मधेस


हसिना खातुनको शंकास्पद मृत्यु प्रकरण: जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन

हसिना खातुनको शंकास्पद मृत्यु प्रकरण: जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन

नेपालखबर
चैत ५, २०८२ बिहिबार २१:५१, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाकी हसिना खातुनको शंकास्पद मृत्यु भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका छन्।

आफन्त तथा अधिकारकर्मीहरूको सहभागितामा मृतकका माइती पक्षले प्रदर्शन गरेका हुन्। उनीहरूले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले ‘हत्या गर्नेहरूलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’ जस्ता नाराबाजी समेत गरेका छन्। 

हसिना खातुन गत फागुन १३ गते आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि घर पक्षले आत्महत्या गरेको दाबी गर्दै आएको छ भने माइती पक्षले भने दाइजोको विवाद र पारिवारिक तनावका कारण हत्या गरिएको आरोप लगाउँदै आएका छन्।

प्रदर्शनमा सहभागी मृतककी भाउजु लिखत प्रविणले हसिनाको हत्या उनका श्रीमान शहनवाज शेष (मुन्ना), सासु र ननदको मिलेमतोमा भएको दाबी गरेकी छन्।

‘दाइजोको नाममा पटक पटक दबाब दिइन्थ्यो, साथै श्रीमानको अन्य महिलासँग सम्बन्धका कारण अर्को विवाह गर्ने योजनामा मेरी ननदलाई मारियो,’ संचारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्।

उनका अनुसार करिब दुई वर्षअघि ८ लाख रुपैयाँ खर्च गरेर हसिनाको विवाह गरिएको थियो। विवाहपछि समेत थप रकम माग्ने र मानसिक दबाब दिने क्रम जारी रहेको आरोप माइती पक्षले लगाएको छ।

यता, प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै मृतकका श्रीमान शहनवाज शेषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ। तर, पीडित पक्षले भने घटनामा संलग्न भनिएका अन्य सदस्यहरू सासु र ननदलाई समेत तत्काल पक्राउ गर्न माग गरेका छन्। 

सबै पक्षको बयान, प्रमाण संकलन तथा पोस्टमार्टम रिपोर्टको अध्ययन गरी निष्कर्षमा पुग्ने जिप्रका धनुषाका प्रवक्ता गणेशबहादुर बमले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad