स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने तय भएकामध्ये रुपन्देहीका आधाजसो क्याम्पसमा मतदान भएको छ। पश्चिम क्षेत्रकै ठूलो र पुरानो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा पनि बिहानैदेखि मतदान भइरहेको छ। बहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु चुनावअन्तर्गत मतदान भएको हो। यसअघि २०६५ को स्ववियु चुनावमा मतदान भए पनि मतगणनाका क्रममा मतपत्र च्यातिएपछि नतिजा आएको थिएन।
२०७३ सालमा मनोनयनका क्रममा विवाद भएपछि स्ववियु चुनाव हुन सकेको थिएन। आज विद्यार्थीहरु उत्साहपूर्वक चुनावमा सहभागी भएका छन्। बहुमुखी क्याम्पसको गेटमा उमेदवार तथा विद्यार्थीहरुले आआफ्ना पक्षमा मत मागिरहेका छन्।
सुरक्षा व्यवस्था पनि कडा पारिएको क्याम्पस प्रशासनले जनाएको छ। बहुमुखी क्याम्पसको चुनावप्रति जिल्ला तहदेखि केन्द्रीय नेताहरुको पनि चासो बढेको छ। पूर्व स्ववियु पदाधिकारी तथा पूर्व विद्यार्थी नेताहरुको पनि क्याम्पसमा चहलपहल छ। हाल एमाले पोलिट्ब्युरो सदस्य रहेका ०४९ सालका स्ववियु सभापति खिमलाल भट्राइ पनि बहुमुखी क्याम्पसको चुनाव नियाल्न पुगेका थिए।
लगातार अनेरास्ववियुले जितिरहेको बहुमुखी क्याम्पसमा यो पटक कसका पक्षमा नतिजा आउला भन्ने हिसाबकिताब पनि गरिरहेका थिए।
बुटवल बहुमुखीबाहेक रुपन्देहीका सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, कञ्चनको हरैया बहुमुखी क्याम्पस, देवदहको देवदह आदर्श, शुद्धोधनको यज्ञोदय दुधनाथ र सियारीको छपिया जनता कलेजमा मतदान भइरहेको छ।
चुनाव हुने तय भएका अन्य कतिपय क्याम्पसमा भने मनोनयन दर्तासमेत हुन सकेन। बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, तिलोत्तमाको राममणी क्याम्पस, गिर्वाण संस्कृत क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, ओमसतियाको पक्लिहवा कृषि क्याम्पसमा विद्यार्थी संगठनहरुले ताला लगाएका कारण मतदान हुन सकेन।
प्रतिक्रिया