म्यागेजिन


‘म संसदमा बोल्दा त्यहाँ हुन्नँ, छाउगोठमा हुन्छु’

‘म संसदमा बोल्दा त्यहाँ हुन्नँ, छाउगोठमा हुन्छु’

रंगमती शाही भन्छिन्– केही साथीहरू नबोलेरै सकिनुभएको छ। म बोलेँ। (तस्बिरः विजय सिंह)


समर्पण श्री
कात्तिक १३ , काठमाडौँ

२०४१ साल
घर झिलिमिली थियो। आँगनमा तामझाम थियो। मानिसहरु नयाँ लुगा लगाएर सजिएका थिए। आफन्तहरूको अघि लागेर बा कतै हिँडेका थिए। फर्केर आउँदा उनको साथमा शृङ्गारले ढाकिएकी नवआगन्तुक महिला थिइन्। 

सबैले खुसी बाँड्दै भने, ‘कान्छी दुलही!’ 

‘तिमीहरूको सानी आमा,’ कसैले जबरजस्ती जोडिदिएको हुँदो हो साइनो। ६ वर्षकी रंगमती शाहीको बालमस्तिष्कले त्यतिबेलै प्रश्न गर्यो, ‘आमा हुँदाहुँदै किन चाहियो सानी आमा?’

हुन पनि यसको जवाफ बाँकी दिनहरूले स्वतः दिँदै गए। फक्रँदो चेतनाले दिँदै गयो।

‘आमा हुँदा हुँदै बाले दोस्रो बिहे गर्नुभएको रैछ,’ उनको अन्तरचेतनाले ठम्याइ छाड्यो। 

पक्का भइन्, ‘यो बिहेले परिवारमा खुसी दिँदैन।’

रंगमतीले​ आफ्नै बा मात्र हैन, गाउँका हुनेखाने बा’हरूले पनि दोस्रो विवाह गरेका दृष्टान्तहरू देखिन्। 

‘समस्या विवाहमा थिएन। पुरुष चिन्तनमा थियो। परम्परामा थियो। त्यसकै उपज थियो महिलाहरूले भोगेको पीडा,’ रंगमतीले ठानिन्।

घरघरमा महिलाहरू प्रताडित थिए। चलन थियो, श्रीमानले खाना खाइन्जेल श्रीमती ढोका रुँघेर बस्नुपर्ने।

‘देखेका, भोगेका धेरै कुराहरू गलत थिए। मलाई लाग्यो यो हटाउनुपर्छ,’ स्कुल पढ्दै गर्दा उनले मन्थन गर्न थालिन्। तर, छोरी भएर यी कुराहरू सोच्नु त परको कुरा। स्कुलको प्रांगण टेक्नधरी मुस्किल हुन्थ्यो।

‘सिंगो गाउँमा स्कुल पढ्ने केटी म एक्लो थिएँ,’ उनी सम्झिन्छिन्।’

त्यो पनि डेढ घण्टा हिँडेर जानुपर्ने!

‘काँ छोरीलाई धेरै पढाउन खोज्या। अर्को जातसँग जान्छे, नाक काट्छे,’ रंगमतीको पढाइ रोक्ने इलममा गाउँले खटिए। आमाहरूलाई लाग्थ्यो, ‘हो त, नाक काट्छे।’ 

तर, बाले रंगमतीको स्कुल छुटाउन दिएनन्।

२०५४ साल
‘बा म गाविस अध्यक्षमा चुनाव लड्छु,’ १९ वर्षकी छोरी रंगमतीले बालाई आश्चर्यमा पारिन्। हुम्लाको साया गाविस चुनावको माहोलमा मिसिँदै थियो। जिल्लामा राप्रपाका प्रभावशाली नेता उनका बा प्रधानपञ्च हुँदै जिल्ला पञ्चायत सभापति भइसकेका थिए। चकित हुँदै बाले भने, ‘तिम्रो सोच त राम्रो हो। तर मैले तिमीलाई टिकट दिन मिल्दैन।’  

बाले सम्झाए, ‘अरु हुँदाहुँदै आफ्नै छोरीलाई टिकट दियो भनेर नैतिक प्रश्न उठ्छ।’ 

तर, रंगमती आफ्नो निर्णयमा जरो जसरी गाडिन्थिन्। डेग चलिलनन्। घोषणा गरिन्, ‘अब स्वतन्त्र दरखास्त दिन्छु।’

गाउँभरिका मान्छे हाँसे। खिसिट्युरी गरे। 

‘पत्याओस् कसले? एउटी बच्चीले चुनाव लड्ने कुरामा। तर, त्यतिबेला कान्तिपुर दैनिकले पत्यायो। मेरो उत्साहलाई कभरेज गर्यो,’ उनी सम्झिन्छिन्। 

उनलाई सम्झाउनेहरूको लर्को लाग्यो।

‘तिमी जित्दैनौ, नलड। बरु हाम्लाई सहयोग गर’ भन्दै आफन्त र उम्मेदवारहरू उनीकहाँ धाउन थाले।

‘के सोचेँ, रहरै मात्र त हो, छाडिदिऊँ भनेर दरखास्त फिर्ता लिएँ,’ रंगमती सुनाउँछिन्। 

त्यसपछि उमेर बढेसँगै उनको राजनीतिक चेतना पनि हुर्किंदै गयो। एकदिन सोचिन्, ‘बा राप्रपामा, आफन्तहरू राप्रपामा। मै राप्रपामा भएँ भने मेरो पालो कहिले, परिवर्तन कहिले?’

उनी कांग्रेसमा प्रवेश गरिन्। कांग्रेसमा त्यतिबेला नेपाल महिला संघको ब्युरो थियो। जिल्लामा सक्रिय महिला कम, उनी महिला संघको जिल्ला अध्यक्ष भइन्। शान्ति समाज नामक एनजीओ खोलेर विभिन्न कामहरू गरेकी रंगमती त्यो जिम्मेवारी पाउन लायक थिइन्।

गाउँमा जे असह्य कुराहरू भोगेकी थिइन्, जे देखेकी थिइन्, त्यसका विरुद्धमा आवाज उठाइन्, महिला हिंसा, बहुविवाह, दुव्र्यवहार।

रंगमती कांग्रेस प्रवेश गर्दा जिल्लामा तरंग आयो।

‘छोरीलाई कांग्रेसमा पठाएको भन्दै बुबालाई दबाब आयो, कांग्रेसका केही साथीहरूले पनि राप्रपाकी छोरीलाई किन प्रवेश गराएको भन्दै विरोध जनाए,’ उनी सम्झिन्छिन्। 

तर, रंगमतीका बाले कुनै अवरोध गरेनन्। बाले भने, ‘आफ्नो खुसी हो, छोरीले जुन बाटो रोजे पनि भन्नु केही छैन।’

बा–छोरीको सम्बन्ध सुमधुर थियो। तर पार्टी र राजनीतिक एजेन्डाका कारण कहिलेकाहीँ रंगमती बाकै राजीनामा माग्न सडकमा ओर्लिन्थिन्। शाही सरकारको बेला उनका बा थिए जिल्ला अनुगमनको संयोजक। 

‘२०६२/०६३ को आन्दोलनमा बुबा पदमा हुँदा मैले उहाँको राजीनामा सडकबाट मागिरहेकी थिएँ,’ रंगमती सम्झन्छिन्। 

२०७४ पछि...
सांसद रंगमतीले एकदिन संसदमा छाउगोठबारे बोलिन्। त्यो उनले र उनका दिदीबहिनीले भोगेका कुरा थिए। 

‘सिंगो संसद् नै भावुक भयो, कतिपय नेताहरूले फोन गरेर भावुक प्रतिक्रिया दिए,’ रंगमती सुनाउँछिन्। 

छाउगोठबारे उनीसँग नमिठा अनुभूति छन्, थुप्रै।

‘म खुसी छैन। किनकि म संसदमा बोल्दा संसदमा नै हुन्नँ। उही छाउगोठमै छु। त्यतिबेला म कर्णाली सम्झिन्छु, मेरा दिदीबहिनी सम्झिन्छु। भोगेका पीडा सम्झिन्छु,’ उनी सुनाउँछिन्। 

रंगमतीले भोगेको पीडा कहालीलाग्दो छ। खरले बारेको, पानी चुहिने गोठ। महिनावारी हुँदा त्यहाँ बिताएका दिनहरू सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ रंगमतीको। 

‘तीन दिनसम्म छुइखुल्लोमा बस्नुपर्ने, अनि गोठमा। खाना पनि घिनलाग्दा हुन्थे,’ सुनाउँछिन् उनी।  

नौ वर्ष निरन्तर गइन् छाउगोठ। त्यसपछि गइनन्। नजानु भनेको विद्रोह गर्नु थियो। सिंगो गाउँ र चल्दो परम्परासँग पौँठेजोरी खेल्नु थियो। र, कति हानिकारक थियो त्यो?

उनी सम्झिन्छिन्, ‘गाउँलेहरू घरमा आउन छाडे। झाँक्रीहरू आउन छाडे। र आमालाई बाहिरबाट दबाब दिन थाले– ‘तिम्रो छोरीले सबै बिगारी अब तिम्रा कोही सन्तान रहँदैनन्।’

रातोदिन आमा झगडा गर्थिन् रंगमतीसँग। गाउँलेहरूले गावैँबाट निकाल्नै खोजे। रंगमती कमजोर थिइनन्। उनीसम्म आउन भने सकेनन्। 

अहिलेसम्म गाउँका दिदीबहिनी उही अवस्थामा छन्। ग्लानि हुन्छ रंगमतीलाई आफू सांसद हुँदा पनि त्यो अवस्था बदल्न नसकेकोमा। यद्यपि, उनी बोल्छिन्। जोडतोडका साथ बोल्छिन्।

‘केही साथीहरू नबोलेरै सकिनुभएको छ। तर म बोलेँ। रुने बालकले दूध पाउँछ, नरुने बालकले त पाउँदैन। त्यसैले बोल्नुपर्छ,’ उनी सुनाउँछिन्। 

कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेपछि उनी ०७४ सालमा पहिलो पटक संसद् भवन प्रवेश गरिन्। जानुअघि थाहा थिएन, त्यो कहाँ छ? स्वकीय सचिवले देखाइदिए। त्यहाँ गएर बसेपछि लाग्न थाल्यो, ‘संसद् भवन त स्कुल जस्तो छ।’ 

‘अनि सभामुख?’ 

‘हेडसरजस्तो,’ उनी सम्झँदै हाँस्छिन्। पाँच महिनासम्म केही बोलिनन्। सिक्दै गइन्। जान्दै गइन् नियम। जब सबै कुरा बुझिन्, शून्य समयलाई उनले ‘सुन्ने’ समय बनाइन्। आफू प्रतिपक्षमा बसेर सरकारको कडा टिप्पणी गरिन्। 

एकदिन संसदीय विकास समिति बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिइन्, ‘काठमाडौंमा धुलो छैन, मास्क लगाउनु पर्दैन भन्ने प्रधानमन्त्रीज्यू, मेरो स्कुटरको पछाडि बसेर वनस्थली हिँड्नुस्।’ 

उनी वनस्थलीबाट स्कुटी चढ्दै संसद् भवन पुग्थिन्। पुग्दा धुलाम्य हुन्थ्यो। धुलोले खोकी लाग्थ्यो। बिमारी पर्नेसम्म अवस्था हुन्थ्यो। दुई वर्षअघि ओलीले काठमाडौंमा ‘धुलो धुवाँ नभएको र मास्क लगाउनु नपर्ने’ दाबी गरेका थिए। त्यतिबेला ओलीले उनको कडा आलोचना खेप्नुपरेको थियो। 

रंगमती अन्य विषयमा पनि संसदमा कडा रुपमा प्रस्तुत हुन्छिन्। उनका प्रस्तुति केही दिनसम्म चर्चाका विषय पनि हुन्छन्।

उनी एक मिनेट बोल्नका लागि २० पेज जति लेख्छिन्। रंगमतीलाई लागेको छ– ‘सदनमा बोलेपछि धेरै काम भएका छन्। बाटोघाटो र धुलो धुँवाको कुरा बोलेपछि काम भएका छन्।’ 

‘मैले भाषा जानिनँ होला, बोल्न मिलेन होला, तर मैले आफ्ना कुरा राखेँ, प्राथमिकताका साथ राखेँ,’ उनी दाबी गर्छिन्, ‘म जे बोल्छु। पीडाले बोल्छु। आफ्नै सरकारले पनि सुनेन भने कर्णाली सदैव प्रतिपक्ष नै हुन्छ।’ 

जबसम्म सरकारले कर्णालीलाई सुन्दैन, बुझ्दैन रंगमती प्रतिपक्षी नै हुन्छिन्। उनले प्रधानमन्त्री शेरहादुर देउवालाई पनि त्यही चेतावनी दिएकी छन्, ‘प्रधानमन्त्रीज्यू! कर्णालीलाई हेला नगर्नुस्। भोलि म आफ्नै पार्टीको सरकार हुँदा प्रतिपक्ष भएर बस्नु नपरोस्!’
 

कात्तिक १३, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad