लुम्बिनी


उमेर ६१, कक्षा ५

उमेर ६१, कक्षा ५

रासस
असार २४, २०७९ शुक्रबार ७:५०, तुलसीपुर

 कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्।

कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ। 

दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ।

यसले सबैलाई खुसी तुल्याएको छ। बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै छन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन्।

रिमबहादुर सानोमा विद्यालय जान पाएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। उनले विद्यालयको अनुभूति गर्न पाएनन्।

कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन्।

'मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्‍यो', उनले भने, 'बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु।'

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउँछन्। 

'अरु भाइहरूलाई पढाउनमै व्यस्त रहेँ, घरको कामबाट कहिल्यै छुटकारा पाइएन' उनले भने।

रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भएका हुन्। त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन्।

'घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु', रिमबहादुरले भने 'दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु।' आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो।

भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनी बताउँछन्।

रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ। 'उमेरले पढ्न छेक्दो रहेनछ', रिमबहादुरले भने, 'त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad