ad ad

लुम्बिनी


दाङमा संसदीय निर्वाचन : पहिले सँगसँगै, अहिले आमनेसामने

शान्ता चौधरीदेखि कोमल वलीसम्म चुनाव लड्ने तयारी
दाङमा संसदीय निर्वाचन : पहिले सँगसँगै, अहिले आमनेसामने

सुदीप भण्डारी
साउन ३१, २०७९ मंगलबार १४:४, बुटवल

दाङ, नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला हो। त्यस्तै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि यही जिल्लाबाट चुनाव लड्ने गरेका छन्। 

२०७४ सालको संसदीय निर्वाचनमा यी दुई नेताले आफूलाई मात्र नभई एकअर्कालाई समेत मत मागेका थिए। जिल्ला मात्र नभई निर्वाचन क्षेत्र पनि दुवै जनाको एउटै हो। ५ वर्षअघि एमाले र माओवादी केन्द्र वाम गठबन्धन गर्दै चुनावमा होमिएका थिए। महराले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचन लडे भने पोखरेलले मुख्यमन्त्री हुने सर्तमा प्रदेशसभाको २ (क) बाट प्रतिस्पर्धा गरे।

२०७४ सालमा एमालेको समर्थनमा महराले ४० हजार ४२ मत पाएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत ल्याएका थिए।

प्रदेशसभा सदस्य पदमा लडेका पोखरेलले कांग्रेसका कमलकिशोर शर्मा घिमिरेलाई साढे ९ हजारको मतान्तरले हराएका थिए। 

चुनाव जितेर कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुख बने भने शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री। तर दुवै जना पूरा कार्यकाल अडिन सकेनन्। ५ वर्षअघि सँगसँगै चुनावी अभियानमा हिँडेका यी दुई नेता अहिले एकअर्काका प्रतिस्पर्धी बन्दै छन्।

शंकर पोखरेल प्रदेश सभा छाडेर प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा छन्। महराले पनि आफू जितेको क्षेत्रमा दोहोरिने प्रयासमा छन्। वर्तमान सत्ता गठबन्धनका ५ दलबीच चुनावी तालमेल हुँदा दाङ क्षेत्र नम्बर २ महराले पाउने निश्चितजस्तै छ। 

त्यसैले शंकर पोखरेल र कृष्णबहादुर महराबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।

दाङ क्षेत्र नम्बर २ मा घोराही उपमहानगरको वडा नम्बर ४, अनि ६ देखि १९ सम्मका वडा, तुलसीपुर उपमहानगरका १६ देखि १९ सम्मका वडा र बंगालाचुली गाउँपालिका पर्छन्। 

घोराहीका १५ वटा वडामध्ये नौ वटामा वडाध्यक्ष पद एमालेले जितेको छ। पाँच वटामा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएका छन्। 

यस्तै तुलसीपुरका चारवटा वडामध्ये दुईवटामा एमाले एउटामा कांग्रेस र एउटा स्वतन्त्र उम्मेदवारका उम्मेदवारले वडाध्यक्ष पद जितेका छन्।

बंगलाचुलीका आठवटा वडामध्ये एमालेले कुनै वडामा जितेको छैन भने कांग्रेस र माओवादी केन्द्रले चार÷चारवटा वडामा वडाध्यक्ष पद हात पारेका छन्।

यो क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा ३३ हजार ५९३ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवारहरूले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरूले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरूले २ हजार ९४२ मत पाएका छन्। 

वडाध्यक्षहरूले पाएको मत हेर्दा दाङ क्षेत्र नम्बर २ मा एमाले बलियो देखिन्छ। कांग्रेस र माओवादी केन्द्रको मत मिलाउँदा पनि एमाले एक्लैको लगभग हाराहारी देखिन्छ। एकीकृत समाजवादी समेत थपिँदा शंकर पोखरेललाई चुनाव जित्न केही मिहिनेत गर्नुपर्ने देखिन्छ।

गत स्थानीय तहको चुनावमा दाङका तुलसीपुर र घोराहीसमेत कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो। तर मेयर–उपमेयर पदसहित दुवै उपमहानगरमा एमालेले बहुमत वडा जितेको थियो।

जिल्लामा प्रदेशको राजधानी ल्याउनु, मुख्यमन्त्री हुँदा बढी बजेट आउनुलगायत कारण एमालेले स्थानीय चुनावमा दुवै उपमहानगरमा जितेको विश्लेषण गरिएको छ। अबको संसदीय चुनाव पनि जित्ने एमालेको दाबी छ। 

एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतले जतिसुकै दलबीच गठबन्धन भए पनि २ नम्बर क्षेत्रमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरे। ‘गठबन्धन हुँदा समेत २ वटा उपमहानगर हामीले जितेका हौं’, उनले भने, ‘५ दलीय मात्र होइन, ८ दल आए पनि २ नम्बरमा हामी सजिलै चुनाव जित्छौं। कुनै शंका छैन। चुनावी तयारी तीव्र पारेका छौं।’ 

तर माओवादी केन्द्रले भने गठबन्धनकै पक्षमा नतिजा आउने दाबी गरेको छ। नेकपा माओवादी केन्द्रका दाङ जिल्ला संयोजक सुवास पुनले आगामी चुनावलाई स्थानीय तहसँग तुलना गरेर नहुने बताए।  ‘छलफलका हिसाबले हेर्दा २ नम्बर क्षेत्र माओवादीले पाउँछ भन्ने चर्चा सुनिएको छ। त्यसो भएमा हामीले जित्न सक्छौं’, उनले भने, ‘स्थानीय चुनावमा पार्टीको भन्दा पनि व्यक्तिगत रूपमा कतिपय भोट गुमेको र थपिएको हुन्छ। त्यसैले स्थानीय तहको मतलाई आधार मानेर हुँदैन। अहिले गठबन्धनका दल एकआपसमा मिल्दा चुनाव जित्न गाह्रो छैन।’

दाङमा सत्ता गठबन्धनका दलबीच तालमेल हुँदा एकीकृत समाजवादीको पनि दाबी रहने छ।  ५ वर्षअघि एमालेबाट चुनाव जितेका दाङ क्षेत्र नम्बर १ का सांसद मेटमणि चौधरी र  ३ का सांसद हिराचन्द्र केसी दुवै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा छन्। यो पार्टीका तर्फबाट अहिले दुवै जना मन्त्रीसमेत छन्। दुवै क्षेत्र नपाए पनि कम्तीमा एउटा क्षेत्रमा एकीकृत समाजवादीले दाबी गर्नेछ। विशेषगरी १ नम्बर क्षेत्रमा मेटमणि चौधरीले दाबी गर्ने छन्। तर गत स्थानीय चुनावमा चौधरीको पार्टीले यो क्षेत्रबाट उल्लेख्य मत ल्याएन। 

यो क्षेत्रमा वडाध्यक्षहरूको मतका आधारमा नेपाली कांग्रेस अघि छ। एमालेबाट रेवतीरमण शर्मा घिमिरे, शान्ता चौधरी, गंगा  चौधरीमध्ये १ जनाले टिकट पाउन सक्नेछन्।

दाङ क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाका अधिकतर वडा र पश्चिम क्षेत्रका पालिका पर्छन्। यो क्षेत्रमा कांग्रेसबाट दीपक गिरि उम्मेदवार बन्ने सम्भावना छ। अघिल्लोपटक पनि उनै उम्मेदवार भएका थिए। एमालेबाट तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे र कोमल वलीबीच एक जनाले टिकट पाउने सम्भावना छ। गत स्थानीय चुनावमा वडाध्यक्षहरूका मतका आधारमा यो क्षेत्रमा एमाले अघि छ। तर गठबन्धनका दलबीच तालमेल भए एमालेलाई कठिन हुन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .