ad ad

लुम्बिनी


लुम्बिनी वाणिज्य क्याम्पसमा वर्ष दिनदेखि ताला

लुम्बिनी वाणिज्य क्याम्पसमा वर्ष दिनदेखि ताला

सुदीप भण्डारी
असार ३१, २०७९ शुक्रबार १२:५०, बुटवल

बुटवलको देबीनगरमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसमा प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि ताला लागिरहेको छ। २०७८ साउन ८ गते नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (छैटौं) र विप्लव निकट अखिल (क्रान्तीकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए।

त्यसबेला लगाएको ताला अझै खुलेको छैन। त्यसअघि पनि क्याम्पसमा पटक पटक ताला लागेको थियो। तालाबन्दीका कारण क्याम्पस प्रमुख तारानाथ उपाध्यायले लाइब्रेरिको कक्षबाट काम गरिरहेका छन्। 

क्याम्पस प्रमुखको कार्यकक्षसँगै सहायक क्याम्पस प्रमुख विष्णु जोशीको कार्यकक्ष, बीबीएम इन्चार्जको कार्यकक्ष र एमबीए प्रमुखको कार्यकक्षमा पनि ताला झुण्डिएको छ। 

लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयको रुपमा अघि बढ्न खोजेको छ। जस अन्तर्गत क्याम्पसले त्रिभुवन विश्वविद्यालयका कार्यक्रम छोडेर स्वायत्त शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। स्वायत्त कार्यक्रम अघि बढाउँदा बीबीएस र एमबीएसका कार्यक्रम हटाइएको छ। यो वर्ष यी दुई कार्यक्रम पठन पाठन भएको छैन। 

बीबीएसको ठाउँमा क्याम्पसले स्वायत्त कार्यक्रमको रुपमा सेमेष्टर प्रणालीको बीबीएम चलाएको छ। एमबीएसको ठाउँमा एमबीए एफ पठनपाठन गराएको छ। पहिलेदेखि पढाइ भइरहेका कार्यक्रम हटाएपछि ४ विद्यार्थी संगठन विरोधमा उत्रिएर एक वर्षअघि तालाबन्दी गरेका हुन्। तालाबन्दी पछि साउन २८ गते यी विद्यार्थी संगठनले क्याम्पसमा तोडफोड समेत गरेका थिए। यस बिचमा पटक पटक वार्ता भए पनि तालाबन्दी खुल्न सकेको छैन। 

लुम्बिनी वाणिज्य क्याम्पसका नेविसंघ इकाइ अध्यक्ष सुरज क्षेत्रीले पटक पटक वार्तामा बसेपनि प्रशासनले आफ्ना माग सुनुवाइ गर्न नखोजेको बताए। 

‘उहाँहरुले हाम्रा केही माग पुरा गर्ने आश्वासन दिनुहुन्छ तर कार्यान्वयन हुँदैन’ उनले भने। 

क्षेत्रीले मानित विश्वविद्यालयमा जानुपर्छ भन्नेमा सहमत भएपनि एक्कासी बीबीएस कार्यक्रम हटाउँदा आफूहरुले विरोध जनाएको बताए। 

‘हजार १५ सयले एकै पटक पढ्न पाउने, शुल्क पनि सस्तो भएको बीबीएस कार्यक्रम हटाइएको छ’  उनले भने, ‘गरिब जेहेन्दार विद्यार्थी पढाइबाट बञ्चित हुने हुन् कि भनेर हामीले तालाबन्दी गरेका हौं। हामीलाई जानकारी नगराइ एक्कासी क्याम्पसले निर्णय लियो।’ 

क्षेत्रीले मानित विश्वविद्यालयमा जाँदा नयाँ शैक्षिक कार्यक्रम सफल हुन्छ कि हुन्न भन्ने आशंका रहेको बताए। ‘यहाँको सर्टिफिकेटले यहाँ तथा अन्तर्राष्ट्रिय बजारमा कत्तिको मान्यता पाउँछ। पाठ्यक्रम बनाउने, परीक्षा सञ्चालन लगायतका सबै काम यहीँबाट हुँदा त्यस अनुसारका विज्ञहरु हुन्छन् कि हुन्नन् भन्ने प्रश्न पनि छ’ उनले भने। 

नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले बीबीएस हटाएकोमा विरोध गरेपनि एमाले निकट अनेरास्ववियु भने मानित विश्वविद्यालय र स्वायत्त कार्यक्रमकै पक्षमा छ। 

अनेरास्ववियु क्याम्पस इकाइका अध्यक्ष निरज आचार्यले मानित विश्वविद्यालयमै जानुपर्ने पक्षमा आफूहरु रहेको बताए। 
‘शुल्क घटाउने लगायतका अन्य मागमा हामीहरू एक छौं। क्याम्पसलाई स्वायत्त बनाउनुपर्छ, विश्वविद्यालय बनाउनुपर्छ भन्ने पक्षमा हामी छौं’ उनले भने।  

लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. तारानाथ शर्माले विद्यार्थीहरुसँग पटक पटक छलफल भइरहेको र अबको अन्तिम चरणको वार्ताबाट तालाबन्दी खुल्ने बताए। 

‘पटक पटक वार्तामा बसेका छौं। मानित विश्वविद्यालयको लागि उहाँहरु करिब सहमत हुनुभएको छ। अन्य केही माग छन्। त्यसको बारेमा अन्तिम चरणको वार्ता गरेर समस्या समाधान गर्छौं’ उनले भने। 

क्याम्पस प्रमुख उपाध्यायले बीबीएसको सट्टामा ल्याइएको नयाँ कार्यक्रम प्रभावकारी रहेको हुँदा त्यसलाई अघि बढाएको बताए।

‘बीबीएसको ठाउँमा बीएमएस भन्ने सेमेस्टेर कोर्ष छ। छिमेकी कलेजले धेरै शुल्क लिन्छन् तर हामीले हजार रुपैयाँ मासिक शुल्क राखेर सेमेष्टर कोर्ष चलाइरहेका छौँ’ उनले भने,  ‘पुरानो कोर्समा १७ सय विद्यार्थी भर्ना हुने र ३ सय जना मात्र पास हुने गर्दथे। त्यस्तो पद्धतीको पढाइ पठन पाठन गर्न हुँदैन भनेर एड्भान्स खालको यो कार्यक्रम ल्याएका हौँ।’

लुम्बिनी वाणिज्य क्याम्पस २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेको सामुदायिक क्याम्पस हो। २०६४ सालमा नेपालका ८ वटा सामुदायिक क्याम्पसहरुलाई ‘क’ श्रेणीको कलेज भनेर ग्रेडिङ भयो। लुम्बिनी वाणिज्य क्याम्पस पनि ‘क’ श्रेणीको कलेजमा ग्रेडिङ भएको थियो। २०६८ सालमा क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र प्राप्त गर्यो। 

त्रिविबाट स्वीकृत लिएर केही वर्षअघि नै स्वायत्त कार्यक्रमको रुपमा कलेजले बीबीएम चलाएको थियो। पछि बीबीएस हटाएर बीएमएस सुरु गरेको हो। 

क्याम्पस मानित विश्वविद्यालयको रुपमा अघि बढेको छ। विश्वविद्यालयका रुपमा अघि बढ्दा क्रमश त्रिविका कार्यक्रमहरु छोड्दै गएको छ। लुम्बिनी वाणिज्य क्याम्पस अहिले पूर्वाधार सम्पन्न छ। तर त्रिविले राम्रो संस्था विश्वविद्यालयबाट अलग नभए हुन्थ्यो भन्ने चाहेको छ।

गत शनिबार लुम्बिनी वाणिज्य क्याम्पसको व्यवस्थापन तथा विकास परिषदको बैठक बसेको थियो। उक्त बैठकमा सहभागी त्रिभुवन विश्वविद्यालयका रजिष्टार डा. पेशल दाहालले वाणिज्य क्याम्पसले त्रिविका कार्यक्रम छोड्दै गाएकोप्रति चिन्ता व्यक्त गरे। 

‘हामी चाहान्छौँ तपाँई जति सक्दो छिटो डिम युनिभर्सिटीमा जानुस्। जबसम्म जानुहुन्न तबसम्म धरातल त छोड्न भएन नि’ उनले भने, ‘पहिले त्यहाँ जानुपर्याे अनि मात्र यता छोड्नुपर्यो। एकातिर त्रिविका नियमित कार्यक्रम छोड्नुभयो। स्वायत्त मात्र छन्। भोलि त्रिविले व्यवस्थापन गर्नुपर्ने अवस्था आयो भने के गर्ने?’ 

सोही कार्यक्रममा त्रिवि व्यवस्थापन संकायका डिन डा. डिल्लीराज शर्माले नमुना क्याम्पस बनाउने नाममा एकैपटक दुई वटा डुंगामा खुट्टा राख्दा आउने समस्याप्रति सजक रहन अनुरोध गरे। 

‘हामीले हेर्दा कता कता दुईवटा डुंगामा खुट्टा राखेको हो कि। त्रिभुवन विश्वविद्यालयले गर्व गरेको क्याम्पस कतै तलमाथि पर्ने हो कि भन्ने चिन्ता पनि छ’ उनले भने, ‘एकातर्फ त्रिविका कार्यक्रम छोड्ने भोलि डिम युनिभर्सिटीमा जान नसक्ने हो कि?’ 

लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालयको लागि जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढाएको छ। विश्वविद्यालयको लागि २५ बिघा जग्गा आवश्यक पर्दछ। त्यसको लागि बुटवल उपमहानगरपालिका १२ मा रहेको चारपाला सामुदायिक वनको जग्गा लिने प्रक्रिया अघि बढेको छ।

नेपाल सरकारको मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्र जग्गा प्राप्ति हुन सक्छ।  क्याम्पस प्रमुख तारानाथ उपाध्यायले जग्गा प्राप्ति हुने बित्तिकै मानित विश्वविद्यालय घोषणा गर्ने बताए। 

‘जति छिटो जग्गा प्राप्ति हुन्छ त्यति छिटो विश्वविद्यालय घोषणा गर्छाैं। कानून बमोजिमका अरु कामहरु गरेर हामी तयारी अवस्थामा छौँ’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .