स–साना माटाका आर्कषक मूर्ति बनाई मनाइने सामा-चकेवा पर्वले यतिखेर मिथिलाञ्चलमा रमझम छ।
कार्तिक शुक्ल पञ्चमी अर्थात् छठको खरनाबाट सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ। विशेषगरी यो पर्व मिथिलाञ्चलका चेलीबेटीले मनाउने गर्दछन्।
कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीत गाएर सहेलीसँग रम्दै सामा–चकेवा पर्व मनाइन्छ।
सामा–चकेवा पर्वमा श्रीमान्–श्रीमतीको सम्बन्धमा चुक्ली लगाउने चारुवक्य पात्र अर्थात् चुगलाको जुंगालाई डढाउने गरिन्छ।
दिदीबहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउँछन्। यसका साथै आफ्नो भाइको पुरुषार्थको गीतकै माध्यमले प्रशंसा समेत गर्ने गर्दछन्।
यसरी मनाइन्छ सामा–चकेवा पर्व
कार्तिक पूर्णिमाका दिन दिदीबहिनी आफ्नो भाइलाई निमन्त्रणा दिन्छन्। भाइले घुँडामा राखेर सबै मूर्ती तोडछन् र ती मूर्तीलाई जोतेको खेतमा बिसर्जन गरिन्छ।
बहिनीले भाइलाई चिउरा, दही, मिष्ठान्न, सखरको भोजन गराउँछन्। सामा–चकेवा पर्वलाई भाइबहिनीबीचको अगाध प्रेमको प्रतीकको रूपमा लिइन्छ।
पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको मैथिलीका साहित्यकार एवं सञ्चारकर्मी श्यामसुन्दर शशीले बताए।
यस्ता लोक पर्वहरूलाई जगेर्ना गर्नसके मधेसको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले चासो देखाउनु आवश्यक रहेको शशी बताउँछन्।
यस्तो छ सामा–चकेवा पर्वको प्रचलित मान्यता
पद्म पुराणमा उल्लेख भएअनुसार सामा–चकेवा पर्व मनाउनुको पछाडि एउटा कथा छ। श्यामा र वृन्दावनका एक कुमार चारुवक्य मायाको बन्धनमा बाँधिएका हुन्छन्।
राज्यका महासामन्त चुडक पनि श्यामालाई प्रेम गर्दछन्। तर श्यामाले अस्वीकार गरिदिँदा चुडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झुटा कुरा सुनाइदिन्छन्।
कृष्णले आफ्नी छोरी श्यामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने श्राप दिन्छन्। चारुवक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चखेवा बन्न पुग्छन् र दुवै प्रेमी चखेवाचखेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन्।
यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुवक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन्।
श्यामाले चरी बन्ने श्राप पाएपछि चुडकको नाम फेरेर चुगला राखीदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनी दिएको श्रापबाट रिसाएर चुडकले वृन्दावनमै आगो लगाइदिन्छन्।
आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ। आँधीका कारण एउटा रुख ढल्दा चूडक किचिएर मर्छन्।
त्यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुवक्यलाई पुनः मनुष्य बनाइदिन्छन्।
सोही दिनदेखि सामा चकेवाको पर्व मनाउन थालिएको प्रचलित मान्यता छ। (न्युज एजेन्सी नेपाल)
तस्बिरमा हेर्नुस् मिथिलाञ्चलमा सामा–चकेवा पर्वको झलक–
Shares
प्रतिक्रिया