मधेस


महोत्तरीका १० पालिकाका विद्यालय बन्द

महोत्तरीका १० पालिकाका विद्यालय बन्द

फाइल तस्बिर : तराईमा पर्ने सर्लाहीको हरिवनमा लागेको हुस्सु


नेपालखबर
पुस २०, २०७९ बुधबार ६:३०, काठमाडौँ

पन्ध्रवटा पालिका रहेको महोत्तरी जिल्लाका १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ। 

दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले बताए। 

उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मनरासिस्वा नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, भङ्गहा नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र पिपरा गाउँपालिकाले आफ्ना सबै सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।

अविरल रूपमा बहिरहेको चिसो स्याँठ र तपतप गर्दै चारैतिर शीतवर्षा भइरहेका कारण असहनीय जाडो भएपछि दशवटै पालिकाले आउँदो एक साताका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्। साथै केही पालिकाले मौसममा सुधार नआएमा पुनः बिदा थप गर्नेसमेत जनाएका छन्। 

मौसममा अचानक आएको परिवर्तनपछि जिल्लाका १५ पालिकामध्ये १० पालिकाले बालबालिकाको जीउ, ज्यान तथा स्वास्थ्यलाई विचार गरी मंगलबारदेखि लागू हुने गरी सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेका छन् भने अन्य पालिकाले पनि आआफ्ना नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेको बुझिएको छ। 

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख सुवेदीका अनुसार महोत्तरी जिल्लाका १५ वटा पालिकामा जम्मा तीन सय २३ वटा सामुदायिक विद्यालय छन् भने अहिले अचानक जिल्लामा सुरु भएको शीतलहरका कारण करिब दुई सय विद्यालयमा अचानक पठनपाठन बन्द गरिएको हो। 

उनले जिल्लाका विद्यालयले वर्षे तथा बाँकी रहेको बिदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई हुनसक्ने क्षति तथा दैवी प्रकोपलाई विचार गर्दै तत्काललाई विद्यालय बन्द गरेको जानकारी दिए। जिल्लाका पाँचवटा पालिकाका विद्यालयमा अझै पनि नियमित पठन पाठन जारी रहेको उनले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad