ad ad

साहित्य


कथा : सम्झौता

कथा : सम्झौता

सुभद्रा ढकाल
साउन १४, २०७९ शनिबार १४:२०, काठमाडौँ

त्यस दिनको क्लास निकै पट्यारलाग्दो भयो। बालकृष्ण समको मुटुको व्यथा पढाउँदा मैले धेरै ठाउँमा आफूलाई रोक्न सकिनँ।

म कताकता आफ्नै विगतमा भासिन पुगेँ। जिन्दगीमा आफूले गरेको निर्णय आफैंमाथि प्रहार भयो।

घर फर्किँदा बाटामा अनेकथरि तर्कना आए। मैले मेरो प्रेमलाई सम्मान गर्न सकेको भए आफन्त र परिवारभन्दा माथि उठेर आफ्नो पक्षमा उभिएर अडान लिएर निर्णय गरेको भए मेरो दुनियाँ र जीवनका रंग नै बेग्लै हुने थियो।

जिन्दगीले मलाई नयाँ पाठ सिकाएको छ। आफू खुसी भए मात्रै परिवार, आफन्त र दुनियाँलाई खुसी बनाउन सकिने रहेछ।

घरमा पुगेँ। चिसो पानी घटघट पिएर खाटमा पल्टिएँ। पल्लो कोठामा छोरी रुँदै थिई। घरमा काम गर्ने दिदीले छोरीलाई फुल्याउँदै हुनुहुन्थ्यो। किन किन मलाई छोरीको कोठामा पनि पस्न मन लागेन।

एउटा लेख सम्पादन गर्नु थियो। ल्यापटप खोलेर इमेल हेर्दै थिएँ। प्रकाशको नाममा नयाँ इमेल आएको रहेछ।

म कलेजको सबैभन्दा स्ट्रोङ नारीमा गनिन्छु तर प्रकाशको नाम सुन्नेबित्तिकै म सबैभन्दा कमजोर किन भए? आफैंले पत्तो पाउन सकिनँ। जिन्दगी आफ्नै लयमा चलिरहेको बेला। मलाई उसको मेलले फेरि एकपटक सोच्न बाध्य बनायो।

के लेखेको होला उसले मेलमा? आफ्नो जिन्दगीको व्यथा होला कि हाम्रो प्रेमकथा? खुसीको कहानी कि दुःखको सन्देश?

हे भगवान्! उसले मेलमा लेखेको होस् कि मैले विगतका सबै कुरा भुलिसकेँ गुन्जन। मलाई केही कुरा याद छैन। धेरैपटक विचलित भएर उसको इमेल पढ्न थालेँ।

डियर गुन्जन,

म हिजो साँझ काठमाडौँ आइपुगेँ। तिमीलाई जुन रुपमा छाडेर जापान गएको थिएँ। पक्कै त्यही रूपमा छ्यौ होली? उता जानुअघिको वाचा पनि पक्कै भुलेकी छैनौ होला? मलाई अझै तिम्रा थोपाथोपा आँसुको सम्झना छ। म उड्ने साँझ तिमी खुब रोएकी थियौ। मलाई थाहा थिएन। तिमी यति भावुक हुन्छौ।

मैले मन पराएकी गुन्जन त्यति कमजोरी होली भनेर मैले त कल्पनै गरेको थिइनँ। त्यसबेला मेरो मनले सोचेकी तिमी र वास्तविक तिमीमा मैले निकै अन्तर पाएको थिएँ। तिम्रो आँसु देख्दा मलाई लागेको थियो, यो पासपोर्ट र टिकट तुरुन्तै च्यातिदिम् र तिम्रो अँगालोमा बेरिएर बसूँ। तिमीसँग विवाह गरूँ। तर मेरो अगाडि परिवारको भविष्य जोडिएको थियो। तिमीलाई पनि सुख दिनु थियो। सम्पन्न बनेर छिट्टै नेपाल आउँछु र तिमीसँग रमाउँछु, सोचेथेँ।

व्यस्त दिनचर्याले तिमीसँग नियमित कुरा हुन पाएन। जसको कारण मैले तिमीलाई जिन्दगीभरिको लागि गुमाउनुपर्यो। पछि साथीबाट सुनेँ, तिमीले त विवाह पो गरेछौ हैन? आफ्नो मान्छेको सुखद समाचार अरूबाट सुन्दा निकै दुखेँ। केही हप्ता नरमाइलो लाग्यो। मेरो सेकेन्ड सेमेस्टरको इक्जामै बिग्रियो।

एक मनमा लाग्यो, नेपाल जाऊँ। अर्को मनले भन्यो, कसैको खुसीमा हस्तक्षेप गर्नु उचित हुँदैन। तिमी बेहुली भएको हेर्ने ठुलो रहर थियो। फेसबुकमा तिम्रो फोटो सर्च गरेर हेरेँ। तिमी फोटोमा निकै खुसी थियौ। तिम्रो मनमा के थियो म जान्दिनँ। फोटो देखेर अनुमान लगाएँ, तिमी निकै खुसी छ्यौ। तिमी खुसी छ्यौ भने मैले मन सानो बनाउनु हुँदैन भनेर आफैँलाई धेरै पटक सम्झाएँ। तिमीलाई सफलताको कामना गर्दै म करिअर फोकस हुन थालेँ।’

कति निश्छल मुटु ! प्रकाशको मेल पढ्दापढ्दै भक्कानो फुट्यो। मैले पनि उसको खुसीका लागि आफ्ना बाध्यताहरू सुनाउन नचाहेकी थिएँ। म भित्रको म कति दुखी छ भनेर म उसलाई आभाससमेत हुन दिने छैन।

डियर गुन्जन, प्रेम र विवाह अलग पाटा हुन्। यस्तै सोचेर म तिमीलाई भुल्न विवश भएकाे थिएँ। यसपटक तिम्रो र घरको निकै याद आयो। त्यसकारण केही नसोची म नेपाल आएँ। चार वर्षपछि आफ्नै देश टेक्न पाउँदा खुसी लाग्यो। फेरि अर्को मनले तिमीलाई सम्झियो, पराईको आँगन टेकेकी तिमी कस्ती भयौ हौली? तिमीलाई एक झलक देख्न पाए हुन्थ्यो भन्ने रहरले दिमागलाई जित्यो। त्यसकारण यो इमेल लेख्ने निर्णय गरेँ।

साँझमा राजधानीका झलमल्ल उज्यालो तर मेरो मनको अँध्यारो बस्तीमा लुकेकी तिमीलाई धेरैपटक फोन गर्ने कोसिस गरेँ। किन किन नम्बर डायल गर्नुभन्दा अगाडि निकै पटक हात काम्यो। हुनसक्छ यो पनि मैले तिमीलाई गरेको अथाह प्रेम हो। तिमीले प्रेमबारे बेग्लै तर्क गर्न सक्छ्यौ। अँ साँच्ची, तिमी त लेक्चर मान्छे। तिमीले आफ्ना विद्यार्थीलाई बुझाउने तरिका अलि फरक पनि होला। मैले तिम्रा हरेक आँसुलाई मुटुमा राखेर तिम्रै सपना पूरा गर्न निरन्तर काम गरेको थिएँ तर अहिले समानान्तर रेखाका दुई लाइन हुन विवश भयौँ। भो छाडिदेऊ यी विगतका कहाली लाग्दा दिनहरू। अब हाम्रो मिलन सम्भव छैन।

तिम्रो वैवाहिक जिन्दगीलाई म कुनै पनि असर पुर्याउन चाहन्नँ। एकपटक तिमीलाई भेट्ने मात्र इच्छा छ। अर्को महिना म जापान फर्कन्छु होला। फर्कनुअगाडि तिमीसँग अन्तिमपटक भेट्ने रहर छ। भोलि दिउँसो २ बजे नयाँ बानेश्वरको आराधना क्याफेमा तिम्रो प्रतीक्षामा हुनेछु।

उसको मेलको आशयले नर्भस भएँ। जिन्दगीले कस्तो मोडमा ल्याएर छाडिदियो। त्यसपछि मेरा हातगोडा चिसा भए। केही सोच्न सकिनँ। पारिवारिक जञ्जालमा बाँधिएकी थिए। त्यसकारण आफ्नो कर्तव्यका लागि मात्र मैले आफूलाई सम्हालिरहेँ।

​श्रीमान् आएर बेलुका खान खाने खाएर कोठामा जानुभयो। मलाई टाउको नै फुट्लाजस्तो ज्वरो आयो तर उहाँले मेरो स्वाथ्यबारे एक शब्द पनि सोध्नुभएन। हुन त हाम्रो ओछ्यान एउटै छ। हजारपटक शरीर पनि साटिएको छ तर अपसोच चार वर्षको अवधिमा हाम्रो मन साटिएको छैन। म यो विवाहलाई सम्झौताभन्दा माथि राखेर हेर्न सक्दिनँ।

म हरेक रात यसैगरी तड्पन्छु, छटपटिन्छु तर उहाँले के भयो भनेर एकपटक पनि सोधेको याद छैन। यदि उहाँको ठाउँमा प्रकाश भैदिएको भए म उसको छातीमा टाँसिएर कति रुन्थेँ होला? एकपटक पाउने जिन्दगी पनि किन म मरीमरी बाँचेकी छु।

मनमा आँधी चले पनि समय उही गतिमा चलेको छ। म यो पीडाको आभास कसैलाई पनि हुन दिन्नँ। मैले यसलाई छातीभित्र नै लुकाउनुपर्ने छ। दुनियाँका लागि मुस्कुराउनुपर्नेछ।

मलाई रातभर निद्रा लागेन। विगतका सम्झना आँखाभरि आए। कस्तो भयो होला प्रकाश? निकै समय भयो उसलाई नदेखेको। उसलाई लाग्दो होला मैले उसलाई धोका दिएँ तर उसलाई मैले कसरी विश्वास दिलाऊँ, यो धोका नियतिले दिएको हो।

म घर र समाजको मर्यादाभित्र हराएर उसलाई बिर्सेजस्तो गर्न पुगेकी हुँ तर कुनै पनि रात नहोला मैले उसलाई बिर्सेर निदाएको। कुनै सपना छैन उसलाई नदेखेको। कुनै पल छैन उसलाई बेवास्ता गरेको तर मैले उसलाई यी कुनै पनि कुराको आभास कहाँ होला र?

जिन्दगीभरि उसलाई मेरो बाध्यताको आभास नहोस् भन्ने चाहन्छु म पनि। मलाई त्यो बिहान छटपटी मात्रै भइरह्यो। कति बेला २ बज्ला र प्रकाशसँग भेट होला भनेर छटपटाइरहेँ। कोटेश्वरबाट नेपाल यातायात चढेँ। बानेश्वर चोकमा पुगेर उसले मेलमा छाडिदिएको नम्बरमा फोन लगाएँ।

उसको अगाडि पुग्नु पहिले म निकै नर्भस भइसकेकी थिएँ।

मनमा धेरै तर्कना आए। कस्तो भयो होला प्रकाश? कसरी बितायो होला विदेशमा चार वर्ष। म कसरी सम्हालिन्छु होला, उसलाई भेटेपछि। हे भगवान्! यो कस्तो परीक्षा लिँदै छ मेरो जिन्दगीले।

किन धोका दियौ भनेर सोध्यो भने म के जवाफ दिउँला ? मैले जानेर उसलाई धोका दिएकी हैन। म परिबन्दमा परेकी हुँ तर मैले उसलाई मेरो दुख नसुनाउने र सुखको मात्रै कुरा गर्ने निर्णय गरेँ। उसको अगाडि पुगेर म मूर्ति जसरी उभिएँ। उसको अनुहार र कपाल देखेपछि आँखाबाट ताता आँसुका थोपा बगे। मैले मुस्किलले रोकेँ।

झुस्स पारेको दारी। वर्षौदेखि नकाटेजस्तो कपाल चैत मासको खडेरी जस्तो उदास जिन्दगी। उसले मलाई एकनास हेरी मात्रै रह्यो। उसले मलाई केही कुरा सोधेन। मैले सोधेको प्रश्नको जवाफ दिइरह्यो। उसलाई नसोधीकन कफी अर्डर गरेँ।

हामी दुवै मौनतासँगै कफीको प्रतिक्षामा बसिरह्यौँ। मलाई उसँग धेरै बोल्न मन थियो। मन भरिने गरी हेर्ने रहर थियो। उसको काखमा घोप्टिएर रुने रहर जिउँदो भएर उभियो। टेबुलमा आइपुगेको कफी पिउँदै आफ्नो हातबाट ब्रासलेट झिकेर मेरो हातमा राखिदियो जुन मैले दिएको उपहार थियो। 

म जिन्दगीमा अन्तिमपटक प्रकाशसँग पोखिन चाहन्थेँ। अपसोच श्रीमानको फोनले तुरुन्तै घर फर्कन आदेश आयो।

बाफ आइरहेको कफी छोडेर हिँड्दा नरमाइलो लाग्यो। म निस्कन लाग्दा उसका आँखाको वर्षात् देखेँ।

आफूलाई सम्हाल्नुको विकल्प थिएन। यदि मैले समयमा नै आफ्नो जिन्दगीको सही निर्णय गर्न सकेको भए... 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .