ad ad

लुम्बिनी


कपिवलवस्तु १ : चक्रपाणि खनाल अघि सर्दा दीपकुमार उपाध्यायको संसदीय यात्रामा ‘ब्रेक’

कपिवलवस्तु १ : चक्रपाणि खनाल अघि सर्दा दीपकुमार उपाध्यायको संसदीय यात्रामा ‘ब्रेक’

सुदीप भण्डारी
भदौ २७, २०७९ सोमबार ९:१७, बुटवल

कांग्रेस नेता दीपकुमार उपाध्याय २०४८ साल यता कपिलवस्तुको संसदीय क्षेत्रबाट लगातार उम्मेदवार छन्। ०४८ र ०५१ चुनाव जिते पनि ०५६ सालमा पराजित भएका थिए। ०६४ सालको चुनावबाट संविधान सभा सदस्य बने तर २०७० सालमा विजयी हुन सकेनन्। 

२०७४ सालको चुनावमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका चक्रपाणि खनाल बलदेवसँग उपाध्याय ९४६ मतले पराजित भएका थिए।

अघिल्लो पटक प्रतिस्पर्धी बनेका खनाल र उपाध्याय यो पटक एक अर्काका सहयोगी बन्नुपर्ने बाध्यता आइलागेको छ।

गठबन्धन हुने भएपनि सिट बाँडफाँड अहिलेसम्म नहुँदा कांग्रेस र माओवादी केन्द्र दुवै दलले आ–आफ्नो तर्फबाट उम्मेदवार सिफारिस गरेका छन्।

कपिलवस्तु क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट पहिलो नम्बरमा दीपकुमार उपाध्यायको नाम सिफारिस भएको छ। त्यसपछि क्रमश मेवालाल यादव, दुर्गाबहादुर केसी, अतहर कमाल मुसलमान रहेका छन्। तर, कांग्रेसले टिकट पाउने अवस्था आएमा दिपकुमार उपाध्याय नै उम्मेदवार बन्ने छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज कमलप्रसाद चुँदालीले कपिलवस्तु १ मा चुनावी तयारी पनि थालिसकेको बताए। ‘कि गठबन्धन नै नहोला यदी मुलुकमा गठबन्धन भयो भने माओवादी केन्द्रले १ नम्बर क्षेत्र पाउँछ,’ उनले भने, ‘गठबन्धनको लागि अघिल्लो पटक जितेको र वरिष्ठ नेताको संवेदनशीलतालाई पनि आधार बनाइएको छ। दुवै मापदण्ड अनुसार उहाँ नै गठबन्धनको उम्मेदवार बन्नुहुन्छ।’

सुरुमा माओवादी केन्द्रले यो क्षेत्रबाट खनालसहित पार्टीका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल चुँदालीको नाम सिफारिस गरेको थियो।

पछिल्लो पटक खनालको नै एकल उम्मेदवारी रहेको सिफारिसमा समेत परेका चुँदालीले बताए।

खनालको कपिलबस्तु १ संगै अर्घाखाँचीबाट पनि प्रतिनिधि सभाको उम्मेदवारको लागि सिफारिस परेको छ। त्यो जिल्लावासीले सम्झेर सम्मान मात्र गरेको र कपिलवस्तु बाटै उम्मेदवार बन्ने चुँदालीको भनाइ छ। 

गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणि खनाल कपिलबस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवार भएमा कांग्रेसका नेता दीपकुमार उपाध्यायको संसदीय प्रतिस्पर्धाको यात्राले तत्काल विश्राम लिन सक्छ। तर, पुन उनी सांसद बन्लान् या नबन्लान् त्यो समयले बताउने छ।

०७४ सालको चुनाव अघि उनी नेपालका लागि भारतीय राजदूत थिए। कार्यकाल बाँकी छँदै राजदूतबाट राजीनामा दिएर चुनाव लड्न आएका थिए। कांग्रेस नेता उपाध्यायले पार्टीले टिकट दिए उम्मेदवार बन्ने नत्र मरिहत्ते नगर्ने बताए। ‘म त एकदम साइलेन्ट बसेको छु। जनताले खबरदार नाइ भन्न पाउनुहुन्न भन्छन्।’ उनले भने, ‘केन्द्रमा गठबन्धनको प्रयास भइरहेकाे छ। पार्टीले जे निर्णय गर्छ त्यही सिरोधार्य गर्ने हो।’

कार्यकर्ताको इच्छा अनुसार टिकट पाए प्रतिनिधि सभामा उठ्ने नपाए समानुपातिकमा पनि नजाने उनले बताए। ‘समानुपातिकमा मेरो इच्छा नै छैन्, पद चाहिन्छ भन्ने छैन। हामीलाई भगवानले इज्जत दिएका छन् नाम दिएका छन्,’ उनले भने, ‘म अध्यात्मीक मान्छे नपाएपनि बाँचुन्जेललाई गुनासो छैन।’ 

०७४ सालमा एमालेको समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्र खनालले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए। कांग्रेसका उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए।

गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर १ मा वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि छ। 

कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएका थिए।  एमालेका वडाध्यक्षले २६ हजार ८२३ रहेको छ । त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको  ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ। 

स्थानीय निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा माओवादी केन्द्र जसपा पछि चौथो स्थानमा छ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि प्रकाश घिमिरेले १ नम्बर क्षेत्र कांग्रेसले पाएमा जित निश्चित भएको र माओवादी केन्द्रलाई परेमा गाह्रो हुने बताए। ‘माओवादी केन्द्रलाई एकदम गाह्रो छ । त्यो उहाँहरुलाई पनि फिल भएको छ।’ उनले भने। 

कपिलवस्तु १ मा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले जिल्ला इन्चार्ज बलराम अधिकारी र विश्राम थारुको नाम सिफारिस गरेको छ। पूर्व सभासद समेत रहेका बलराम अधिकारी नै उम्मेदवार हुने सम्भावना बलियो छ।

एमाले कपिलबस्तु जिल्ला अध्यक्ष डम्बर शर्माले गठबन्धनको बाबजुत पनि आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरे। ‘स्थानिय चुनाव पछि एमालेमा पार्टी प्रवेशका कार्यक्रम पनि बढेको छ। गतिविधिहरु पनि बढाएका छौं,’ उनले भने, ‘स्थानिय चुनावमा हामीलाई कमजोर देखायो होला । अब संसदीय चुनावमा त्यसो नहोला।’

क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रले पाउने सम्भावना भएपनि क्षेत्र नम्बर २ र ३ मा कांग्रेसकै उम्मेदवार बन्ने छन्। कांग्रेसबाट क्षेत्र नम्बर २ मा कांग्रेस लुम्बिनीका महामन्त्री सुरेन्द्र आचार्य र ३ मा अभिसेक प्रताप शाहको नाम उम्मेदवारको रुपमा सिफारिस भएको छ।

एमालेबाट क्षेत्र नम्बर २ मा बृजेशकुमार गुप्ता र ३ मा मंगलप्रसाद गुप्ताको नाम सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .