लुम्बिनी


भारत र पाकिस्तानलाई हामीले बुद्धका सन्देशअनुसार संयम हुन आग्रह गर्‍यौँ: प्रधानमन्त्री

भारत र पाकिस्तानलाई हामीले बुद्धका सन्देशअनुसार संयम हुन आग्रह गर्‍यौँ: प्रधानमन्त्री

रिया क्षेत्री
बैशाख २९, २०८२ सोमबार १२:३१, रुपन्देही

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको समग्र विकासमा संघीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

२५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभा हलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई ‘विश्व शान्तिको केन्द्र’ र ‘ध्यान साधनाको थलो’का रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नेुपर्ने बताए।

समारोहमा प्रधानमन्त्री ओलीले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै यसको कार्यान्वयनमा सरकार दृढ रहेको बताए।

‘लुम्बिनी एक धार्मिक स्थल मात्र होइन, यो शान्ति, करुणा र मानवताको प्रतीक हो। यसलाई विश्व बौद्ध तीर्थ केन्द्र बनाउने हाम्रो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले गौतम बुद्धका उपदेशहरू आजको अशान्त र द्वन्द्वग्रस्त विश्वमा अझ बढी सान्दर्भिक रहेको बताए।

‘बुद्धका शिक्षाहरू-  शान्ति, सहिष्णुता, करुणा र मानवताको मुल आधार हुन्,’ उनले भने, ‘यी मूल्यहरू आत्मसात् नगरी विश्वमै शान्ति सम्भव छैन।’

भारत–पाकिस्तानबीच हालै उत्पन्न तनावको सन्दर्भ प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले नेपालले संयमित व्यवहार र संवादमार्फत समस्या समाधानको आग्रह गरेको उल्लेख गरे। ‘हामीले बुद्धका सन्देशअनुसार संयम र संवादको मार्ग रोज्न आग्रह गर्‍यौँ,’ उनले भने।

प्रधानमन्त्रीले बुद्ध दर्शनको गहिरो अध्ययन, अनुसन्धान र प्रचारप्रसारका लागि स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशेष रूपमा उल्लेख गर्दै यस संस्थाले विश्वभर बुद्धका विचार फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले विश्वविद्यालयमार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत बुद्ध दर्शन अध्ययन गर्न आकर्षित गर्न सकिने धारणा राखे। भिक्षु आनन्दप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री ओलीले त्रिपिटकलाई भोजपत्रमा लिपिबद्ध गरी सुरक्षित राखिएको ऐतिहासिक कार्यको स्मरण गरे।

‘त्रिपिटकको पहिलो लिपि अहिले पनि लुम्बिनी संग्रहालयमा सुरक्षित छ, जुन हाम्रो ऐतिहासिक र धार्मिक सम्पदाको जीबित उदाहरण हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूले शान्ति, करुणा र अहिंसाको प्रचारमा खेलेको भूमिकाको प्रशंसा गर्दै आजको समाजलाई पनि ती मूल्यहरू व्यवहारमा उतार्न प्रेरित गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘हामी सबैले मैत्रीभाव, करुणा र अहिंसाको मार्ग अँगाल्नु आजको आवश्यकता हो,’ उनले भने।

प्रधानमन्त्रीको सम्बोधनपछि समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, सासंदहरु , बिभिन्न देशका प्रतिनिधि , राजदूतहरू, भिक्षु, भिक्षुणी, उपासक-उपासिका, बुद्ध अनुयायीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad