साहित्य


लाठको अनुसन्धानमूलक खजाना ‘सीमान्त सम्झना’ लोकार्पण

लाठको अनुसन्धानमूलक खजाना ‘सीमान्त सम्झना’ लोकार्पण

नेपालखबर
चैत ३१, २०८१ आइतबार १२:२२, काठमाडौँ

चारवटा उपन्यास लेखिसकेका आख्यानकार गणेशप्रसाद लाठले पहिलो गैरआख्यानात्मक कृति सार्वजनिक गरेका छन्।

उनको 'सीमान्त सम्झना' नामक संस्मरण पुस्तक शनिबार कालिकास्थानस्थित नेपालयको आरशालामा लोकार्पण गरिएको छ।

पब्लिकेसन नेपालयको सार्वजनिकीकरण शैलीअनुरूप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ।

'पुस्तक कसलाई उपहार दिन चाहनुहुन्छ' भन्ने उद्घोषकको प्रश्नमा लेखक लाठले भने, ‘हाम्रो मधेसको नयाँ अध्येता अदीति साह र लेखक मोहन मैनालीलाई उपहार दिन चाहन्छु।’

कानुनकी विद्यार्थी अदीति साह र गत वर्ष मदन पुरस्कार प्राप्त कृति 'मुकाम रणमैदान'का लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटासहित लेखक लाठले पुस्तक लोकार्पण गरेका हुन्।

इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रूपमा चिनिन्छु तर म आज यहीँबाट एकमुष्ट रुपमा भन्न चाहन्छु– सीमान्त सम्झनाजस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भन् भने पनि म यो पुस्तक ज्ञानवर्धक र पठनीय छ भन्छु।’

वीरगन्जकै अर्का लेखक धच गोतामेको उपन्यास 'घामका पाइलाहरू'बाट आफ्नो मन्तव्य सुरु गरेका देवकोटाले 'सीमान्त सम्झना'ले सरदार भीमबहादुर पाँडेले लेखेको 'त्यस बखतको नेपाल'कै स्तरमा वीरगन्ज सहरको सामाजिक, आर्थिक इतिहास लिपिबद्ध गरेको बताए। उनले भने, ‘त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ।’

'सीमान्त सम्झना' पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे। उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएको, दर्जनौँ पुस्तक, लेखरचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरू पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना अनुसन्धानमूलक खजाना हो। एकेडेमीहरूले छाप्नुपर्ने किताब नेपालयले छापेकामा बधाइ छ।’

पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन्। ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन्। लाठ आध्यात्मिक साधक पनि हुन्।

आफूहरूले 'सीमान्त सम्झना'मा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रूपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए।

‘सीमान्त सम्झना शोधपत्र र सोचपत्र दुवै हो,’ सम्पादक आचार्यले भने, ‘लेखक गणेशप्रसाद लाठ एक जनाको मात्र नभएर पुस्तकमा धेरै जनाको भोगाइ समेटिएको छ, त्यसैले यो पुस्तक सामूहिक स्मृतिपुञ्ज र लोकइतिहास हो। सन्दर्भसामग्री, अनुसूची, कुराकानीसूची र तस्बिरसूचीले पुस्तक संग्रहणीय बनेको छ।’

'सीमान्त सम्झना'ले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास बताउने बताउँदै आचार्यले भने, ‘देशका हर परिवेशको इतिहास नआई देशको इतिहास पूरा हुँदैन।’

लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु म।’

हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका दर्शकदीर्घातिर हेर्दै उनले भने, ‘काठमाडौँले यसपालि मलाई बेग्लै माया र ऊर्जा दिएको छ।’

हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार आरसालामा पुस्तक लोकार्पण गर्दै आएको नेपालयले सन् २०२५ भरिका लागि पुस्तक लोकार्पण क्यालेन्डर तयार पारिसकेको कार्यक्रममा जानकारी दिइयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad