समाज


शालीन मृत्यु प्रकरणः दुरुत्साहनको अभियोग लागेका तीनैजना धरौटीमा रिहा

शालीन मृत्यु प्रकरणः दुरुत्साहनको अभियोग लागेका तीनैजना धरौटीमा रिहा

नेपालखबर
चैत ६, २०८० मंगलबार १८:२०, हेटौंडा

चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालीन पोखरेलको आत्महत्या दुरुत्साहन मुद्दामा तीनै अभियुक्त धरौटीमा रिहा भएका छन्।

मंगलबार जिल्ला अदालत चितवनका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले पक्राउ परेका तीन शिक्षकलाई धरौटी जमानीमा छोडेर मुद्दा अघि बढाउन आदेश दिएको हो।

घटनाको २० दिन लामो अनुसन्धानपछि स्कुलका प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्माविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग लगाइएको छ।

सोमबारदेखि भएको थुनछेक बहसपछि न्यायाधीश ज्ञवालीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटालाई तीन लाख, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्राबासका वार्डेन कमलप्रसाद शर्मालाई पाँच–पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले तीनै जना शिक्षकविरुद्ध शालीनको मृत्युमा आत्महत्या दुरुत्साहनको अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो।

उनीहरूलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि तारेखमा छाड्ने भनेर सोमबार बहस सुरू भएको थियो। सोमबार नसकिएपछि मंगलबार पनि बहस भएको हो।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

१४ वर्षीया शालिन फागुन १२ गते बिहान सवा १० बजेतिर होस्टेलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

उनलाई मृत अवस्थमा भेटिएपछि शालिनका आफन्तले विद्यालयका तीन शिक्षकविरुद्ध काका दीपेन्द्र पोखरेलले किटानी जाहेरी दिएका थिए।

घटनाको २० दिन लामो अनुसन्धानपछि प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्माविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोग लगाइएको थियो। तीनै जना शिक्षक किटानी जाहेरी परेकै दिन फागुन १५ गतेदेखि प्रहरी हिरासतमा थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .