त्यो सटर धेरै पहिलेदेखि खाली छ र त्यो अर्को पनि। त्यो पर्तिरको सटर पनि व्यापारै छैन भन्दैथियो; छाडेछ।
तर फेरि केही सटरवालाहरू फूलपातीको व्यापार घटेको कुरा गरे पनि चलिरहे झैँ देखिन्छन्।
दर्शनार्थीहरू मन्दिर आउन छाडेका छैनन्।
अझ वैदेशिक रोजगारीमा जानेहरूका लागि एकातिर भिसा प्राप्त गर्न स्वास्थ्य जाँच र अर्कातिर सफल तथा सुरक्षित यात्राका लागि मन्दिर जान र आशीर्वाद माग्न जरुरी ठानिन्छ। विदेश जानेकै अनुपातमा मन्दिरमा दर्शनार्थी पनि बढेकै छन्।
तर कोभिडयता धेरै सटरवालाले पसल छाडे, कयौँ छाड्ने तरखरमा छन्।
एउटा सुरवीर छ, जसले कहिल्यै निराशाजन्य सुस्केरा छाडेको छैन।
सुरवीर सार्वजनिक शौचालय अगाडि बस्छ र शौचालय प्रयोग गरेबापत पैसा उठाउँछ।
मन्दिरको दर्शनार्थीले फूलपाती किनोस्/नकिनोस्, शौचालयका बारेमा भने चासो राख्छ।
शौचालय जो जान्छ, उसले पैसा दिन्छ/दिनै पर्छ।
पहिलेपहिले सुरवीर शौचालयको सरसफाइ पनि गर्थ्यो। बिस्तार उसले बुझ्यो- 'यहाँ सरसफाइ नगरे पनि चल्छ।'
नगरे पनि चल्ने काममा उसले किन टाउको दुखाओस्!
यति बुझेको मितिबाट सुरवीरले सरसफाइका लागि हार्पिक, फिनेल र झाडुसाडु किन्दा हुने फजुल खर्च पनि बचाएको छ।
देश युगौँदेखि निर्माणको चटारोमा छ। यस्तो बेला ठेकदार, व्यापारी, उद्योगपति, कर्मचारी फजुल खर्चको पक्षमा को छ?
फजुल खर्च रोक्नु पर्छ।
Shares

प्रतिक्रिया