फाँसीवादी चरित्रका मान्छेहरू
धर्म र संस्कृतिको डम्फु बजाउँदै
होहल्ला गर्दैछन्
कठघरामा उभ्याइनु पर्नेहरू
खोक्रो राष्ट्रवादको नारा उठाउँदै
हामीलाई दिग्भ्रतिम पार्ने दाउ हेरी बसेको छन्।
हामीलाई थाहा छ
हामी कति प्रताडित थियौँ
हामीलाई बलिवेदीमा होम्दै
तिमी निरङ्कुशताको फलाको हाली
हामीलाई अङ्कुश लगाउन उद्यत थियौ
तिमीलाई के थाहा?
स्वतन्त्रता
मुक्ति
र न्याय
हामी स्वतन्त्रता, मुक्ति र न्याय प्राप्तिका लागि
सदियौँदेखि लडिरहेका थियौँ
तिम्रो कठालो समात्ने गरी
जातीय उत्पीडनले अधैर्य बनेका हामी
लैङ्गिक हिंसाले थलिएर
भाषाको पहुँच नहुँदा
भूगोलको परिभाषा नमिलेर
हामी पहिचानविहीन भएका थियौँ
सनातनी धर्मको फेरो समातेर
धर्मलाई विर्ता ठानी
तिमी धार्मिक विविधता माथि लात हानिरहेका थियौ।
तिमी पश्चगामी मुकुट पहिरिएर
प्रतिगमनको डोरी बाट्दै
सम्राट बन्ने सपना देख्न छाड
तिमीलाई खेल्ने ठाउँ दिएर
बैगुनीलाई गुन लगाएकै थियौँ।
तिमी त यातनागृहमा हुनु पर्ने
मृत्युको दिन गन्ती गर्दै
हाम्रो उदारतालाई
कमजोर आँकी
निर्बाध सवारी चलाएर
देश विदेश सयर गरिरहेकै छौ
आउरेबाउरेलाई जयजयकार गराएर।
तिम्रो मर्यादा खोस्न नपरोस्
आफ्नो हैसियत बिर्सिएर
लक्ष्मण रेखा नाघ्छौ किन?
तिमीलाई दानापानी र सुरक्षा दिएकै छ
तिमीले हापझाप गर्नु प¥यो किन?
एकान्तमा के मर्जी बक्सनु भयो कुन्नि
सुवेदी, गुरुङ, लिङ्देन, थापा र प्रसाईंहरू
रोइलो गाइ रहेछन्
तिम्रो नाम पुकारेर
यो बीसौँ शताब्दी हैन महासय
हामी त एक्काइसौँ शताब्दीमा पो छौँ
तिम्रो क्रूरता कोट्याई बस्ने फुर्सद कहाँ छ र?
तिम्रो पशुपतिनाथ
आर्यघाटमा झोक्राइ बस्छ
तिमी त्यही गँजडीको चरण परी
पूरा नहुने सपनाको खोजी गर्दै
भ्रमित सपना पाली
देशवासीका नाममा कथित सम्बोधन बक्सँदै
संवैधानिक दायरा मिच्छौ किन?
तिम्रो सम्बोधन
तिम्रा लागि
आत्मघाती गोल हुन सक्छ।
Shares

प्रतिक्रिया