मानिसमा अनेक प्रकारका संवेग हुन्छन्। ऊ रिसाउँछ, खुसी हुन्छ, रुन्छ, गम्भीर हुन्छ अनि चञ्चल पनि। यी संवेदनाका आआफ्नै महत्व छन्।
रिस व्यक्त गर्ने मानिसको आ–आफ्नै तरिका हुन्छ। कति मान्छे रिसाएको बेला कराउँछन्, कति मानिस तोडफोड गर्छन्, कोही मानिस भने रिसमा पनि रुन्छन्। उनीहरु पनि आफ्नो रिसलाई कडा शब्दमा व्यक्त गर्न त चाहन्छन् तर आक्रोशअघि आँसु निस्कन्छ। उनीहरु आफूले कुरा गरिरहेको मान्छेका अगाडि आँसु लुकाउन चाहन्छन्। आँसु उनीहरुले चाहेर नियन्त्रण हुँदैन।
यसलाई रिसको आँसु भनिन्छ। धेरै मानिस रिसको आँसुबाट छुटकारा पाउन चाहन्छन्। उनीहरु आफूले आक्रोश पोखिरहेको मानिसको अगाडि आफ्नो तर्क बलियो होस् भन्ने चाहन्छन्, ताकि अरुले आफूलाई भावनात्मक रुपमा कमजोर नठानून्।
सबैभन्दा पहिले हामीले बुझ्नु आवश्यक छ, क्रोध आफैँमा भावना होइन। यो केवल कुनै भावना वा घटनाको प्रतिक्रिया हो। त्यसैले क्रोधलाई माध्यमिक भावना मानिन्छ। सामान्यतया जब कसैको भावनामा चोट पुग्छ, उसमा क्रोध उत्पन्न हुन्छ। सबैले क्रोधलाई व्यक्त गर्न सक्दैनन्। कतिपयले आफूभित्रको क्रोधलाई भित्रै दबाएर राख्ने गरेका छन्। आक्रोशमा पनि मानिसले आफूलाई एक्लो, असहाय महसुस गर्छन्। यो अनुभूतिले उनीहरुको आँखामा आँसु ल्याउँछ।
मनोवैज्ञानिक डा. सब्रिना रोमानोफले आफ्नो एक अनुसन्धानमा भनेकी छिन्, ‘मानिसले जब रिसाएको वा विवादको बीचमा आफ्नो भावनालाई शब्दमा व्यक्त गर्न असमर्थ हुन्छ, तब आँसु आउन थाल्छ।’ परिवार र साथीभाइसँग रिसाएर रुँदा समस्या हुँदैन। तर व्यावसायिक बैठक वा सार्वजनिक ठाउँमा रिसाएर रुने मानिसले दुःख पाइरहेका हुन्छन्।
डा. सब्रिना रोमानोफ भन्छिन्, ‘रिसको आँसुले तपाइलाई दुःख दिइरहेको छ भने त्यस्तो बेलामा कतै ध्यान केन्द्रित गर्ने प्रयास गर्नुहोस्, फराकिलो दृष्टिले हेर्नुहोस् र के भइरहेको छ भनेर सोच्नुहोस्। अनुहारको मांसपेशीलाई कसिलो राखेर, लामो र गहिरो सास फेर्नुहोस्। यसो गर्दा रिसको आँसुलाई नियन्त्रण गर्न सकिन्छ।’
क्रोधका कारण मुटुको धड्कन र श्वासप्रश्वासको गति बढ्छ। यस्तो अवस्थामा व्यक्तिको सोच्ने र बुझ्ने क्षमतामा ह्रास आउने र सही निर्णय लिन नसक्ने डा. रोमानोफ बताउँछिन्। शरीरले भने यो अवस्थालाई राम्रोसँग बुझ्ने र यस्तो बेलामा आँसु आउने गरेको उनको भनाइ छ। उनी भन्छिन्, ‘रोएर निस्कने आँसुले श्वासप्रश्वासको गति, मुटुको धड्कन र नाडीलाई सामान्य बनाउँछ।’
अनुसन्धानका अनुसार रिसको आँसुका कारण शरीरमा अक्सिटोसिन र प्रोल्याक्टिन जस्ता हर्मोन निस्किन्छन्।। यी हार्मोनहरूले शरीरलाई सामान्य बनाउन प्रभावकारी भूमिका खेल्ने भएर क्रोधको आँसुलाई पनि शक्तिशाली आँसुका रुपमा हेरिन्छ।
आँसु बगाउँदा शरीरलाई आराम मिल्ने डा. रोमानोफको तर्क छ। अरुको अगाडि रुनुलाई कमजोरीका रुपमा लिए पनि आँसुले हरेकखाले भावनालाई नियन्त्रण गर्ने रोमानोफको भनाइ छ। भन्छिन्, ‘आँसु नराम्रो कुरा होइन। सधैँ आँसुलाई रोक्ने प्रयास गर्नु पनि जरुरी छैन् आँसुले हाम्रो हृदय, दिमाग र शरीरलाई धेरै तरिकाले फाइदा पु¥याउँछ। चाहे त्यो सुखको आँसु होस् वा दुःखको होस् अथवा क्रोधको आँसु होस्।’
मानिसको शरीरमा ‘कोर्टिसोल’ नामक रसायन हुने र यसले मानिसमा डिप्रेसन, चिन्ता र उच्च रक्तचाप निम्त्याउने रोमानोफले बताएकी छिन्। भन्छिन्, ‘यो रसायनलाई शरीरबाट बाहिर निकाल्ने एउटै उपाय खुलेर रुनु हो। यो आँसुको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ। रोएर शरीरमा कोर्टिसोलको मात्रा कम हुन्छ र मानिस खुसी, स्वस्थ र ताजा महसुस गर्न थाल्दछन्।’
नेसनल लाइब्रेरी अफ मेडिसिनको रिपोर्ट अनुसार महिला र बालबालिकाले वयस्क पुरुषको तुलनामा बढी आँसु बगाउँछन्। यस्ता मानिसहरुमा रिसको आँसु अर्थात् रिसमा आँसु आउने सम्भावना बढी हुन्छ। नेसनल लाइब्रेरी अफ मेडिसिनको रिपोर्ट अनुसार औसतमा एक महिला महिनामा ४ पटक र पुरुष १ पटक मात्रै रुने गर्छन्। एजेन्सी
Shares
प्रतिक्रिया