बुद्ध जन्मस्थल लुम्बिनीमा कथावाचनलाई लिएर उत्पन्न विवाद साम्य भएको छ।
विवाद साम्य भएसँगै भारतीय सन्त मोरारी बापुद्वारा कथा वाचन शुरु भएको छ। लुम्बिनी विकास कोषमा मंगलबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा बसेको बैठकले चार बुँदे सहमति गरेसँगै विवाद साम्य भएको हो।
बैठकमा लुम्बिनी गुरुयोजना बमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मोरारी बापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र परामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन्।
यस्तै, माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने सहमतीपत्रमा उल्लेख गरिएको छ।
यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ।
लुम्बिनीमा सञ्चालनमा भएको राम कथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने, उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति भएको छ।
यसैबीच राम कथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा आजबाट प्रवचन सुरु भएको छ। प्रवचन शुभारम्भमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही निर्वाचन क्षेत्र न ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, प्रदेशसभा सदस्य सिके गुप्ता, अर्का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
नौ दिनसम्म चल्ने प्रवचनमा भारतलगायत विश्वभरका दुई हजार बढी भक्तजन लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए।
प्रवचनले लुम्बिनीको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।
Shares
प्रतिक्रिया