फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासी पश्चिमका दुवै निर्वाचन क्षेत्रमा जित हासिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्विप’ गरेको छ।
जिल्लाका दुवै क्षेत्र १ र २ मा रास्वपाका उम्मेदवारले ठुलो मतान्तरसहित विजय हासिल गरेका हुन्।
निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनाल ४५ हजार २४१ मतसहित विजयी भए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिनोद कुमार चौधरी ले ९ हजार ५०२ मत प्राप्त गरे।
नेकपा एमालेका रामप्रसाद पाण्डे ले ७ हजार ९५६, जसपा नेपालका हृदयेश त्रिपाठीले ७ हजार ८३२, राप्रपाका नवनित मिश्र ले १ हजार ५९३, नेकपाका सिन्धु जलेसा ले १ हजार ५६ र नेपाल कम्युनिस्ट पार्टीका राजु हरिजनले ७५१ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा कुल ८२ हजार १०७ मत गणना भएकोमा ५ हजार १८ मत बदर भएका छन् भने ७७ हजार ८९ मत सदर भएको छ।
खनालले निकटतम प्रतिस्पर्धी चौधरीलाई झण्डै ३५ हजार ७३९ मतान्तरले पराजित गरेका छन्।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत थापा ले १५ हजार ९४५ मत पाए।
जनता समाजवादी पार्टीका देवेन्द्र यादव ले ७ हजार २१२, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधान ले ४ हजार ६९१, नेकपा एमालेका लेखनाथ खरेल ले ४ हजार ३११, नेकपाका देवेन्द्र पौडेल ले १ हजार ८३८ र जनमत पार्टीका जीवन मल्लाहले १ हजार ६४ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर २ मा कुल ८८ हजार ९१५ मतगणना भएकामा ५ हजार ४५९ मत बदर भएका छन् भने ८३ हजार ४५६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यससँगै नवलपरासी पश्चिमका दुवै क्षेत्रमा रास्वपाले आफ्नो पकड बलियो बनाएको छ।
Shares

प्रतिक्रिया