जीवनशैली


जति धेरै पढाइ, उति यौन सम्पर्क कम

जति धेरै पढाइ, उति यौन सम्पर्क कम

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार ५:४३,

अमेरिकामा ‘कलेज लाइफ’लाई प्रायः अत्यधिक मद्यपान सेवन र उन्मुक्त यौन जीवनका रूपमा चित्रित गर्ने गरिन्छ। मिन्डी कलिङ नामक एक कमेडियनले बनाएको टीभी सो ‘द सेक्स लाइभ्स अफ कलेज गर्ल्स’को भर्खरै तेस्रो सिजन सकिएको छ। यो सोमा यौन क्रियाकलाप बियरजत्तिकै प्रचलित देखाइन्छ। 

तर, यथार्थमा भने अमेरिकी विश्वविद्यालयमा विद्यार्थीहरू आश्चर्यजनक रूपले यौन क्रियाकलापमा निकै कम सहभागी हुन्छन्। २०२४ मा हार्वर्डका २० प्रतिशत विद्यार्थीले आफूले कहिल्यै यौन सम्पर्क नगरेको बताएका छन्।

यो असामान्य घटना होइन। गएको २० वर्षमा कलेज जाने उमेरका अमेरिकीहरूमाझ यौन क्रियाकलाप आधाले काम भएको छ। यो समग्रमा यौन गतिविधिमा आएको कमीकै हिस्सा हो। जसलाई कतिपय पत्रकारहरूले ‘यौन मन्दी’ भन्ने गरेका छन्।

दि इकोनोमिस्टको विश्लेषणबाट थाहा हुन्छ- यौन मन्दीबाट विद्यार्थी मात्र होइन, डिग्रीधारीहरू पनि प्रभावित छन्। खासमा यौनमा ‘डिग्रीको विभाजन रेखा’ सिर्जना भइरहेको छ। 

२००२ देखि २०२३ सम्म २० देखि ३५ वर्षबीचका स्नातक उत्तीर्णहरूले औसत वयस्क व्यक्तिभन्दा ११ प्रतिशत कम मात्रामा यौन सम्पर्क राखेका छन् भने स्नातकोत्तर उत्तीर्णहरूले १३ प्रतिशत कम। 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले १० हजार अमेरिकीमा गरेको सर्वेक्षणले के देखाउँछ भने उमेर, मदिरा पिउने बानी, रोजगारी, स्वास्थ्य र वैवाहिक स्थितिलाई पन्छाउँदा पनि विश्वविद्यालयको डिग्री हासिल गरेको मान्छेले औसतमा ७/८ प्रतिशत कम यौन सम्पर्क राख्दछ।

यसको असर सबैभन्दा बढी विवाहित जोडीमा देखिन्छ। तर, अविवाहितहरूमध्ये पनि डिग्रीधारीहरूले गएको वर्षमा यौन सम्बन्ध राखेको छु भन्ने सम्भावना ६ प्रतिशतले कम देखिन्छ। बेलायतमा पनि यही प्रवृत्ति देखिन्छ। तर, आयरल्यान्डमा भने शिक्षितहरू ज्यादा यौन क्रियाकलपामा सक्रिय देखिन्छन्।

शिक्षित अमेरिकीहरू किन बेडरुममा कम रमाइलो गर्छन् भन्ने पत्ता लगाउन पर्याप्त अनुसन्धान भएको छैन। सामान्यतयाः यौन सम्पर्क कम हुनुमा प्रविधिले ल्याएको विकर्षण र युवाहरूले अभिभावकको घर छाड्नमा गरेको ढिलाइलाई प्रमुख कारण मान्ने गरिन्छ। तर, यसले युनिभर्सिटी पास गरेकाहरूको निष्क्रियताको जवाफ दिन सक्दैन। 

तन्नेरीहरू ढिला विवाह गरिरहेका छन्। यसले यौन सम्पर्कलाई कम गरेकोमा कुनै सन्देह छैन। किनकि अविवाहितभन्दा विवाहितहरू दोब्बर मात्रामा यौन सम्पर्क राख्ने गर्छन्। तर, डिग्रीधारीहरूको विवाहको दर डिग्री नहुनेको भन्दा ज्यादा छ। डिग्रीधारीहरूको विवाह लामो समय टिक्छ पनि।

यौन सम्पर्कको दर कम हुनुको सम्बन्ध स्क्रिनमा बिताउने समयसँग छ। तर, डिग्रीधारीहरू आम जनसंख्याभन्दा ज्यादा स्ट्रिमिङ गर्ने वा भिडिओ गेम खेल्ने गर्दैनन्। बरु, कमै गर्छन्। सायद गत दशकहरूमा भन्दा अहिले अमेरिकीहरूमा ज्यादा डिप्रेसन र एन्जाइटी भएको पाइन्छ। जसले कामेच्छा कम गर्छ। तर, उच्च शिक्षाले मानसिक स्वास्थ्यलाई नराम्रो होइन, राम्रो बनाएको देखिन्छ।

उसोभए कारण के हुन सक्छ त?

सबैभन्दा राम्रो सिद्धान्त के छ भने उच्च शिक्षा लिएका मान्छे औसतमा ज्यादा काम गर्छन्, त्यसैले उनीहरूलाई फुर्सद कम हुन्छ।

‘निश्चित रूपमा डिग्रधारीहरूको एउटा हिस्सा यौनमा भन्दा पेसागत गतिविधिमा ज्यादा व्यस्त देखिन्छ,’ युनिभर्सिटी अफ युटाका सामाजशास्त्री निकोलस वुल्फिंगर भन्छन्। 

डिग्रीधारीहरूको यो समूह औसतमा बच्चाको स्याहारमा पनि ज्यादा समय बिताउँछ। त्यसमाथि स्ट्रिमिङ प्लाटफर्म पनि छँदैछन्। ‘ज्यादा नेटफ्लिक्स त कम यौन,’ इन्स्टिच्युट फर फ्यामिली स्टडिजका अध्येता लिमन स्टोन भन्छन्। शिक्षित पेसेवरहरूसँग रोमान्सको समय कम हुने उनको भनाइ छ।

अर्को एउटा सिद्धान्तले के भन्छ भने शिक्षित महिलाहरूसँग सम्भावित योग्य प्रेमीको संख्या कम हुन्छ। जसका कारण तिनले जोडा भेट्टाउन कठिन हुन्छ। 

‘हामीसँग यस्तो स्थिति छ कि जब महिलाहरूले शिक्षामा राम्रो प्रदर्शन गर्छन्, गतिलो जागिर खान्छन्, ज्यादा पैसा कमाउँछन्, तब उनीहरूका लागि योग्य पुरुषको अभाव हुन्छ। यसका कारण जोडी मिलाउन मुस्किल हुन पुग्छ,’ स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका पिटर युदा भन्छन्। 

यौन र संस्कृतिबारे कलम चलाइरहेकी लेखिका माग्दालेन टेलरको तर्क छ- ढिला बिहे गर्ने कलेज उत्तीर्णहरू आत्मनियन्त्रणमा सबल हुन्छन्। जसका कारण उनीहरूको यौनचर्यामा प्रभाव पर्ने गर्छ।

एकथरी विज्ञहरूको मान्यता छ– कक्षाकोठामा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्न सघाउने केही गुणहरू बेडरुममा भने खराब प्रदर्शनको कारक बन्छन् (किताबी किराहरू माफ गर्नुहोला)।

‘यसमा कुनै शंका छैन- पढाइ, करिअर र दीर्घकालीन सफलतामा केन्द्रित तन्नेरीहरू जोखिम मोल्न चाहँदैनन्, उनीहरू सतर्क हुन्छन्। जसका कारण उनीहरूले कम यौन सम्पर्क राखेको देखिन्छ,’ युनिभर्सिटी अफ भर्जिनियाका समाजशास्त्री ब्राड विलकक्स भन्छन्।

जो काममा सीपालु छन्, उनीहरूले कामुकताको पाठ धेरै सिक्न बाँकी देखिन्छ। 

(दि इकोनोमिस्टबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad