म्यागेजिन


चीनमा राजा वीरेन्द्रको दोभासेको काम गर्दा

चीनमा राजा वीरेन्द्रको दोभासेको काम गर्दा

सेप्टेम्बर १९९३ मा चीनको सान्सी प्रान्तका गभर्नर लिउ चुनमाओसँग राजा वीरेन्द्रको भेटवार्ताको अनुवाद गर्दै चु चिङची (तस्बिरः अरनिकोप्रोजेक्ट)


चु चिङची
जेठ ४ , सियान

परिचय
अनुवादको काममा अनुवादकले आफ्नो बसाइलाई मिलाउनु निकै महत्वपूर्ण हुन्छ। यो भ्रमणमा मैले यो कुरामा धेरै ध्यान दिएँ। पहिले आफ्नो अनुवादको काममा ध्यान दिने र अरुको ध्यान खिच्ने प्रयास नगर्ने। 

विदेशी राष्ट्रप्रमुखका लागि पहिलो पटक मैले अनुवादकको काम नेपालका राजा वीरेन्द्रका लागि गरेको थिएँ। यो सन् १९९३ को कुरा हो, जतिबेला म ५० वर्षको थिएँ।

स्नेही राजा

१९६२ मा म बेइजिङ इन्स्टिच्युट अफ फरेन ट्रेड (जसलाई अहिले युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्स भनेर चिनिन्छ) मा भर्ना भएँ। सांस्कृतिक क्रान्तिका कारण मेरो अध्ययन एक वर्ष ढिला भयो। ६ वर्षपछि मैले अनुवाद विभागबाट अंग्रेजी प्रमुख विषय राखेर स्नातक पास गरेँ। त्यसपछि अनुवादको काममा संलग्न हुने अवसर मैले कहिल्यै पाइनँ।

१९७८ मा सान्सी प्रान्तको विदेश मामिला कार्यालयमा सरुवा भएपछि आफ्नो सामु अवसर आएको महसुस मैले गरेँ। नेताहरुले पहिले ‘प्रचारको काम गर’ भन्लान् भन्ने कसले सोचेको थियो र! र त्यो ‘पहिले’ का लागि मैले १२/१३ वर्ष प्रचारको काममा गुजारिसकेको थिएँ। त्यो अवधिमा मैले केही ब्रोसरहरु अनुवाद गरेको थिएँ। प्रचारको काम धेरै बोझिलो थियो। त्यसैले अनुवाद म खाली समयमा मात्र गर्थेँ।

पछि मैले बेलाबखत अलिअलि दोभासेको काम पनि गरेँ। केही मन्त्रीहरुको समेत। 

तर, मैले विदेशी राष्ट्रप्रमुखका लागि अनुवादको काम गरेको यो पहिलो पटक थियो। त्यसैले म थोरै आत्तिएको थिएँ। म बुढो भइसकेँ। मैले ठिकसँग अनुवाद गर्न सकिनँ भने? त्यसमाथि त्यहाँ बेइजिङबाट आएका दुई जना अनुवादक पनि थिए। मैले गल्ती गरेँ भने कति लाजमर्दो होला?

विदेशी मान्यजन आउनुभन्दा अघिल्लो रात म लामो समय ओछ्यानमा पल्टिएँ तर निदाउन सकिनँ। राम्ररी सुत्न सकिनँ भने भोलि कसरी अनुवाद गरुँला? उठेर मैले आफ्नो घडी हेरेँ– रातको एक बजिसकेको थियो। त्यसैले मैले तुरुन्तै दुई चक्की भ्यालियम खाएँ।

ब्युँझिदा साढे ६ बजिसकेको थियो। तर, उठ्दा मलाई रिंगटा लाग्यो। राम्ररी नसुतेको कारण रिंगटा लागेको थियो कि औषधिको असर थियो, मलाई थाहा भएन। त्यति ठूलो जिम्मेवारी आफ्नो काँधमा बोकेर म लापरबाही गर्न सक्दिनथेँ। त्यसैले म तुरुन्तै उठेँ। सेप्टेम्बर २२ का दिन अपरान्ह ४ः४० मा एउटा बोइङ ७३७ विशेष विमान सियानस्थित सियानयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। 

विमानबाट सबैभन्दा अगाडि निस्किने व्यक्ति विदेश मन्त्रालयका एक कमरेड थिए। उनले प्रान्तीय विदेश मामिला कार्यालयका उपनिर्देशक पेइ चाङचुको कानमा खुसुक्क केही भने। त्यसपछि मलाई उपनिर्देशक पेइले राजालाई आमन्त्रित गर्नका लागि विमानमा चढ्न भने। 

कुनै अतिथिलाई आमन्त्रित गर्न पहिलो पटक म विमानमा चढ्दै थिएँ। यस्तो बेलामा के भन्ने मलाई थाहा थिएन। जब म विमानमा पुगेँ, फर्स्ट क्लास क्याबिनको बायाँ भागमा एउटा जोडी बसिरहेको देखेँ। विदेश मन्त्रालयका एक व्यक्तिले आफ्नो छेउमा उभिएका कमरेडलाई भने, ‘उहाँ विदेश मामिला कार्यालयका निर्देशक हुनुहुन्छ। कृपया राजालाई अनुवाद गरेर भनिदिनुस्।’

मलाई त्यहाँ निर्देशक भनेको सुन्नेबित्तिकै मैले म निर्देशक होइन भनेँ। तर, विदेश मन्त्रालयले नै त्यसो भनिसकेपछि यो विन्दुमा आएर मैले तर्क गर्न सक्दिनथेँ।

अनुवादकले के भने, मैले ठिकसँग सुनिनँ। तर, डुंगाजस्तो देखिने फूलैफूल भएको टोपी (ढाकाटोपी) लगाएका अधवैँशे व्यक्ति राजा हुन् भन्ने ठम्याएँ। उनी अगाडि तन्केर मसँग हात मिलाए। मैले हतारहतार भनेँ, ‘सियानमा स्वागत छ महाराज!’

मैले त्यसो भनेपछि राजा र रानी उठे। म हतारमा तल ओर्लिएँ र गभर्नर पाइ चिङकाइको पछाडि उभिएँ। 

सान्सी भ्रमणका लागि नेपालका राजा श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाह र रानी श्री ५ ऐश्वर्य राज्यलक्ष्मी देवी शाह आएका थिए। टोलीमा चीनका लागि नेपाली राजदूत र अन्य वरिष्ठ अधिकारहरु तथा पत्रकारसहित ३६ जना थिए। विशिष्ट अतिथिका साथमा अरु १७ जना थिए। जसमा श्रममन्त्री र उनकी पत्नी, नेपालका लागि चिनियाँ राजदूत, विदेश मन्त्रालयका विभाग र डिभिजन तहका नेताहरु र अनुवादकहरु थिए। 

सियान हाइवे युनिभर्सिटीमा अध्ययनरत पाँच नेपाली विद्यार्थी पनि राजारानीलाई फूल चढाउन विमानस्थलसम्म गएका थिए। राजा र रानीलाई भेट्दा गभर्नर पाइले एक वाक्य मात्रै बोले, ‘सान्सी भ्रमणमा स्वागत छ!’ उनीपछिका नेताहरुसँग हात मिलाएर अभिवादन गरिसकेपछि राजालाई दुई बालबालिकाले पुष्पगुच्छा दिए। त्यसपछि सबैजना पालैपालो कारमा चढे।

कारको माझमा मेरो सिट फोल्ड गर्न मिल्ने थियो। तर, त्यसलाई पल्टाउन मलाई निकै गाह्रो भयो। मेरो पछाडिबाट गभर्नर पाइले मलाई सहयोग गरे। अप्रत्याशित रुपमा राजा पनि कुर्सी पल्टाउन मलाई सघाउन फर्किए। म वास्तवमै मक्ख परेँ। जिन्दगीमा कसैले पनि मलाई यस्तो व्यवहार गरेको थिएन। सियानमा दुई दिनभन्दा कम समय बस्दा राजाले मलाई तीन पटक सिट पल्टाउन सहयोग गरे। जसका कारण म निकै प्रभावित भएँ। यस्तो लाग्यो, ४८ वर्षीय राजामा अहंकार भन्ने थिएन। उनी दयालु र सहज थिए। 

सुधार
राजा मध्यम कदकाठीका थिए। मिलेको जिउडाल र उनले अलिकति मोटा जुँगा पालेका थिए। उनले कोटभित्र ऊनीको स्वेटर लगाएका थिए। त्यसैले उनले टाइ लगाउन मिल्दैनथ्यो। सियानमा दुई दिन बसुञ्जेल उनले टाइ लगाएनन्। कहिलेकाहीँ उनले सुरुवाल लगाए, जसका कारण उनको खुट्टा दुब्लोजस्तो देखिन्थ्यो। प्रशंसा वा आश्चर्य व्यक्त गर्नुपर्दा उनी दक्षिणपूर्वी एसियाका मानिसहरुजस्तो मुन्टो हल्लाउँथे। 

राजा वीरेन्द्र चीनप्रति निकै मित्रवत् थिए। यो उनको आठौँ चीन भ्रमण थियो। उनलाई सियानबारे धेरै थाहा थिएन। उनले प्रायः सियानका प्राचीन चिहानबारे प्रश्न गरे। जस्तै, ती चिहानहरु किन उत्खनन् गरिएन? त्यति अग्लो चिहान बनाउन माटो कहाँबाट ल्याइयो? प्राचीन राजधानीका लागि सियानलाई नै किन चुनियो? के मार्को पोलो यहाँ आइपुगेका थिए? सिल्क रोड यहीँ भएर गएको थियो? अनि अरु थुप्रै। जब गभर्नर पाइले सिल्क रोडको सुरुवाती विन्दु यही हो भने तब राजाले प्रशंसा गरे, ‘त्यसबेला पश्चिमाहरु तपाईंहरुसँग सिक्न यहाँ आएका थिए।’

गभर्नर बाइले विनम्रतापूर्वक जवाफ दिए, ‘हामी सबै एकअर्काबाट सिक्छौँ।’

त्यो रात शीर्ष नेताहरुको बैठक र भोज मेरो अनुवाद कर्मको मुख्य जिम्मेवारी थियो। त्यसैले विदेश मन्त्रालयबाट आएका अनुवादकसँग काम बाँडफाँट गर्ने आशामा म थिएँ। तर, तीमध्ये एक जनाले अप्रत्याशित रुपमा भनिन्, ‘यहाँ पनि दोभाषे छन् होइन र?’ पछि मैले भनेँ– दैनिक कामकाजका कुरा सबै म अनुवाद गर्छु। तर आज रातिको काम धेरै महत्वपूर्ण छ। तपाईंहरु पहिले अनुवाद गर्नुस्। त्यसबाट हामी पनि सिक्न सक्छौँ। त्यसपछि मात्रै उनी भोजमा मसँग बसेर अनुवाद गर्न सहमत भइन्। तर, उपगभर्नर लिउ चुनमाओसँगको बैठकमा मैले एक्लैले अनुवादको काम सम्पन्न गरेँ।

हलमा प्रवेश गर्दैगर्दा मैले दोभासेको सिटलाई बेचैन भएर हेरेँ। तर, सिटमा बसेर आवश्यक लेखोट राख्न नोटबुक र कलम निकाल्नेबित्तिकै मैले आफूलाई मानसिक रुपमा तुरुन्तै तयार पारेँ। मेरो अघिल्तिरका दुई वक्ताबाहेक अरु सबै मन्त्री, राजदूत, ब्युरो प्रमुख लगायत मेरो नजरबाट अदृश्य थिए। ती दुई जनाको बातचितमा मात्रै मेरो कान थियो। उनीहरुले बोल्नेबित्तिकै यन्त्रजसरी मैले तुरुन्तै अनुवाद गरिदिएँ। यो काम निर्बाध रुपमा भयो। यो विन्दुमा आइपरेका सबै कुरा अनुवाद गर्न सक्छु भन्ने आत्मविश्वास ममा आइसकेको थियो। 

त्यसपछि गभर्नर पाइ चिङकाइको स्वागत भोजमा मैले बोलेँ। र, त्यहाँ अनुवादको काम राम्रो भयो भन्ने मैले नै महसुस गरेँ। सान्सीको परिचय दिनु र राजाले सोधेका केही प्रश्नका जवाफ दिनुबाहेक उनी धेरै बोलेनन्। 

अनुवादको काममा अनुवादकले आफ्नो बसाइलाई मिलाउनु निकै महत्वपूर्ण हुन्छ। यो भ्रमणमा मैले यो कुरामा धेरै ध्यान दिएँ। पहिले आफ्नो अनुवादको काममा ध्यान दिने अनि अरुको ध्यान खिच्ने प्रयास नगर्ने। 

तथापि, उपगभर्नर लिउ प्रायः ढिला हिँडेको मैले देखेँ। उनी किन सधैँ पछाडि रहन्थे, मैले बुझ्न सकिनँ। जब राजा उपगभर्नरलाई देख्दैनथे, उनी मसँग कुरा गर्न थाल्थे। सोही कारण दुर्घटनावश म एउटा फोटोपत्रकारको क्यामरामा कैद हुन पुगेँ। सम्मानित अतिथिहरुको काम सकेर जब म घर फर्किएँ, श्रीमती र छोरीहरुले मलाई टीभीमा धेरै पटक देखेको बताए। मलाई निकै असहज महसुस भयो। अलिकति अन्यायजस्तो पनि महसुस गरेँ। मैले जानीजानी त्यसो गरेको थिइनँ। 

टेराकोटा लडाकु र जायन्ट वाइल्ड गुज पेगोडाका बारेमा मलाई थाहा थियो। किनभने यी ठाउँका बारेमा मैले थुप्रै सामग्री अनुवाद गरेको छु। भ्रमणका क्रममा राजा वीरेन्द्रले उपगर्भनर लिउसामु चिनियाँ राष्ट्रको लामो इतिहास र सियानका अनेकौँ सांस्कृतिक स्मारकको प्रशंसा गरे। उनले भने, ‘चीनको लामो इतिहासबारे मलाई धेरै पहिलेदेखि थाहा थियो र आफैँ यी सबै कुरा हेर्न इच्छुक थिएँ।’ 

यी दुई ठाउँ घुमिसकेपछि उनले उपगभर्नर लिउलाई भने, ‘मुलुकहरुले अलगअलग समयमा आआफ्नो सभ्यताको विशिष्टतामा जोड दिने गरेका छन्। तर, चीनको सभ्याता पुरानो हो। र, यही सभ्याताका कारण चीन विश्वमा चिनिएको छ।’

उनले यो पनि सुझाए, ‘टेराकोटा वारिअर्स संग्रहालयमा दुई हजार वर्षअघि चीनमा टेराकोटा लडाकु, घोडा, काँसको रथ इत्यादि हुँदा पूर्व र पश्चिमका मुलुकहरु विज्ञान, प्रविधि र संस्कृति कहाँ पुगेको थियो भनेर देखाउन एउटा चार्ट पनि राख्नुपर्छ।’ उदाहरणका लागि त्यसबेला इजिप्ट, रोम, भारत र स्पेनको दाँजोमा धातुमिश्रणको प्रविधि भएको चीनका घोडा र रथ कस्ता थिए भन्ने राखियो भने अझ स्पष्ट हुन्छ। उनले धेरैबेर बोल्दा मैले सानो नोटबुक निकालेँ र ती कुराहरु टिपेँ ताकि अनुवादका क्रममा तिनलाई नबिर्सूं।

२३ तारिखको साँझ राजा वीरेन्द्र र उनको भ्रमण दलले ट्यांगल प्यालेसमा ताङ चाङअन नाच हेरे। त्यहाँ उपस्थिति चिनियाँ र विदेशी दर्शकहरुले उनीहरुलाई न्यानो स्वागत गरे। कार्यक्रमपछि राजा र रानीले मञ्चमा गएर सबैलाई एकएक गर्दै धन्यवाद दिए र तस्बिर खिचाए। राजाले उपगभर्नर लिउलाई भनेः ‘एकदेखि दुई हजार वर्ष पुराना सांस्कृतिक सम्पदा र ऐतिहासिक क्षेत्रको भ्रमणपछि यो सांस्कृतिक कार्यक्रम हेर्न पाउँदा निकै सार्थक महसुस भयो। यसले प्राचीन चिनियाँ सभ्यताप्रतिको बुझाइलाई गहिरो तुल्याउँछ।’

२४ तारिखको बिहान १० बजे राजा वीरेन्द्र र अरु अतिथिहरुलाई बोकेको विशेष विमान जब उड्यो, तब एउटा ठूलो बोझ मेरो मुटुबाट उत्रिएको महसुस भयो। म सोचिरहेको थिएँ– अन्ततः एउटा महत्वपूर्ण अनुवादको काम राम्ररी पुरा गरेँ।

(यहाँ क्लिक गरेर यो सामग्री अँग्रेजीचिनियाँ भाषामा पढ्न सकिन्छ)

(चु चिङचीले चिनियाँ भाषामा लेखेको यो सामग्री अनेका रेबेका राजभण्डारीले अंग्रेजीमा अनुवाद गरेकी हुन्। राजभण्डारी चीनको रेनमिन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा स्नातकोत्तर अध्ययनरत छन्।)

 

जेठ ४, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad