जीवनशैली


काठमाडौँका बालबालिकामा बढ्दै छ दृष्टि समस्या

काठमाडौँका बालबालिकामा बढ्दै छ दृष्टि समस्या

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८२ शनिबार ११:६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ।

कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका प्रमुख दीपककुमार केसीका अनुसार परीक्षण कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो । जसमा छ हजार १७५ जना छात्र र पाँच हजार ४६२ जना छात्रा थिए।

जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् एक हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको देख्न नसक्ने खालका समस्या देखिएको छ । करिब दुई दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखामा हुने विभिन्न खालका रोग भेटिए । जाँचपछि आधारभूत र आवश्यकता परेका ११ प्रकारका औषधिहरू वितरण गरिएको थियो।

आँखाको नियमित उपचार गर्नुपर्ने विद्यार्थी पहिचान गर्ने, पहिचान भएका सामान्य समस्याको तत्काल उपचार गर्ने, विद्यार्थीहरूमा आँखाको स्वास्थ्य र स्वच्छताका लागि हेरचाह, स्याहारको बानी विकास गराउने, विद्यार्थी, शिक्षक र अभिभावकमा आँखाको स्वास्थ्यका विषयमा सचेतना वृद्धि गराउने कार्यक्रमको उद्देश्य रहेको पनि कामपाको भनाइ छ।

यस जाँचबाट विद्यालय उमेरका बालबालिकाहरूको दृष्टि बचाउन विद्यालयस्तरीय आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, यसका लागि बहुक्षेत्रीय साझेदारिता बढाउनुपर्ने, तथ्याङ्क व्यवस्थापन र विश्लेषणका आधारमा कार्यक्रम तर्जुमा गर्दै लैजानुपर्ने, विद्यालयका शिक्षक र कर्मचारीहरूमा दृष्टि दोष पत्ता लगाउने र समाधानका उपायमा काम गर्ने क्षमता बढाउनुपर्ने, एकीकृत र डिजिटल सेवा विकास गर्नुपर्ने र यी सबै काम गर्न नीति तर्जुमा गर्नुपर्ने सुझाव प्राप्त भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार, विश्वमा कम्तीमा दुई करोडभन्दा धेरै मानिसमा दृष्टि कमजोरी वा दृष्टिविहीनता छ। अङ्ग्रेजी वर्षको हरेक अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवसका रूपमा मनाइन्छ । यस वर्ष दृष्टि, प्रविधि र भविष्य नारासहित दिवसका कार्यक्रम मनाइँदैछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad