ad ad

साहित्य


‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ पुस्तक लोकार्पण

जसले मात्रिका कोइरालाको बजेट फेल गराएका थिए
‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ पुस्तक लोकार्पण

नेपालखबर
साउन २७, २०८१ आइतबार २०:३८, काठमाडौँ

‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ नामक पुस्तक लोकार्पण भएको छ। टंकप्रसाद आचार्यको सरकारमा मन्त्री भएका र पञ्चायतभित्र फरक विचार राखेर चर्चामा आएका खरेलबारेको पुस्तक आइतबार काठमाडौँको ठमेलमा एक कार्यक्रम गरी लोकार्पण गरिएको हो। 

खरेल वि.सं. १९८१ मा काभ्रेको खरेलथोकमा जन्मिएका थिए। उनले राजा त्रिभुवनले गठन गरेको दोस्रो सल्लाहकार सभाको सदस्य तथा टंकप्रसाद आचार्यको नेतृत्वमा गठित मन्त्रिमण्डलमा अर्थ–उपमन्त्री भएर काम गरेका थिए।  

खरेल युवा अवस्थामा पुग्दा देशभर राणाविरोधी अभियान सुरु भइसकेको थियो। नेपाल प्रजापरिषदको गतिविधि र पर्चामा लेखिएको उद्देश्यबाट प्रभावित भई उनी यस अभियानमा होमिएका थिए। 

वि.सं. २०११ साल वैशाख १ गते राजा त्रिभुवनले गठन गरेको दोस्रो सल्लाहकार सभा (१०६ सदस्यीय) मा खरेल सदस्यका रुपमा नियुक्त भएका थिए। ‘अन्तरिम शासन विधान–२००७’ अनुसार वि.सं. २००८ साल आश्विन १६ मा त्रिभुवनले गठन गरेको पहिलो सल्लाहकार सभा (३५ सदस्यीय) भन्दा दोस्रो सल्लाहकार सभा सक्रिय थियो। 

मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलले पेस गरेको बजेटमा त्रुटि देखाई खरेलले बजेट अस्वीकृत गर्न प्रस्ताव राखेका थिए। सल्लाहकार सभाको बहुमतले बजेट अस्वीकृत गरेर मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डललाई नै असफल पारिदिएको थियो। 

नेपाल प्रजा परिषदका अध्यक्ष टंकप्रसाद आचार्यको नेतृत्वमा २०१२ साल माघ १३ गते गठन भएको मन्त्रिमण्डलमा एक वर्षपछि (२०१३ साल माघ २३ मा) केही हेरफेर भयो, जसमा मन्त्री, राज्यमन्त्री र उपमन्त्रीहरू गरी ११ जना सदस्य थप भए। थप गरिएका मन्त्रीहरूमा रत्नप्रसाद खरेल अर्थ उपमन्त्री थिए। उनले २०१३ साल माघ २३ देखि २०२४ साल आषाढ ३१ सम्म, पाँच महिनाको अवधिमा अर्थ उपमन्त्रीको हैसियतमा काम गर्ने अवसर प्राप्त गरे। 

२०१५ सालको आम निर्वाचनमा खरेल पूर्व १ नम्बर क्षेत्रबाट भद्रकाली मिश्रको प्रजापरिषद् अन्तर्गत हलो चिन्ह लिएर उम्मेदवार भएका थिए। निर्वाचनमा नेपाल राष्ट्रिय परिषद् (राणाहरूको) का सुरेन्द्रप्रसाद उपाध्याय ५२०० मत ल्याएर विजयी भए। निर्वाचनमा नेपाली कांग्रेसबाट आशाकाजी वैद्य दोस्रो (२६७२ मत) तथा नेपाल प्रजा परिषद्बाट उठेका खरेल (२६५४) तेस्रो भए। 

वि.सं.२०१७ साल पौष १ गते राजा महेन्द्रले देशको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्ने उद्देश्यले देशको जननिर्वाचित प्रधानमन्त्रीलाई पक्राउ गरी थुनामा राखे, संसद् भङ्ग गरे र राजनीतिक पार्टीहरूलाई अवैध घोषणा गरे। पौष १ गतेको ‘कु’पछि राजनीतिक पार्टीहरू प्रतिबन्धित भए। निर्वाचित संसद् विघटन भयो। राजाको कदमको विरोध गर्नेहरूलाई धरपकड गरी राजनीतिक नेताहरूलाई बन्दी बनाइयो। रत्नप्रसाद खरेल पनि जेल परे। 

२०१९ सालमा उनी पञ्चायत छिरे र राष्ट्रिय पञ्चायतको निर्वाचनमा पूर्व १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिए। 

वि.सं. २०१९–२०२४ र २०२४–२०३० सम्म गरेर लगातार १० वर्षसम्म खरेलले उक्त क्षेत्रबाट प्रतिनिधित्व गरे। उनले पहिलो कार्यकालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष पदमा विश्वबन्धु थापासँग प्रतिस्पर्धा गरेका थिए। संसदमा समसामयिक विषय, राजनीतिमा देखिएका विकृति, र विसङ्गतिका साथै जनताका समस्याहरूका बारेमा खुलेर आवाज उठाई खरो र स्पष्ट वक्ताका रुपमा प्रस्तुत हुने खरेल लगायत अन्य केही सदस्य राष्ट्रिय पञ्चायतमा प्रतिपक्षको भूमिका निर्वाह गर्थे। 

पञ्चायती व्यवस्था अन्तर्गत राष्ट्रिय पञ्चायतमा चुनिएका एघार सदस्यहरूको एउटा समूहले २०२५ साल आश्विनमा देशको आर्थिक तथा राजनीतिक अवस्थाप्रतिको चासो र सरकारलाई केही सुझाव उल्लेख गरेर संयुक्त वक्तव्य जारी गर्‍यो। जसमा काभ्रेका प्रतिनिधि खरेल पनि थिए। 

लामो समय बितिसक्दा पनि जनताको जीवनस्तरमा सुधार नआउने, ठूला आयोजना सम्पन्न गर्नको लागि मित्रराष्ट्रहरूको सहयोग लिनुपर्ने, अस्पष्ट उद्योग नीति, नजरबन्दमा राखिएका राजनीतिक बन्दीहरूको रिहाइ नहुने लगायत विभिन्न आर्थिक तथा राजनीतिक विकृतिले पञ्चायती शासन पद्धतिको विरोध तीव्र रुपमा हुन थाल्यो। 

राष्ट्रिय पञ्चायतका सदस्यहरूले ‘मुलुकको वर्तमान स्थिति’ बारे २०२९ श्रावण २८ गते साँझ ६ बजे काठमाडौँको इटुम्बहालमा प्रवचन कार्यक्रम राखे। 

उक्त सभामा संयुक्त रुपमा विभिन्न १३ बुँदे माग राख्ने सहमति गरिएको थियो। त्यसमा जनताप्रति पूर्ण उत्तरदायी सरकार हुनुपर्ने, राष्ट्रिय पञ्चायतको अधिवेशनमा सञ्चारकर्मीलाई प्रवेश दिनुपर्ने, विकेन्द्रीकरणको अवधारणालाई सशक्त र प्रभावकारी बनाउनुपर्ने, राजा र कर्मचारीको द्वैध शासनको अन्त्य गरी प्रजातान्त्रिक शासनको हुनुपर्ने, विदेशिएका राजनीतिकर्मीलाई बिनासर्त स्वदेश फर्कने वातावरण सिर्जना हुनुपर्ने लगायतका विषय समेटिएका थिए। 

तत्कालीन सरकारले कुनै पनि सभा सम्मेलन गर्न नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरेको थियो। त्यसका बाबजुद ठूलो जनसहभागिताका माझ रत्नप्रसाद खरेल, कृष्णप्रसाद भण्डारी, प्रकाशचन्द्र लोहनी र सूर्यबहादुर थापाले आ–आफ्नो मन्तव्य दिए। कार्यक्रम सकिएपछि वक्ताहरू विभिन्न गल्ली हुँदै घर पुगे। तर, सोही रात चारै जनालाई प्रक्राउ गरी नख्खु जेल लगियो। अर्को दिनको कार्यक्रम अवरुद्ध भयो। 

चार बन्दीहरूमध्ये खरेलसहित कृष्णप्रसाद भण्डारी र प्रकाशचन्द्र लोहनी १७ महिनापछि मात्र जेलमुक्त भए। सूर्यबहादुर थापा भने केही समयअघि नै कैदमुक्त भएका थिए। उक्त समयमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा भाग लिनबाट बञ्चित गराउने उद्देश्यले उनीहरूलाई जेलभित्रै राखिएको बताइन्छ। निर्वाचनपश्चात नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री बने। बन्दीहरूलाई जेलमुक्त गराइयो। 

२०३३ साल चैत्र १८ गते ५२ वर्षको उमेरमा चितवनको पिठुवा भन्ने ठाउँमा खरेलको निधन भयो। हावाहुरी आएका बेला परालको टौवा मुनी दुई बच्चाहरू देखेपछि उनीहरूलाई जोगाउने क्रममा टौवाले थिचेर उनको निधन भएको थियो। 

बुवा बितेको ४८ वर्षपछि खरेलका छोरीहरूले बुवाले चालेका कदम, संसदमा गरेका भाषण, विकासका लागि गरेका प्रयास लगायतका विषय समेटेर पुस्तक प्रकाशन गरेका हुन्। खरेलका श्रीमती, ८ छोरी र एक छोरा छन्। 

पुस्तक लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथि पुराना कानुनविद कृष्णप्रसाद भण्डारी, विशेष अतिथिहरू वरिष्ठ गीतकार यादव खरेल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम थपलिया, प्राध्यापक डाक्टर जयराज आचार्य, पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनी, छोरी डा. रमा खरेल, प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती लगायतले खरेलको योगदानको चर्चा गरेका थिए। 

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले उदारवादी राजनीतिज्ञको रुपमा खरेलको स्मरण गरे। 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राम थपलियाले सार्वजनिक पदमा नियुक्ति लिँदा खरेलमा जनताप्रतिको जवाफदेहिता रहेको भन्दै जनताको पक्षमा निर्णय लिएर कठोर जेल जीवन बिताउने नेताको रुपमा उनलाई सम्झिए।  

प्राध्यापक डा. जयराज आचार्यले खरेल राष्ट्रिय पञ्चायतमा विरोधी नेताको रुपमा रहेको बताए। उनले खरेलजस्तो हक्की बोल्न सक्ने नेता अहिले नभएको टिप्पणी गरे। आचार्यले भने, ‘राष्ट्रिय पञ्चायतमा कडा बोल्ने, राजबन्दी छोड्नुपर्छ भनेर भाषण गर्ने, अहिले त्यस्तो हक्की नेता कहाँ छन्?’ अहिलेका नेता र सांसदले खरेलबारे लेखिएको यो पुस्तक पढ्न निकै उपयोगी हुने उनको सुझाव छ। 

वरिष्ठ गीतकार तथा रत्नप्रसाद खरेलका भतिजा यादव खरेलले निडर र विकासप्रेमी राजनीतिज्ञको रुपमा खरेलको सम्झना गरे। 

खरेलसँगै १७ महिना जेल जीवन बिताएका पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले देशभक्त, कसैसँग नदब्ने, अध्ययनशील नेताको रुपमा रत्नप्रसादलाई सम्झना गरे। 

लोहनीले भने, ‘शासन गर्ने काम जनताको हो, राजाको होइन भन्नुहुन्थ्यो उहाँ। उहाँको अभिव्यक्ति निकै चुनौतीपूर्ण हुन्थ्यो त्यो बेलामा। असाध्यै अध्ययनशील मान्छे हुनुहुन्थ्यो।’

प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले रत्नप्रसाद खरेल प्रतिभा सम्पन्न, सामाजिक र राजनीतिक अभियन्ता भएको बताए। उप्रेतीले जनपक्षीय राजनीति गर्ने राजनीतिज्ञको रुपमा खरेललाई सम्झिए। 

खरेलका छोरी डा. रमा खरेलले जतिसुकै दुःख पर्दा पनि बुवाले कहिल्यै इमानदारी नबेचेको बताइन्। 

उनले भनिन्, ‘राजनीति वृत्ति होइन, सेवा हो भन्नुहुन्थ्यो बुवाले। मन्त्री बन्नुभयो, त्यसपछि पनि पटकपटक उहाँलाई मन्त्री बन्ने प्रस्ताव आउँदा उहाँले जनताको लागि काम गर्न सकिँदैन भने भत्ता खान मात्रै किन मन्त्री बन्नु भन्ने गर्नुभएको रहेछ।’ 

खरेलले बुवाले संसदमा गरेका भाषणको ७ सय पृष्ठ संकलन गरेको र ६८ पृष्ठ यस पुस्तकमा समेटेको जानकारी गराइन्। 

यस्तै, अर्की छोरी रोशनी खरेलले बुवा संसदमा एक निडर नेताको रुपमा सधैँ लडिरहेको बताइन्। कार्यक्रममा उनले काभ्रे र चितवनको विकासका लागि बुवाले गरेको प्रयासहरूको सम्झना गरिन्। 

कार्यक्रममा खरेलकी श्रीमती शिला खरेलले १० लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरिन्।            
        
लेखन कुञ्ज नेपालले पुस्तक प्रकाशन गरेको हो। पुस्तकमा खरेलको बाल्यकाल, राजनीतिक जीवनको सुरुवात, परिवर्तनका लागि गरेका प्रयास, सल्लाहकार सभा सदस्य र मन्त्री हुँदा गरेका काम, जेलमा हुँदा उनले लेखेका चिठ्ठी जस्ता विषय समेटिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .