ad ad

मधेस


छठ पूजाका सामग्रीले भरिए जनकपुरका जलाशय किनार (तस्बिर)

छठ पूजाका सामग्रीले भरिए जनकपुरका जलाशय किनार (तस्बिर)

नेपालखबर
मंसिर ३, २०८० आइतबार १६:१४, जनकपुर

सूर्यको आराधना, उपासना र पूजा गरी आज छठ पर्व मनाइँदैछ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ। जनकपुरमा छठका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरीलगायत जलाशय किनारमा बनाइएका छठ घाटमा पूजा सामग्रीसहित भक्तजन पुगेका छन्।

पूजा सामग्रीले जलाशय किनार भरिएका छन्। छठ घाट विशेष रूपमा सजाइएको छ। श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ।

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यदेवलाई चढाइन्छ। भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ।

व्रतालुहरू छठको पूजा गर्दा मनोकांक्षा पूरा हुने बताउँछन्। नरिवल, केरा, ठेकुवा लगायतका फलफूल र मिष्ठान्नद्वारा सूर्यदेवको पूजा गरिने व्रतालु बताउँछन्।

मनमा संकल्प गरी परिवारको कल्याण, रोगको निवारण आदिका लागि सूर्यदेवको पूजा गर्ने गरेको उनीहरूको भनाइ छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ। पूजा गर्नाले परिवार तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .