२०८० सालको पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले पाएका छन्।
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले मंगलबार एक समारोहमाझ काठमाडौँमा उक्त पुरस्कार माथेमालाई प्रदान गरिएको हो।
जापानका लागि पूर्वराजदूत, नागरिक समाजका अभियन्तासमेत रहेका माथेमालाई ‘समतामूलक समाज निर्माणका लागि समर्पित अथक शिक्षासेवी’ का रूपमा यो पुरस्कार अर्पण गर्न पाउँदा गौरवान्वित भएको प्रतिष्ठानका संस्थापक एवं अध्यक्ष जीवा लामिछानेले बताए।
२३ वर्षको उमेरदेखि नै त्रिचन्द्र कलेजमा पढाउन थालेका माथेमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुख पनि भएका थिए।
‘२०४७ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति रहँदा गुणस्तरीय शैक्षिक विकास र प्राज्ञिक स्वतन्त्रताको पक्षमा योगदान गरेका माथेमाले दलीय वफादारिता र भागबण्डालाई कहिल्यै प्रश्रय दिनुभएन,’ लामिछानेको भनाइ छ, ‘चार महान् सहिदमध्येका एक धर्मभक्त माथेमाकै परिवारको सदस्य भएकाले पूर्वउपकुलपति माथेमामा विद्रोही चेत पनि झल्कन्छ र शैक्षिक सुधारका पक्षमा उहाँको बोली र व्यवहार प्रखर रूपमा प्रकट भइरहेको हुन्छ। अहिले पनि हाम्रो दृष्टिमा उहाँ एक असल, कुशल, निर्भिक र सहृदयी ‘गुरु’ हुनुहुन्छ।’
३ लाख रूपैयाँ राशिको यो पुरस्कार यसअघि नेत्र चिकित्सक सन्दुक रूइतले प्राप्त गरेका थिए।
यस्तै सोही प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गरिएको छ भने नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय साहित्यिक अभियन्ताका रूपमा पवनकुमार चामलिङलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ। चामलिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री बनेका थिए।

Shares

प्रतिक्रिया