा सुनेर हाँसिरहेकी थिइन्। त्यतिबेला भोला रिजालले भनेका थिए ‘अरुको बच्चा रुँदै निस्कन्छ, यमुनाको बच्चा हाँस्दै निस्कने भयो।’ यमुनाले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन्।
त्यतिबेला उनको अफिस लाजिम्पाटमा थियो। बसाइ कोटेश्वर। दूधखाने बच्चालाई घरमा छोडेर हिँड्न सहज भएन। घरमा बुढाबुढी। दुई बच्चाको भरथेग गरिदिने कोही भएन। छोरीलाई स्कुल लाने, ल्याउने काम उनका बुबाले गर्थे।
यमुना एकदिन अफिस नजिकै बच्चा राख्ने ठाउँको खोजीमा हिँड्दै थिइन्, अहिलेको र्याडिसन होटलनजिकै भेटियो, ‘सिसेम किन्डर गार्डेन।’ उक्त किन्डरगार्डेनका सञ्चालकले नेदरल्यान्ड्सकी महिलासँग विवाह गरेका रहेछन्। उनी पनि भर्खरकी सुत्केरी। नेदरल्यान्ड्समा पढेर आएको भनेपछि भावनात्मक सम्बन्ध गाँसियो। उनले भनिन्, ‘यो सानो बच्चा, यसलाई धेरै स्याहार चाहिँदैन, मेरो बच्चा हेर्नेले तिम्रो पनि हेरिदिन्छ, पैसा उसैलाई दिनू।’
उनी हरेक दिन बिहान ४ महिनाको छोरो बोकेर जान्थिन्, किन्डरगार्डेनमा छोरी छोड्थिन र अफिस जान्थिन्। दिउँसो एक घण्टा खाजा खाने ब्रेक हुन्थ्यो। उनी दौडिँदै छोरालाई दूध ख्वाउन जान्थिन्। कहिले छोरो मस्त निदाएका हुन्थे। उनी छोरो हेरेर फर्किन्थिन्। छोराले ठोस खाना खान थालेपछि भने घरमै छोडेर अफिस गइन्।
आफूले भोगेको यो समस्याले एक्सन एटमा डिभिजन म्यानेजर भएको बेला अफिसमा किन्डरगार्डेनको व्यवस्था हुनुपर्छ भनेर बहस गरिन्। दूध ख्वाउने आमालाई ‘फ्लेक्जिबल आवर’ हुनुपर्छ भन्ने नियम बनाइन्। दुई वर्षमुनिका आमाले फिल्डमा जाँदा सहयोगी लिएर जान चाहन्छन् भने उनीहरुको खर्च पनि अफिसले ब्यहोर्नु पर्ने नियम बनाइन्। उनको यो निमयले अन्य महिलाले लाभ लिए, सहजता पाए।
अहिले उनका छोराछोरी हुर्किए। छोरा आयुष अमेरिकामा छन्। वित्तीय विश्लेषक भएका छन्। छोरी अस्मिता फेसन डिजाइनर हुन्। उनी आफ्नो फिल्डमा सफल छिन्। तर यमुनालाई बेलाबेला लाग्छ, ‘छोरीको सपनामाथि अन्याय गर्यौँ कि?’ सानैदेखि एकेडेमिक शिक्षालाई महत्वपूर्ण मान्दै आएका यमुना दम्पतीले छोराछोरीको शिक्षामा पनि जोड दिए। तर उनकी छोरी चित्र कोर्न, रङ भर्न, फरक सोच्ने, प्रश्न धेरै गर्ने गर्थिन। यो उनको क्षमता र सपना हो भनेर उनीहरुले बुझेनन्। छोरीले पनि भन्न सकिनन्। यमुनाले छोरीलाई म्यानेजमेन्ट पढ्न पठाइन्। छोरीले केही समय पढेपछि यो मेरो विद्या होइन सक्दिनँ भनिन्। त्यसपछि बल्ल फेसन डिजाइन पढिन्। मुम्बईमा फेसन डिजाइनिङ पढेकी छोरीले बलिउडका थुप्रै कलाकारसँग काम गरिन्। कोरानापछि नेपाल फर्किएकी अस्मिता यहीँ काम गरिरहेकी छन्। यमुनालाई लाग्छ, ‘बेलैमा उसको इन्ट्रेस्ट बुझेर पढाएको भए मेरो छोरी कति अब्बल हुने रहिछन्।’
छोराले आफूले रोजेको विषय पढे। छोराछोरीको सफलताबाट यमुना खुसी छिन्।
प्रतिक्रिया