ad ad

जीवनशैली


तन र मन दुवै दुरुस्त राख्ने हाइकिङ

तन र मन दुवै दुरुस्त राख्ने हाइकिङ

समृद्धा केसी
बैशाख २३, २०८० शनिबार ७:५८, काठमाडौँ

पाँच पर्ष भयो, अन्जन भण्डारी काठमाडौं नजिकका डाँडाकाँडा हिँड्न थालेको। अन्य दिन पढाइसँगै जागिरमा व्यस्त हुने उनी बिदाका दिन भने झोला बोकेर वनजंगल चहार्न निस्किन्छन्।

साताको ६ दिन उनी अफिस र पढाइलाई दिन्छन् तर शनिबार भने आफूलाई दिन्छन्। साथीभाइसँग हाइकिङ र फुटसल खेल्ने उनको दैनिकी नै बनिसकेको छ। 

उसो त अन्जन स्वास्थ्यप्रति सचेत छन्। उनी काठमाडौं वरिपरिका प्रायः रुटहरुमा हाइकिङ गइसकेका छन्। 

पाल्पामा जन्मिएका अन्जन काठमाडौंको खाल्डोमा बस्दा–बस्दा दिक्क भएपछि हाइकिङ जान सुरु गरेका थिए। रहरले सुरु गरे पनि अहिले त अन्जनको जीवनको एउटा पाटो जस्तै बनिसकेको छ हाइकिङ। अहिले यति बानी भइसक्यो कि, एउटा शनिबार मात्र पनि हाइकिङ जान पाएन भने औषधिको मात्रा छुटेजस्तो अनुभव गर्छन्।

‘लाग्नु पर्ने थकाइ लागेन भने त प्याटर्न बिग्रिन्छ नि,’ अन्जन भन्छन्, ‘हप्ताभरि काम गर्‍यो, एक दिन हिँड्यो कति आनन्द आउँछ। वातावरण पनि रमाइलो। कोलाहलबाट एक दिन भए पनि टाढा भइयो। त्यसैले अहिले त हाइकिङको बानी नै भइसकेको छ। शनिबार आफैँ उठिन्छ। आफैँ तयारी गरिन्छ। खुट्टाले आफैँ लय खोज्छ।’

कारणवश कुनै हप्ता हाइक जान पाएनन् भने उनी अत्तालिन्छन् र बिदाका दिन पर्खिएर बस्छन्।

अन्जन भण्डारीको समूह

कुनै समय एक सय दुई किलोका अन्जन हाइकिङ, फुटसल र खानपिनमा ध्यान दिएर अहिले ७० किलोमा झरेका छन्। त्यसैले पनि हाइकिङसँगको सम्बन्ध गहिरो रहेको उनी सुुनाउँछन्। हाइकिङले तौल कम गर्नमा प्रोत्साहन दिएको अन्जन बताउँछन्। 

अन्जनलाई सबै भन्दा बढी मन पर्ने रुट चाहिँ सुन्दरजल देखि चिसापानी र सुन्दरीजलदेखि तारेभीर हो। 

हप्तामा एकदिन हिँड्ने बानीले धेरै फाइदा पुगेको उनले सुनाए। 

‘सहरी जीवनशैली र वातावरण त्यति राम्रो छैन,’ उनले भने, ‘हप्तामा एकदिन हिँड्ने बानीले नयाँ उर्जा ल्याएको अनुभव मैले गरेँ। त्यसैले सकेसम्म सबैले हप्तामा एक दिन हिँड्नै पर्छजस्तो लाग्छ।’

विमला राई हाइकिङ जान थालेको चार वर्ष भयो। उनी पनि काठमाडौं नजिकका सबै रुटमा गइसकेकी छन्। दाइहरुसँग हाइकिङ जान थालेकी उनको अहिले दैनिकीको अभिन्न अंग बनिसकेको छ।

घण्टौँ हिँडेर जब उनी गन्तव्यमा पुग्छिन्, तब आफूलाई निकै फरक पाउँछिन्। 

‘शरीरिक थकान एकातिर त हुन्छ नै,’ उनले भनिन्, ‘तर म आफूलाई मानसिक रुपमै ताजा र आनन्द आएको महसुुस गर्छु।’

तर हाइकिङ रुटहरुमा फोहोर व्यवस्थापन भने राम्रोसँग हुन नसकेको उनले बताइन्। 

विमला राई

‘केही रुटहरुमा त धेरै नै फोहोर हुन्छ। त्यो देख्दा त म सहरमै छु जस्तो लाग्छ,’ विमलाले भनिन्, ‘पानी पर्न थालेपछि हिँड्न अलि गाह्रो हुन्छ। जुका लाग्ने, लामखुट्टेले टोक्ने हुन्छ, त्यही अनुसार जोगिएर हिँड्नु पर्छ।’

लेखक तथा शिक्षक अशोकविक्रम जीसी पनि हाइकिङ निकै मन पराउँछन्। मिलेसम्म उनी हरेक हप्ता नै हाइकिङ जान्छन्। 

प्रकृतिको काखमा पुग्दा साहित्य, सिर्जना पढ्न र लेख्न छुट्टै मजा आउने भएकाले उनले हाइकिङलाई दैनिकी बनाएका हुन्। 

‘काठमाडौंको खाल्डो, त्यो धुवाँ–धुलोबाट हरियाली डाँडाकाँडा पुग्दा निकै रिफ्रेसमेन्ट प्राप्त हुन्छ,’ जीसीले भने, ‘महिनाको दुईतीन पटक हाइकिङ जाँदा स्वास्थ्यलाई त राम्रो हुन्छ नै। आफ्नो लेखन प्रतिभा प्रस्फुटन गर्न पनि सजिलो हुन्छ। त्यसैले हरेक मानिस जानु पर्छजस्तो लाग्छ। नेपालमा धेरै राम्रो ठाउँहरु पनि छन्।

अशोक जिसीको समूह

व्यस्त जीवनशैली र तनावबाट मुक्ति पाउनका लागि पनि नयाँ–नयाँ ठाउँमा हाइकिङ र भ्रमण गर्दा नयाँ उर्जा प्राप्त हुने जीसीले बताए। 

‘हाइकिङबाट फर्किएपछि छुट्टै आनन्द आउँछ। निद्रा पनि राम्रो लाग्छ। काममा निकै जोसजाँगर आउँछ,’ उनले भने। 

हाइकिङमा बढ्दो रुचि 
केही वर्षयता काठमाडौंनजिक र टाढा पनि हाइकिङ धेरैको रुचिको विषय बनेको  हाइक फर नेपालका अध्यक्ष गणेश शर्मा बताउँछन्।  

जामाचो
 

नेपालमा भूकम्पपछि पर्यटक आउन ठप्पजस्तै भएका बेला जन्मिएको हाइक फर नेपालले काठमाडौं उपत्यका वरिपरि गरेर झन्डै दुई सय पटक हाइकिङ आयोजना गरिसकेको छ।

‘हामीले नेपाल सुरक्षित छ, हिँड्न मिल्छ भनेर अभियान सञ्चालन गरेको थियौँ,’ उनले भने।  

काठमाडौं नजिकका रुटहरुमा मात्र नभएर अन्नपूर्ण पदमार्ग तथा सगरमाथा आधारशिविरिसम्म पनि हाइकिङ लगिसकेको शर्माले सुनाए। 

‘अहिलेसम्म काठमाडौं वरिपरिका एक सय ९९ वटा हाइक गरिसकेका छौं,’ अध्यक्ष शर्मा भन्छन्, ‘अब आउने हप्ता दुई सय वटा पुग्छ। सायद सबैभन्दा बढी हाइक लैजाने हामी नै होला।’

पहिले हाइकिङ जाने बढी विदेशी भए पनि अहिले चाहिँ नेपाली नै बढी रहेको समेत उनले बताए। हाइक फर नेपालले महिनाको दुई पटक ६०÷७० जनालाई हाइक लगरिहेको छ। 

जानेआउने खर्च र गाइड पनि लैजाने भएकाले प्रतिव्यक्ति सात सय शुल्क लिने गरेको शर्माले बताए। 

‘पहिले मानिसहरु मर्निङवाक धेरै जान्थे,’ अध्यक्ष शर्मा भन्छन्, ‘अहिले धेरै व्यक्ति काठमाडौं नजिकका सुन्दर प्रकृति हेर्न जाने गर्छन्।’ 

हप्ताको एक दिन ६/७ घण्टा हिँड्दा स्वस्थ्य भइन्छ भनेर मानिसमा चेतना आएकाले धेरैको रुचि हाइकिङमा बढेको उनको भनाइ छ।

‘सुरुमा धेरै हिँड्न सकिँदैन। हामी हौसला दिन्छौं। बिस्तारै बानी हुन्छ। हिँड्नु पर्छ स्वास्थ्यका लागि पनि राम्रो हुन्छ भनेर कतिले भनेको मान्नुहुन्छ, कतिले बीचमै छोड्छन्,’ शर्माले भने। 

सुरुमा हिँड्न नसकेर रुने मान्छे अहिले डाँडा चढ्न गइसकेको समेत उनी बताउँछन्। 

‘हाइकिङ यो उमेरले मात्र गर्नु पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘हामीकहाँ स्कुले केटाकेटीदेखि ५०/५५ वर्षका पनि आउनु हुन्छ।’

स्वास्थ्य र आफ्नो ठाउँ चिन्नमा हाइकिङले धेरै मद्दत गर्ने भएकाले हिँड्ने बानी बसाल्नुपर्ने शर्माले बताए। 

स्वास्थ्यका लागि महत्वपूर्ण हाइकिङ 
हाइकिङ जानु स्वास्थ्यका लागि निकै राम्रो मानिने मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्य बताउँछन्। 

‘हिँडाइले मुटुलाई धेरै स्वस्थ बनाउँछ,’ उनले भने, ‘पहिले वैशाख १ गते पहाड चढ्ने गरिन्थ्यो र मन्दिर पनि धेरै टाढा हुन्थे। पहिलाका मानिसहरुले धेरै सोचेर यो कुरा गरेका गरेछन् भन्ने लाग्छ।’

अहिलेका मानिस आफ्नो लागि समय नदिने र काममा दौडिँदादौडिँदै धेरै तनावमा हुने भएकाले त्यसलाई कम गर्न हाइकिङ उत्तम विकल्प बनेको डा. वैद्य बताउँछन्। 

‘हाइकिङ जाँदा मानसिक तनाव पनि धेरै कम हुन्छ,’ डा. वैद्यले भने, ‘हाम्रो तनाव कम हुदा रक्तचाप पनि कम हुन्छ। १५ मिनेट मात्र उकालो चढ्यो भने मुटुलाई लोड पर्छ र मुटु हृष्टपुष्ट हुन्छ।’ 

जति धेरै तनाव हुन्छ रक्तनलीहरु पनि उत्तिकै खुम्चिने र रक्तचाप बढ्ने हुनाले त्यसलाई हाइकिङले धेरै कम गर्ने उनको भनाइ छ।

‘हाइकिङ जानु शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक छ,’ डा. उनले भने।

खुट्टाका जोर्नीमा समस्या भएकाहरुलाई मात्र हाइकिङ जाँदा गाह्रो हुने नत्र सबै जान मिल्ने डा. वैद्य बताउँछन्। 

डा. वैद्यका अनुसार सकिन्छ भने हरेक हप्ता वा महिनाको दुई पटक जति हाइकिङ जानै पर्छ। 

मानसिक रोग विशेषज्ञ डा. आनन्द अधिकारी भन्छन्, ‘हाइकिङले  शरीर स्वस्थ पार्न मद्दत गर्छ भन्ने धेरैलाई थाहा नै छ। तर धेरै कमलाई मात्र थाहा छ कि यसले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न पनि निकै सहयोग गर्छ।’

हाइकिङ मानसिक स्वास्थ्यसँग तथ्यसंगत रुपमा नजोडिए पनि हाइकिङ जस्ता शारीरिक क्रियाकलापले मानसिक स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पार्ने डा. अधिकारी बताउँछन्। 

‘हामीले सधैँ गर्ने दैनिक कामबाट शरीर त थाकेकै हुन्छ। हाम्रो दिमाग पनि थाकेको हुन्छ,’ उनले भने, ‘हाइकिङ जाँदा नयाँ ठाउँ र प्रकृतिसँग जोडिने भएकाले मस्तिष्कले पनि आनन्द लिने गर्छ।’

चल्तीका हाइकिङ रुट 
बल्थली 
काठमाडौंबाट १० किलोमिटर दुरीमा रहेको काभ्रेको बल्थली अहिले हाइकिङको प्रमुख रोजाइ बन्दै गएको हाइक फर नेपालका अध्यक्ष गणेश शर्मा बताउँछन्। 

काठमाडौंबाट ५/६ घण्टामा पुग्न सकिने बल्थलीलाई पर्यटकीय स्थल भनेर पनि चिनिन्छ। 

बल्थली डाँडाबाट सगरमाथा, गणेश, नुम्बुर, लाङटाङ हिमालहरू हेर्न सकिन्छ।  

नागार्जुन 
काठमाडौंबाट नागार्जुनको दुरी ९ किलोमिटर छ। नागार्जुन हाइकका लागि मात्र नभएर यसको ठूलो ऐतिहासिक महत्व पनि छ।  

नागार्जुन हाइकिङ बालाजु बाइपासको फूलबारीबाट सुरु हुन्छ। नागार्जुनबाट डाँडामा जामाचो गुम्बा र भ्यु टावर छ।

डाँडाबाट लाङटाङ अन्नपूर्णलगायत हिमशृंखला र उपत्यका देख्न सकिन्छ।

फुल्चोकी 
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो पहाड भनेर फुल्चोकीलाई लिइन्छ। हाइकिङका लागि धेरैको रोजाइमा फुल्चोकी पर्छ। 

गोदाबारीलाई कोल्टे पार्दै फुल्चोकी जानका लागि १९ किलोमिटर हाइक गर्नु पर्छ।

फुल्चोकी डाँडाबाट अन्नपूर्ण र गौरीशंकर, सगरमाथा र मनास्लु हिमाल हेर्न सकिन्छ। 

नगरकोट 
पर्यकीय गन्तव्य समेत मानिने नगरकोट हाइङिका लागि चाँगुनारायण–तेलकोटको बाटो बढी प्रयोग गरिन्छ। 

नगरकोटबाट अन्नपूर्ण, गणेश, दोर्जे लाक्पा, लाङटाङदेखि सगरमाथा हिमाल हेर्न सकिन्छ। 

सुन्दरीजल
सुन्दरीजलबाट चिसापानीसम्म जान सकिन्छ। सुन्दरीजल हाइकिङको दुरी १४ किलोमिटर रहेको छ। यो बाटो शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै जान्छ।

पिकनिक र घुम्नका लागि चर्चित ठाउँ पनि हो सुन्दरीजल। सुन्दरीजलमा रमणीय झरनाहरु छन्। 

सुन्दरीजलबाट मूलखर्क हुँदै ओखेनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट पनि छन्।

चम्पादेवी 
चम्पादेवी हाइकिङको दुरी १४ किलोमिटर छ। चम्पादेवीबाट गौरीशंकर, लाङटाङ र अन्नपूर्णलगायत हिमशृंखला देख्न सकिन्छ।

चम्पादेवी कीर्तिपुरको मच्छेगाउँ हुँदै पनि जान सकिन्छ। 

काठमाडौँबाट नजिक पर्ने अन्य रुटहरुमा बालाजुबाट जोमाचो, थानकोटदेखि चन्द्रागिरी, जगडोलदेखि तारेभीर, पानीमुहानदेखि देउराली नगरकोट पनि पर्छन्।

हाइकिङ जाँदा ध्यान दिनुपर्ने कुरा 
हाइकिङ जाँदा प्रशस्त पानी, हलुका खानेकुरा बोक्ने, सजिलो जुत्ता लगाउने, पसिना ओभाउने खालको कपडा लगाउने गर्नुपर्छ। र हाइकिङ कुन रुटमा जाने हो, त्यहाँको स्थान र नक्साबारे जानकारी राख्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .