रुपन्देही एमाले उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा पूर्व उपमहासचिव घनश्याम भुसाल र गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको गृह जिल्ला हो।
अहिले तीनै जना संघीय सांसद छन्। पौडेल रुपन्देही २ र भुसाल ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्य हुन् भने खाँण समानुपातिक सांसद हुन्। तर खाँण यसपटक भुसालले जितेको क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर २ बाट विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस भएको छ। बालकृष्ण खाँणको पौडेलकै २ नम्बर क्षेत्रमा ५ जनासहित नाम सिफारिस भएको थियो।
तर उनले चुनाव लड्ने पक्का भएको क्षेत्र नम्बर ३ मा खाँण एकल सिफारिसमा परेका छन्।
आफ्नै पार्टीका उपाध्यक्ष पौडेल र कांग्रेसका नेता खाँण एकल रुपमा सिफारिस भएपनि भुसाल सर्वसम्मत सिफारिस हुन सकेनन्।
क्षेत्र नम्बर ३ मा भुसालसहित ४ जनाको नाम सिफारिस भएको छ। यो क्षेत्रबाट तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, दुर्गा भुसाल र सर्वजित शाहको नाम पनि सिफारिस भएको छ।
दुर्गा र सर्वजितको सम्भावना कमजोर भएपनि बासुदेव घिमिरे बलिया दाबेदार मानिन्छन्।
यस्तै, रुपन्देही ५ बाट एमालेको क्षेत्रीय कमिटीले खिमलाल भट्टराईलाई पनि उम्मेदवारको रुपमा एकल सिफारिस गरेको छ।
भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक हुन्। उनी अनेरास्ववियूका पूर्वअध्यक्ष समेत हुन्।
Shares

प्रतिक्रिया