जीवनशैली


के रेबिजविरुद्धको खोप २४ घण्टाभित्र लगाइसक्नुपर्ने हो?

नेपालमा रेबिजको लक्षण देखिएका कोही पनि बाँचेका छैनन्
के रेबिजविरुद्धको खोप २४ घण्टाभित्र लगाइसक्नुपर्ने हो?

फाइल तस्बिर


डा. शेरबहादुर पुन
बैशाख ३१, २०८२ बुधबार १२:२०, काठमाडौँ

केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ गर्दै अस्पताल आइपुग्नु भएको थियो। आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै लागिसकेकाले रेबिज खोप तुरुन्त लगाउन उहाँले अनुरोध गर्नु भयाे। आत्तिनु स्वाभाविक पनि हो किनभने रेबिज एक प्राणघातक सरुवा रोग हो।

नेपालमा वर्सेनी बीसौँ मानिसले यही भाइरसको कारणले मृत्युवरण गर्दै आइरहेको अधिकारिक तथ्याङ्क पनि छ। हाम्रो समुदायमा रेबिजबिरुद्धको खोप कुकुरले टोकेको २४ घण्टाभित्र लगाई सक्नुपर्छ वा जसरी पनि लगाउनुपर्छ भन्ने व्यापक मान्यता रहेको पाइन्छ। त्यसो भए के कुकुर वा कुनै शङ्कास्पद रेबिज लागेको/बहुला जनावरले टोकेमा २४ घण्टाभित्र नै रेबिज खोप लगाई सक्नु पर्ने हो त?

कुकुर वा कुनै शङ्कास्पद बहुला जनावरले टोकेमा खासगरी रेबिज सङ्क्रमणसँग सम्बन्धित चासो लिएर घाइते चिकित्सकको सम्पर्कमा आउने गर्दछन् र स्वस्थाकर्मी/चिकित्सकले पनि रेबिजसम्बन्धी परामर्श वा आवश्यक परे रेबिज बिरुद्धको खोप दिने गर्दछन्।

रेबिज प्राणघातक सङ्क्रामक रोग हो । नेपालमा रेबिज लक्षण देखिएका कोही पनि बाँचेका/स्वस्थ भएको तथ्याङ्क छैन। लेखकको झन्डै साढे दुई दशकभन्दा बढीको अनुभवमा अधिकांश रेबिजबाट मृत्यु हुनेमा रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट भएको देखेको छ । जङ्गली स्याल, बिरालोको टोकाइबाट पनि मृत्यु भएको छ । तर समग्रमा सङ्क्रमित कुकुरको टोकाइबाट रेबिज लागेर वर्षेनी सयौँ नेपालीले हाल पनि मृत्युवरण गर्नु परेको वा गर्दै आइरहेको अवस्था देखिन्छ। 

जनावरको टोकाइमा बाँदरको टोकाई पनि अग्रपंतिमा नै देखिन्छ तर टोकेपछि रेबिज प्रमाणित भएको नेपालमा भने देखिँदैन । यद्यपि विदेशमा भने फाट्टफुट्ट बाँदरबाट पनि रेबिज पुष्टि भएको पढ्न/सुन्न पाइन्छ।

नेपालमा बाँदरको टोकाइबाट मानिसमा रेबिज सरेको प्रमाणित नभएको भएता पनि अरु के कस्तो स्वस्थ समस्या (सङ्क्रमण) देखिन/हुन सक्छ भन्ने बारेमा भने सम्बन्धित निकायले चासो लिनुपर्दछ । शहरमा मन्दिर अनि गाउँघरतिर भए खेतबारी÷जङ्गल जाँदा मानिसलाई बाँदरले टोक्ने गरेको पाइन्छ।

हाल खोप लगाउने तरिकामा केही परिवर्तन गरिएको छ । तर यो जानकारी सरकारी स्वास्थ संस्था वा अस्पतालमा बाहेक अरु ठाउँमा खासै पुगेको भने देखिँदैन। सन् २०१७ को अक्टोबरमा विश्व स्वास्थ सङ्गठनका बिज्ञको बैठकले सन् २०१० को रेबिजसम्बन्धी निर्देशिकालाई प्रतिस्थापन गर्दै नयाँ निर्देशिका सन् २०१८ मा प्रकाशित गरेको थियो । त्यस लगत्तै नेपालले पनि सन् २०१९ मा रेबिजसम्बन्धी नयाँ निर्देशिका प्रकाशित गरेको थियो।

नयाँ निर्देशिकामा देखिएको फरक वा परिमार्जित गरिएको विषय भनेको खोप लगाउने तरिका तथा अवधि हो । यसमा विशेषतः छालामुनि र मासु/मांशपेशीका (पाखुराको) गरी दुई प्रकारले खोप दिन सकिन्छ भनिएको छ । यी दुई तरिकाको आधारमा खोपको अवधि पनि एक हप्ता (छाला मुनि) र दुई हप्ता (मासुमा दिने) मात्रा पुरा हुने गरी दिने गरिन्छ।

छाला मुनि दिने तरिका पहिलोपटक नयाँ निर्देशिकामा समावेश भएर आएको हो । यो तरिकाबाट लगाउँदा खोपको मात्रा कम लाग्ने अनि छिटो अर्थात मासुमुनि दिने तरिकाभन्दा छोटो अवधिमा सकिने गर्दछ । मासुमुनि दिने तरिका छालामुनि दिने तरिकाभन्दा अवधि लामो भए पनि प्रतिस्थापित निर्देशिकामा भन्दा कम समयमा सकिनेछ।

प्रतिस्थापित निर्देशिकामा मासुमुनि दिने तरिका मात्र थियो र त्यो २८ दिनसम्म दिनु पर्दथ्यो। विशेष तालिम प्राप्त स्वास्थकर्मी चाहिने भएकाले निजी क्लिनिक वा अस्पतालमा विशेषतःमासुमुनि दिने तरिकालाई निरन्तरता दिएको देखिन्छ। तर निजी क्लिनिक वा अस्पतालमा अहिले पनि मासुमुनि दिने तरिका अपनाउँदा पाँच पटक अर्थात् २८ दिनसम्म लगाउन सुझाएको वा लगाइदिने गरेको देखिन्छ। 

खोप त लगाउने तर कति दिनभित्र लगाउनुपर्ने हो भन्ने चासो अधिकांशमा भएको पाहिन्छ। रेबिज प्राणघातक सङ्क्रामक रोग भएकाले पनि यस्तो चासो स्वभाविक मान्न सकिन्छ। समुदायमा भने कुकुर वा जनावरले टोकी हालेमा २४ घण्टाभित्र खोप लगाई सक्नुपर्छ भन्ने मान्यताले व्यापकता पाएको देखिन्छ। खोप जतिसक्दो चाँडो लगाउनु पर्दछ तर ढिलो भयो भन्ने पनि हुँदैन।

उदाहरणको लागि, कसैलाई कुकुर वा कुनै जनावरले टोकेको रहेछ भने जतिसक्दो चाँडो नजिकैको अस्पताल वा स्वास्थ चौकीमा गएर खोप लगाइहाल्नु पर्दछ तर कुनै कारणले २४ घण्टापछि खोप लगाउन आएमा पनि खोप लगाउनु पर्दछ। यसो गर्नुको मुख्य कारण रेबिज रोगको ‘इन्कुभेशन अवधि’ सङ्क्रमित पिच्छे फरक र लामो हुनु हो। ‘इन्कुभेशन अवधि’ भन्नाले सङ्क्रमित भएर लक्षण देखिने अवधिलाई बुझाउँछ। लक्षण केही हप्तादेखि महिनौको अन्तरालमा देखिने गर्दछ। 

नेपालमा धेरैमा रेबिजको लक्षण औसतमा चार–पाँच महिनादेखि वर्ष दिनभित्र देखिने गरेको छ । यद्यपि यो शरीरको कुन भागमा टोकेको हो त्यसमा लक्षण देखिने समय अवधि आधारित हुन्छ । खोप लगाउन जतिसक्दो चाँडो अनि ढिलो भन्ने हुँदैन भन्ने हो । कतिपय मानिस खोप लगाउन औषधि पसल जाँदा ढिलो (टोकेको दुई/तीन दिनपछि) आइपुगेकाले खोप लगाएर केही हुँदैन वा लगाउनुको अर्थ छैन भनेर फर्काएको अनि त्यस्ता घाइतेले मृत्युवरण समेत गर्नुपरेको उदाहरण धेरै छन्।

यस्ता घटना बढी मोफसलका जिल्लामा भएको पाइन्छ। लेखकको विचारमा औषधि विक्रेतालाई पनि समयसमयमा रेबिजसम्बन्धी अभिमुखीकरण तालिम दिने वा रेबिजसम्बन्धी जानकारी उपलब्ध गराई दिनसके रेबिजबाट हुन सक्ने मृत्युलाई धेरै हदसम्म कम गर्न सकिने देखिन्छ।

धेरैले घाउ ठूलो भए वा बाहिरको कुकुर वा जनावर टोकेमा मात्र रेबिज खोप लगाउनुपर्छ भन्ने धारणा बनाएको देखिन्छ । चोट÷घाउ ठूलो भए यसै पनि धेरैजसो आत्तिएर नै रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेको पाइन्छ।

तसर्थ, चोट/घाउ ठूलो भएकाको मृत्यु रेबिजबाट हुने सङ्ख्या पनि केही हदसम्म कम भएको देखिन्छ । तर चोट÷घाउ सानो भए रेबिज हुँदैन भनेर खोप नलगाउनाले तुलनात्मक रूपमा मृत्यु विगतमाभन्दा हाल बढ्दै गइरहेको देखिन्छ । कतिपयले त खोप लगाउन भोलि जान्छु, पर्सि जान्छु भन्दै गर्दा घाउ निको हुने अनि अब लगाउनु पर्दैन होला भनेर खोप नलगाउँदा केही समयपछि उनीहरुको पनि मृत्यु भएको छ।

पछिल्लो समय ठूलो घाउ चोटको कारणले भन्दा पनि सानो घाउ चोटको बेवास्ताले गर्दा रेबिज भई मृत्यु हुनेको सङ्ख्या विस्तारै उकालो लाग्दै गइरहेको छ । हाल घरमा पालिएका भनिएका कुकुरसमेतमा रेबिज भाइरस पुष्टि हुने गरेको पनि देखिएको छ । यस्तो समस्या विशेषगरेर गाउँघरतिर बढी देखिने गरेको छ।

गाउँघरतिर घरेलु कुकुर भन्नाले घरमा खाने/सुत्ने तर दिनमा बाहिर जाने/डुल्ने गर्दा अथवा नियन्त्रण नगरिने हुँदा बाहिरी कुकुर वा जङ्गली जनावरको सम्पर्कमा आउने अनि रेबिज सङ्क्रमित भई परिवारका सदस्यलाई टोकर सङ्क्रमित गराउने गरेको देखिन्छ । यस्ता समस्या कम भए पनि काठमाडौँ पनि हुने गरेको छ।

रेबिज रोगबाट बच्ने एक मात्र उपाय भनेको खोप लिनु हो । रेबिजलाई इतिहासमा सिमित गर्ने प्रयास अझै पनि वास्तविकताभन्दा टाढा नै रहेको देखिन्छ।

रेबिजबाट मृत्यु हुनेको सङ्ख्या विगतका दशकभन्दा उल्लेखनीय सङ्ख्यामा घटेको तथ्याङ्क देखिँदैन । रेबिज रोग किन बढ्दैछ भन्ने कारणको  अनुसन्धान नगर्ने हो नेपालमा यो भाइरस ‘साइलेन्ट किलेर’को रूपमा रहिरहने छ । बिरामीमा विशेष गरेर हावा वा÷तथा पानीदेखि डराउने लक्षण देखिनथालेको केही दिनभित्र मृत्यु निश्चित प्रायःनै हुन्छ।

तसर्थ, कुनै पनि जनावर अझ खास गरेर रेबिज सङ्क्रमित कुकुरले टोकेको शङ्का लागे नजिकैको स्वास्थ संस्था वा अस्पतालमा गएर रेबिजबिरुद्धको खोप लिनु पर्दछ । खोप सकेसम्म चाँडो लिनुपर्दछ तर ढिलो भयो भन्ने पनि हुँदैन। रासस

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad