ललितपुरका सन्तोष लामा (नाम परिवर्तन) इयरफोन लगाएर लामो समय गीत सुन्ने, फिल्म हेर्ने गर्थे। दिनको ५ घण्टासम्म लगातार इयरफोन लगाउने उनलाई एक दिन कान कम सुनेको जस्तो हुन थाल्यो।
सुरुमा त इयरफोनको साउन्ड नमिलेको होला भनेर बेवास्ता गरे। पछि समस्या बढ्दै गयो। अरुले बोलेको राम्रोसँग बुझ्न सकेनन्। कानमा समस्या भयो कि भन्दै चिकित्सककहाँ पुगे। परीक्षणमा उनको कानको नसा सुक्दै गएको पत्ता लाग्यो।
चिकित्सकले लामो समय इयरफोनको प्रयोगका कारण कानको नसामा समस्या देखिएको बताए। कान नसुन्ने समस्या बढ्दै गएपछि ३० वर्षका सन्तोषले अहिले मेसिनको सहायता लिनुपरेको छ।
अध्ययनले पनि दैनिक एक घण्टाभन्दा धेरै इयरफोनमा संगीत सुन्न नहुने देखाएको छ। इयरफोन र ठूलो आवाजले कानभित्र रहेका विभिन्न स्नायुलाई असर गरेर कानै नसुन्ने समस्या देखिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
लगातार लामो समयदेखि इयरफोनको प्रयोग गर्दा चक्कर लाग्ने, स्थायी तथा अस्थायी श्रवणशक्ति गुम्ने जोखिम बढ्ने, कान दुख्ने, संक्रमण हुने र एकाग्रताको समस्या देखिने गरेको छ। युवा अवस्थामा इयरफोनको प्रयोग बढ्दा कान नसुन्ने समस्या बढ्न थालेको चिकित्सकको भनाइ छ।
उनीहरूका अनुसार जन्मजात कान नसुन्ने समस्या पनि डरलाग्दो गरी बढेको छ। गर्भवती अवस्थामा कुनै संक्रमण भएको छ वा परिवारमा कुनै व्यक्तिमा समस्या छ भने पनि अन्यमा देखिने समस्या बढेको छ।
आजभोलि धेरै अस्पतालमा बच्चा जन्मिनेबित्तिकै कान सुन्छ कि सुन्दैन भनेर परीक्षण गर्ने गरिन्छ। बच्चाले कान नसुन्ने भए थप परीक्षण गर्न सकिन्छ। कान नसुन्ने समस्या पहिचान भए कक्लियर इम्प्लान्ट राखेर कान सुन्न सक्ने बनाउन सकिन्छ। तर, यो पनि बच्चाले बोल्न सुरु नगर्दा नै गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। बच्चाको बोल्न सुरु नगरीकनै मेसिनको सहायताले कान सुन्न सक्ने बनाउन सकियो भने उनीहरू सहजै बोल्न सक्छन्।
यस्तै उमेर बढ्दै जाँदा नसा सुकेर कान नसुन्ने समस्या देखिने चिकित्सक बताउँछन्। यस्तो खालको कान नसुन्ने समस्याको भने उपचार हुँदैन। कानको सुन्ने क्षमता बढाउन मेसिन लगाउन सकिन्छ। मेसिनले सुन्ने क्षमतालाई बढाउँछ र जीवनशैलीलाई सहज बनाउँछ।
लामो समयदेखि इयरफोन प्रयोग गर्ने व्यक्तिमा कान कम सुन्ने र कानको नसा सुक्ने समस्या ज्यादा देखिने गर्छ।
यसका साथै कान पाक्ने समस्या भएका व्यक्तिमा पनि कान कम सुन्ने जोखिम बढ्छ। त्यसकारण कान पाक्ने समस्या भएका व्यक्तिले कानमा पानी नपार्न र कानमा तेल नहाल्न पनि चिकित्सकहरूको सुझाव छ।
नेपाली समाजमा बच्चा जन्मिएपछि कानमा तेल हाल्ने प्रचलन छ। त्यसले पनि कानमा दीर्घकालीन समस्या देखिने चिकित्सक बताउँछन्। कानमा तेल राख्नाले कानमा संक्रमण गरेर ढुसी पलाउने र कान पाक्ने समस्या देखिन्छ।
इयरफोनको प्रयोगले कानमा कसरी असर गर्छ? कानका समस्याबाट कसरी बच्ने भन्नेबारे नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा प्रियंका गुप्ताको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया