मधेस प्रदेशमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन, निर्वाचन भाँड्ने गतिविधि हुन दिन तथा निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पनन गर्न सुरक्षा व्यवस्था कडा पारिएको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा व्यवस्था योजनाबद्ध तरिकाले अघि बढाइएको जानकारी दिँदै मधेस प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डीआईजी गोविन्द थपालियाले प्रदेशसँग जोडिएका नेपाल– भारत सीमाक्षेत्र सहित विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर विशेष निगरानी भइरहेको जानकारी दिए।
प्रदेशका आठवटै जिल्लाका मतदान केन्द्रहरूको सुरक्षा सन्दर्भमा अनुगमन तथा निरीक्षण भइसकेको सो कार्यालयले जनाएको छ।
निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा निर्वाचन प्रहरीसहित ५० हजारभन्दा बढी सुरक्षाकमी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले जानकारी दिएका छन्।
निर्वाचन सुरक्षा व्यवस्था तयारी पूरा भइसकेको जानकारी समेत उनले दिएका छन्। उनका अनुसार प्रत्येक मतदानस्थल र केन्द्रको अनुगमन कार्य सम्पन्न भइसकेको छ र आज साँझदेखि प्रहरी बुथमा पुग्ने, बुथ जिम्मा लिएपछि प्रहरीले सूचना टाँस गर्ने, चार किल्ला गर्ने, सम्बन्धित मतदानस्थल–केन्द्रसहित सो वरिपरि समेत परिचालन गर्ने कार्य गरिनेछ।

निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले मधेस प्रदेशका ८ जिल्लामा चार जना एसएसपी खटाएको छ। उनीहरूले आ–आफ्नो जिल्लाको जिम्मेवारी सम्हाल्नेछन्। मधेस प्रहरीका प्रवक्ता समेत रहेका एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल, संघीय प्रहरी कार्यालय वीरगञ्जका प्रमुख एसएसपी शान्तिराज कोइराला र सुरेश काफ्लेलाई निर्वाचन पूर्व सुरक्षा अवस्था मूल्यांकन र योजना निर्माणका लागि खटाइएको हो।
थापालाई धनुषा, महोत्तरी, दाहाललाई सिरहा, सप्तरी, कोइरालालाई बारा, पर्सा र काफ्लेलाई रौतहट र सर्लाहीको जिम्मेवारी दिइएको छ। मधेसका सबै जिल्लामा एसपीले सुरक्षा कमान्ड गर्छन्। सिरहा, सर्लाही, रौतहट र पर्सा बढी सुरक्षा चुनौती भएका जिल्ला मानिएका छन्। यी जिल्लामा प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक तनाव र अघिल्ला निर्वाचनका घटनाले सुरक्षा चुनौती बढाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मधेस प्रदेशमा दुई हजार १६० मतदान स्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा छन्। प्रदेशमा भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील छन्। त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध तरिकाले तयारी गरिएको प्रवक्ता थापाले बताए। प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अतिसंवेदनशील वर्गाीकरण गरी सुरक्षा व्यवस्था गरिएको उनले जानकारी दिए।
मधेस–प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये एक हजार २४६ मतदान स्थल अतिसंवेदनशील अवस्थामा रहेको, ७५५ मतदानस्थल संवेदनशील अवस्थामा रहेको तथा १५९ मतदान स्थल सामान्य अवस्थामा रहेको बताइएको छ। सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदान स्थल अतिसंवेदनशीलको सूचीमा छन्।
त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोतरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ।
मधेस प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र रहेको जनाइएको छ। निर्वाचनमा प्रदेशमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रगरी एक हजार २८ जना उम्मेदवार छन्।
प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन्। जसमा पुरुषको संख्या १९ लाख पाँच हजार ८१९ तथा महिलाको संख्या १६ लाख ११ हजार ३०४ छ।
Shares

प्रतिक्रिया