मधेस प्रदेशका विभिन्न ७ वटा वडामा मतदान भइरहेको छ।
स्थानीय तहको उपनिर्वाचन अन्तरगत मधेश प्रदेशका ४ जिल्लाका ७ वडामा मतदान भइरहेको हो।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका पदका लागि मतदान भइरहेको छ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा २७ सय ५१, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा २७ सय ७ र राजपुर नगरपालिका वडा नम्बर ६ मा २५ सय ६६ मतदाता रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार रौतहटमा दिउँसो १ बजेसम्म झन्डै ६० प्रतिशत मत खसिसकेको छ।

रौतहटमा तीनवटा वडाको पाँच स्थानमा ९ वटा मतदान केन्द्र रहेको छ।
जिल्ला निर्वाचन अधिकारी दासका अनुसार बेलुका ६ बजेको लागि सर्वदलीय बैठक राखिएको छ। ५ बजे सबै वडाको मतदान सकिएपछि ६ बजे सर्वदलिय बैठक बस्ने र ८ बजेबाट मतगणना सुरु गरिने दासले जानकारी दिए।
कुनै विवाद नभएमा राती १२ बजेसम्ममा नतिजा आइसक्ने उनको भनाइ छ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा पनि वडा अध्यक्ष पदका लागि मतदान भइरहेको छ।

यस वडामा तीनवटा मतदानस्थलमा चारवटा मतदान केन्द्र रहेको छ। यस वडामा ३६ सय मतदाता रहेका छन्।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
५ बजे मतदान सकिएपछि साढे ५ बजेसम्म मतपेटिका प्राप्त हुने र मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेकै स्थानमा गणना सुरु गर्ने तयारी रहेको खड्काले जानकारी दिए।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ५ मा पनि वडा अध्यक्ष पदका लागि मतदान भइरहेको छ।
वडा नम्बर १ का अध्यक्ष प्रितम लाल चौधरी र वडा नम्बर ४ का अध्यक्ष हरिप्रसाद रायको निधनपछि यहाँ उपनिर्वाचन भएको हो।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको नगरपालिका प्रमुख रामलखन मलाहले जानकारी दिए। खेतीपातीको समय भएपनि मतदाताहरू उत्साहपूर्ण रुपमा मत खसाल्न आइरहेका मलाहले बताए।
वडा नम्बर एकमा २६ सय २३ मतदाता रहेका छन्। वडा अध्यक्षका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा छन्। दुईवटा मतदानस्थलको तीन केन्द्रमा मतदान भइरहेको छ।

१३ सय १९ मतदाता रहेको वडा नम्बर ४ मा करिब ४ सय मत खसेको छ। यहाँ एउटा मतदानस्थलको दुईवटा केन्द्रमा मतदान भइरहको छ। यहाँ पनि ८ जना उम्मेदवार अध्यक्षको प्रतिस्पर्धामा छन्।
डाक्नेश्वरीका २ वडामा साँझ ५ बजे मतदान सकिएपछि दलहरूबीच सहमति गरेर आजै राति ८ बजेबाट मतगणना सुरु गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको छ।

Shares

प्रतिक्रिया