ad ad

लुम्बिनी


बुटवलमा यस्तो बन्दै छ स्थायी प्रदर्शनी केन्द्र

निर्माणाधीन अवस्थामै महोत्सव हुँदै
बुटवलमा यस्तो बन्दै छ स्थायी प्रदर्शनी केन्द्र

तस्बिर : सुदीप भण्डारी/नेपालखबर


सुदीप भण्डारी
पुस ७, २०७९ बिहिबार ११:५४, बुटवल

बुटवलमा स्थायी प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ। बुटवल मण्डपमा केही महिनाअघि उद्घाटन भएको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रनजिकै आधुनिक प्रदर्शनी केन्द्र निर्माण भइरहेको हो। 

आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको प्रदर्शनी केन्द्रको अहिलेसम्म ७० प्रतिशत काम भएको आयोजना प्रमुख धर्वेन्द्र पन्थीले बताए।

‘अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत भएको छ’, उनले भने, ‘केही मेट्रियल विदेशबाट ल्याउनपर्ने भएकाले ढिलाइ भएको छ। एकतिहाइ जस्ता आएको र अरु भन्सारमै छ। एसी, मार्बल, ग्रेनाइट लगायतका फिनिसिङका सामान बाहिरबाट ल्याउनुपर्छ।’

२०७६ वैशाखमा ठेक्का सम्झौता भई प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएको थियो। सुरुको सम्झौताअनुसार २०७८ साउनमा सकिनुपर्ने थियो। काम नसकिएपछि १४ महिना म्याद थपिएको छ। सुरुमा रुख काट्न समय लागेको र पछि कोरोना संक्रमणका कारण ढिलाइ भएको आयोजना प्रमुख पन्थीले बताए। 

काठमाडौंको भृकुटीमण्डपपछि बुटवलमा सरकारी स्तरबाट प्रदर्शनी केन्द्र निर्माण भइरहेको हो। तर भृकुटीमण्डपको भन्दा बुटवल मण्डपमा निर्माण भइरहेको प्रदर्शनी केन्द्र ठूलो र आधुनिक छ। 

प्रदर्शनी हलभित्र एकैपटक १० हजारले अवलोकन गर्न सक्नेछन्। यहाँ फोल्डेबल पार्टेसन पनि हुने छ। यसबाट आवश्यकताअनुसार हललाई तीनवटा खण्डमा विभाजन गर्न पनि सकिने आयोजना प्रमुख पन्थीको भनाइ छ। 

‘ठूला मेला महोत्सवका लागि सिंगो हल प्रयोगमा आउँछ। केही साना तथा वस्तुगत प्रदर्शनी आयोजनाका लागि पार्टेसन गरेर थोरै ठाउँ उपलब्ध गराउन पनि सकिन्छ’, उनले भने। प्रदर्शनी हलबाहेक फुड कोर्ट, २५० जना अट्ने मिटिङ हल, मेला तथा प्रदर्शनी आयोजकले सचिवालय राख्न सक्ने बिजनेस रुम, सामान राख्न मिल्ने ३० वटा सटरसहितको वेर हाउसको पनि व्यवस्था छ। 

नजिकैको अन्तराष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्रका लागि संयुक्त पार्किङ स्थलको व्यवस्था छ। जहाँ ४ सय वटा मोटरसाइकल र ४ सय वटा गाडी पार्किङ गर्न सकिन्छ। 

प्रदर्शनी केन्द्र बनिरहेको बुटवल मण्डप मेला, महोत्सव र प्रदर्शनी आयोजना हुने ठाउँ हो। पुस महिनामा बुटवल मेला महोत्सवले तात्ने गर्छ। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले आलोपालो गरेर पुस महिनामा महोत्सव आयोजना गर्छन्।

पहिलोपटक २०४१ सालमा बुटवलमा औद्योगिक व्यापार मेला भएको थियो। २०५३ सालबाट प्रत्येक वर्षजसो मेला, महोत्सव र प्रदर्शनी निरन्तर आयोजना भइरहेका छन्। एक दशकभन्दा बढी समयदेखि बुटवल मण्डपमै मेला महोत्सव आयोजना गर्ने गरिएको थियो। 

मेला सञ्चालन गर्न अस्थायी संरचना निर्माण लाखौं रुपैयाँ खर्च लाग्ने गरेको भन्दै बुटवलमा विगतदेखि नै स्थायी प्रदर्शनी केन्द्रको माग भइरहेको थियो। जसअनुसार बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माण भएको हो। स्थायी प्रदर्शनी केन्द्र बनेपछि अस्थायी संरचना बनाउन खर्च पनि नहुने र हुरीबतास, वर्षाजस्ता मौसम प्रतिकूलताको समस्या नहुने व्यावसायिक संस्थाको आशा छ। 

निर्माणाधीन संरचनामै यो वर्ष बुटवलमा महोत्सव हुँदै छ। रुपन्देही उद्योग संघको आयोजनामा पुस ७ गते बिहीबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव सुरु हुने भएको हो। प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। 

१९ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० सय स्टल रहने छन्। यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए। 

विगतमा प्रदर्शनी आयोजना गर्दा खुला आकाशमुनि गर्नुपरेको र अहिले केही भए पनि राहात भएको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष तथा २०७४ को प्रदर्शनी संयोजक दिनेशराज रेग्मीले बताए। ‘पाइप र जस्ता प्रयोग गरेर हप्तौं लगाएर स्टल बनाउँथ्यौँ। मौसमले दुःख दिन्थ्यो’, उनले भने, ‘अहिले पानी परेमा केही सुरक्षित हुन्छ।’ 

रुपन्देही उद्योग संघका अध्यक्ष तथा अहिलेको प्रदर्शनी मूल आयोजक समितिका अध्यक्ष माधव पौडेलले प्रदर्शनी केन्द्रको संरचना पूरा बनिनसकेकाले अस्थायी संरचना तयार गर्दा जस्तै खर्च भएको बताए। 

‘प्रदर्शनी केन्द्र पूरा तयार हुँदा खर्च कम हुन्थ्यो। निर्माण भइरहेको समयमा खुला ठाउँमा आल्मुनियमको पार्टेसन बनाएर आयोजना गर्दै छौं’, उनले भने, ‘त्यसैले खर्च यो पटक पनि भएको छ। तर अन्य कतिपय कुरामा सहज भएको छ।’ 

आगामी वर्षमा महोत्सव आयोजना गर्दा खर्च कम हुन सक्ने पौडेलको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .