म फूलको कथा लेख्दै थिएँ, कतैबाट भुनभुनाउँदै एउटा भमरो आइपुग्यो। उसको सुनौलो पखेटा र चम्किलो आँखाले बगैँचालाई रङ्गीन बनायो। रातो गुलाबमा बसेर उसले मलाई हेर्यो, मानौँ मेरो मनको कथा पढिसकेको थियो। ‘ए लेखक!’ भमरोले हाँस्दै भन्यो, ‘फूलको कथा मेरो दिलमा बुनिएको छ, सुन!’
म छक्क परेँ। भमरोले कथा सुनाउन थाल्यो– जंगलको गहिराइमा एउटा रहस्यमयी सुनौलो फूल लुकेको थियो। जसको रस अमृतजस्तै थियो। तर, फूललाई काँडाहरूको सेनाले घेरेका थिए, जसले कसैलाई नजिकिन दिँदैनथे। भमरोको मन त्यो फूलको सुगन्धले लट्ठ भइसकेको थियो। उसले हिम्मत बटुलेर काँडाहरूसँग लड्यो, पखेटा च्यातिए पनि हार मानेन। निरन्तर लडिरह्यो।
फूलले भमरोको साहस देखेर आफ्नो हृदय खोल्यो र रसपान गराउन अगाडि बढ्यो। फूलको रसले भमरो नयाँ उमंगका साथ चम्कियो। फूलले पनि भमरोको स्पर्शमा नयाँ जीवन पायो। काँडाहरू, जो फूलको रक्षक थिए, भमरोको प्रेम देखेर नरम भए र बाटो छाडे। ‘हाम्रो प्रेम,’ भमरोले भन्यो, ‘जीवनको गीत हो, जुन हावामा बग्छ।’
भमरो भुनभुनाउँदै उड्यो। तर, उसको कथा मेरो मनमा बसिरह्यो। म कलम समातेर लेख्न थालेँ– फूल र भमरोको रोमाञ्चक प्रेम, साहस र अमरताको कथा, जसले बगैँचालाई सधैँ रङ्गीन बनाइरह्यो।
यसैबीच मलाई कविता फुर्यो– अनि म लेख्दै गएँ...
पर्खी बस्दा फेदैनेर, पात पन्छाई फूलले हेरिन्!
आँखा जुधे अनायासै, लजाउँदै घुम्टो बेरिन्!!
अनगिन्ती फूल थिए, एउटै बोटमा नानाथरि!
डाँठले भन्यो लैजाउ टिपी, तान बरु म झुक्नेछु!
उसको ठाउँमा बरु अर्को, कोपिला म फुलाउनेछु!!
पातहरू आफैँ हटे, फूलका लागि हात दिँदा!
काँडाहरू मुर्मुरिए, उनलाई टिपी हातमा लिँदा!!
स्पर्शमा मुलायम, मखमली र रेशम सरी!
निकैबेर हातमा लिई, घुरेँ उनलाई घरी घरी!!
उनको गन्ध टाढैसम्म, सुवासिँदै बहिदिँदा!
नजिक जान डराउँथेँ, काँडा बीचमा ठडिदिँदा!!
म पनि त भवँरै थिएँ, सुन्दरतामा लठ्ठ पर्ने!
प्रकृति कि रानी उनी, सबैतिर सुवास छर्ने!!
प्रकृति कि रानी उनी, सबैतिर सुवास छर्ने!!
भमरोको कथा सुनिसकेपछि मेरा आँखा बगैँचाको रङमा डुल्न थाले। रातो गुलाब, पहेँलो सूर्यमुखी र सेता चमेलीहरू सबैले मानौँ, भमरोको प्रेमकथा गुनगुनाइरहेका थिए। यो कथा केवल फूल र भमरोको मात्र होइन, यो हरेक त्यो मनको कथा हो, जसले काँडाहरूसँग लडेर पनि प्रेम र सुन्दरताको खोजी गर्छ।
भमरो फेरि फर्केर आयो। उसको पखेटामा सुनौलो रङ अझै चम्किरहेको थियो। उसले मलाई हेर्दै भन्यो, ‘लेखक! तिम्रो कथाले बगैँचालाई जीवन्त बनायो। तर याद राख, हरेक फूलमा एउटा कथा लुकेको हुन्छ र हरेक भमरोले त्यो कथा बोकेर उड्छ।’
त्यसपछि ऊ रातो गुलाबको फूलमा बस्यो र फूलले पनि उसलाई आफ्नो सुगन्धले अँगालो हाल्यो। बगैँचामा हावाको झोक्का चल्यो र फूलहरूको सुवासले वातावरण रङ्गीन बनायो। काँडाहरूले पनि अब रक्षा मात्र होइन प्रेमको बाटो खुला राख्ने वाचा गरे।
मैले मेरो कविता पूरा गरेँ, जसले फूल र भमरोको प्रेमलाई प्रकृतिको अमर गीतको रूपमा चित्रण गर्यो।
यो कथा बगैँचामा मात्र सीमित रहेन। हावासँगै टाढा-टाढा फैलियो, जहाँ हरेक फूलले आफ्नो भमरोलाई पर्खिरह्यो र हरेक भमरोले काँडाहरूलाई पार गर्दै प्रेमको अमृत खोजिरह्यो।
बगैँचा सधैँ रङ्गीबिरङ्गी भइरह्यो, किनकि प्रेम र साहसको कथा कहिल्यै मर्दैनथ्यो। कहिल्यै मर्दैनथ्यो।
(रत्नाखर काफ्ले ‘हिमालयन यात्रा’ हङकङमा बस्छन्)
Shares

प्रतिक्रिया