ad ad

जीवनशैली


‘सुरुवाती अवस्थामा नै अल्जाइमर्सको पहिचान गर्नसके जोखिम कम हुन्छ’

‘सुरुवाती अवस्थामा नै अल्जाइमर्सको पहिचान गर्नसके जोखिम कम हुन्छ’

न्युरोलोजिष्ट डा. राजु पौडेल


नेपालखबर
असोज ४, २०८० बिहिबार १६:३२, काठमाडौँ

सुरुवाती अवस्थामा नै अल्जाईमर्सको पहिचान गरि नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन्।

विश्व अल्जाइमर्स दिवसको अवसरमा बिहीवार ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौंले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले शुरुवाति अवस्थामा नै अल्जाइमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका हुन्।

बिर्सिने रोग परिवारमा धेरैलाई नै भएको हुनसक्ने भन्दै शुरुवातमा रोगको निदान आवश्यक पर्ने विज्ञहरुको जोड छ। अल्जाईमर्स रोग (विस्मृति) बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो। यो रोग लागेको व्यक्तिमा शुरुवातमा स्मरणशक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुरा गर्न र प्रतिकृया दिन असक्षम हुने हुन्छ।

विज्ञहरुका अनुसार अल्जाइमर्स रोगले सोचाई, स्मरणशक्ति र भाषा नियन्त्रण गर्ने मस्तिष्कका भागमा असर पुर्याई व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ। बारम्बार एउटै कुराहरु सोधिरहनु, आफूले राखेका सामानहरु फेला पार्न नसक्नु, नियमित गरिरहने कार्यहरु गर्न अफ्ठ्यारो हुनु, सामान्य समस्याहरु समाधान गर्न नसक्नु, मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, स्वविवेक शक्ति क्षीण हुनु, देखेका कुराहरु नचिन्नु अल्जाइमर्स रोगका लक्षणहरु हुन्।

न्युरोलोजिष्ट डा. राजु पौडेलले अल्जाइमर्सलाई विस्मृति रोगका रुपमा चिनिने भन्दै यो समस्या अधिकांश ६५ वर्ष उमेर पूरा भएपछि देखापर्ने बताए। अल्जाईमर्स हुनुको मुख्य कारण स्मरण शक्ति ह्रास हुनुु भएको भन्दै बेलैमा पत्ता लगाए थप जोखिम नहुने बताए। उनले अल्जाईमर्स हुन नदिन जनचेतना आवश्यक पर्ने भन्दै यो रोग लागिसकेपछि दिमागको कोषिकाका तन्तुहरु बिस्तारै सुक्दै जाने बताए।

उनले भने, ‘अल्जाईमर्स डिजीज भनेको विस्मृति रोग हो। यसमा स्मरण शक्ति ह्रास हुने सबैभन्दा महत्वपूर्ण कारण हो। धेरैजसो ६५ वर्षको उमेरमा यो रोग देखिन्छ। यो लाग्नुको कारण चाहिँ दिमागमा जुन कोषिकाहरु हुन्छन्, कोषिकाका तन्तुहरु बिस्तारै सुक्दै जान्छ। र, उमेरसँगै बढ्दै गएर स्मरण शक्ति हुने ठाउँमा असर गर्छ। र, स्मरण शक्ति ह्रास हुन जान्छ। बिस्तारै बढ्दै गएर बानी व्यवहारमा परिवर्तन आउने सँगै बिरामीलाई विभिन्न लक्षणहरु आउन सक्छ।’

डा. पौडेलले नेपालमा अनुमानित एक लाख ३० हजार व्यक्तिमा विस्मृति रोग हुन सक्ने आँकडाले देखाएको बताए। उनले अल्जाईमर्स भएका व्यक्तिहरुले गुणस्तरीय स्वस्थ जीवन अवलम्वन गर्नुपर्ने बताए। अल्जाईमर्स भएकाहरुले धेरै चिल्लो पदार्थ र नुन धेरै खान नहुने र सुगर भएमा यसको उपचार गर्नुपर्ने बताए। उनले रक्तचाप नियन्त्रण गर्नुपर्ने भन्दै समयमै उपचार गर्न सके अल्जाईमर्स बढ्ने क्रमलाइ कम गर्न सकिने बताए। अल्जाईमर्स भएकाहरुले नियमित व्यायाम गर्नुपर्ने र सुर्तीजन्य तथा मादकपदार्थ सेवन गर्न नहुने बताए। अल्जाइमर्स भइहाले स्मरणशक्ति बढाउने खालको औषधिहरु दिन सकिने बताए।

उनले थपे, ‘ठ्याक्कै यसको निको हुने उपचार छैन। तर, बढ्नेलाई सुस्त गराउने विभिन्न औषधिहरु छ र स्मरणशक्ति बढाउने खालको औषधिहरु दिनसक्छौँ। जसले गर्दा उनीहरुको स्मरणशक्तिमा केही सुधार हुन्छ। र, बढ्ने क्रमलाई सुस्तता गराउँछ। अल्जाईमर्सहरुको हेल्दी लाइफस्टाइल हुनुपर्छ। ब्लडप्रेसर छ भने प्रेसरलाई कन्ट्रोल गर्नुपर्छ। उनीहरुलाई स्वस्थ खाना दिनुपर्छ। धेरै चिल्लो दिनुभएन, नुन कम दिने। सुगर छ भने सुगरको उपचार गर्नुपर्यो। भेजिटेबलहरु धेरै खुवाउनुपर्छ। फलफूल पर्याप्त मात्रामा दिनुपर्छ। नियमित व्यायाम गर्नुपर्छ, चुरोट रक्सी सेवन गर्नुहुँदैन। लाईफस्टाईललाई चेन्ज गर्यौ भने दिमागलाई कन्ट्रोल गर्नसक्छौ।’

मधुमेह, अत्याधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रुपमा निष्क्रिय जीवनशैली लगायतका कारण अल्जाइमर्सको जोखिम बढ्ने विज्ञहरु बताउँछन्। ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुको जोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .