ad ad

जीवनशैली


जसले अप्रेसन नगरी पत्थरी निकाल्ने प्रविधि भित्र्याए

जसले अप्रेसन नगरी पत्थरी निकाल्ने प्रविधि भित्र्याए

तस्बिर : सरोज बैजु/नेपालखबर


समृद्धा केसी
बैशाख ७, २०८० बिहिबार ९:३, काठमाडौँ

‘डाक्टर साब, कता हुनुहुन्छ?’

‘लक्ष्मी थिएटरमा अप्रेसन गर्दै हुनुहुन्छ, अब सकिने बेला भयो,’ एक कर्मचारीले उत्तर दिए। 

अप्रेसन थिएटरको नाम लक्ष्मी, म उत्सुक भएँ।

केही छिनको पर्खाइपछि ५५ वर्षीय कन्सल्ट्यान्ट युरोलोजिस्ट डा. सञ्जय खड्गी असिनपसिन हुँदै क्याबिनमा आइपुग्छन्। 

‘तपाईंहरुले कुर्नु पर्‍यो। मिर्गौला स्टोनको सर्जरी गर्दै थिएँ। सोचेको भन्दा बढी समय लाग्यो,’ ढिलो हुनुको कारण उनले प्रस्ट पारे र आफ्नो बाल्यकालको स्मृतिमा फर्किए।

बाल्यवस्थामा उनी राम्रो कुराप्रति छिटो आकर्षित हुन्थे। सानोमा ज्वरो आएर आमाले उनलाई क्लिनिकमा लैजाँदा डाक्टरले फकाउँदै, माया गर्दै, मिठो बोल्दै उनलाई उपचार गरे। घर गएपछि उनले भने, ‘म डाक्टर बन्ने हो।’

बुझ्ने भएपछि उनले मेडिकल क्षेत्रको महत्व राम्ररी बुझ्छन् र डाक्टरी नै पढ्ने अठोट लिन्छन्।

सन् १९६८ मा पाटन ढोकामा जन्मिएका डा. खड्गीले जाउलाखेलको आदर्श विद्या मन्दिरबाट एसएलसी दिएका हुन्। आईएस्सी पढ्न भारतको पुणे जान्छन्। उनलाई खेलकुदमा पनि उत्तिकै रुचि थियो। पढाइसँगै खेललाई पनि उनले अगाडि बढाइरहेका थिए। ०३८ मा जिम्नास्टिकमा दुई वटा गोल्डमेडल पाउने कान्छो खेलाडी भनेर पनि उनी चिनिएका थिए। 

एसएलसी र आईएस्सीमा ठिकै नम्बर ल्याएर पास गरेका थिए। उच्च अंक ल्याउने विद्यार्थीका लागि मात्र चिकित्सा अध्ययन खुला थियो।

नेपाल र भारतमा पढ्न सम्भव नभएपछि उनी अन्य देश जाने तयारी गर्छन्। उनले खोजेकै जस्तो रुसमा पढाइको सम्पूर्ण खर्च आफैँ तिरेर डाक्टर पढ्न पाइने भएपछि उनी १९९१ मा रुस जान्छन्। 

व्यापारिक घरानामा जन्मिएका उनी चार दिदी र चार दाजुपछिका कान्छो भाइ हुन्। परिवारमा सबैले उच्च शिक्षा हासिल गरे पनि उनी घरको पहिलो डाक्टर बन्दै थिए त्यसैले पनि होला उनलाई सबैले धेरै सहयोग गरे। 

युरोलोजीप्रतिको झुकाव
रुसबाट एमबीबीएसको सात वर्षे कोर्स पुरा गरेर १९९८ मा उनी नेपाल फर्किए। त्यसपछि उनी वीर अस्पतालमा कहिले युरोलोजी र  जनरल सर्जरीमा चार वर्ष काम गर्छन्। 

‘अन्य डिपार्टभन्दा युरोलोजीमा काम गर्दा मन छोयो। बुढाबुढीले धेरैले पिसाब थैली झुण्ड्याएर बसेको देख्थेँ। कसैको पिसाबमा रगत आएको, कसैको के भएको बिरामी देख्थेँ,’ उनले भने, ‘त्यसले मेरो मन धेरै छोयो। बिरामीहरु प्युठान, हुम्ला, जुम्लाजस्ता विकट ठाउँबाट आएर सर्जरीको पालो कुरेर बस्थे।’ 

त्यसपछि उनले युरोलोजीमै विशेषज्ञता हासिल गर्ने सोच बनाउंँछन्। तर सोचेजस्तो सजिलो थिएन त्योबेला। किनभने सोझै युरोलोजी पढ्न पाइँदैनथ्यो। पहिले तीन वर्ष जनरल सर्जरी पढ्नुपर्थ्यो। 

तर, सन् २००० तिर एउटा मौका आयो। एमबीबीएस सकिनेबित्तिकै सिधै एमडी हासिल गर्न पाइने भएपछि उनी युरोलोजिमा एमडी गर्न चीन जान्छन्। र, चीनमा उनले युरोलोजी मात्र होइन, इन्डोयुरोलोजी पनि पढ्छन्। 

युरोलोजीमा मूत्र प्रणालीमा समस्या हुँदा पेट चिरेर शल्यक्रिया गरिन्छ तर इन्डोयुरोलोजीमा ठूलो चिरफार नगरी इन्डोस्कोपीद्वारी दुरबिनकोे मद्दतले सर्जरी गरिन्छ।

२००५ मा युरोलोजिस्ट तथा इन्डोयुरोलोजिस्ट बनेर उनी नेपाल फर्किन्छन्।

‘अहिले म खासै ओपन सर्जरी गर्दिनँ। अहिले संसारभर मूत्र प्रणालीका ९० प्रतिशत काम इन्डोयुरोलोजीबाटै हुन्छ,’ उनले भने, ‘त्यसो गर्दा बिरामीलाई धेरै सजिलो हुन्छ। आज सानो प्वाल बनाएर अप्रेसन गर्‍यो, भोलि डिस्र्चाज हुन्छ। नयाँ प्रविधिले अहिले धेरै सजिलो बनाएको छ।’

अनि पहिलो पटक नेपाल भित्रियो मिनी पीसीएनएल 
मिनी पीसीएनएलमा मूत्र प्रणाली र मिर्गौलामा भएको ठूलो पत्थर निकाल्ने नयाँ प्रविधि हो। ढाडमा एउटा सानो प्वाल बनाएर दुरबिनको सहायतामा पत्थर निकाल्ने प्रविधिलाई मिनी पीसीएनएल भनिने उनले बताए। जुन प्रविधि नेपालमा सन् २००५ मा डा. खड्गीले भित्र्याएका हुन्। 

‘ढाडमा एउटा मात्र सानो प्वाल बनाएर मूत्र प्रणाली र मिर्गौलामा भएको ७० एमएमको स्टोन मिनी पीसीएनएलबाट निकालेको छु,’ उनले भने, ‘कन्भेन्सनल पीसीएनएल अर्थात् अलि ठूलो प्वाल बनाएर गर्ने चाहिँ नेपालमा पहिला नै आइसकेको थियो। तर यो चाहिँ प्रविधि मैले नै पहिलो पटक नेपाल भित्र्याएको हो।’

मिनी पीसीएनएल सन् १९६७ मा स्विडेनबाट सुरु भएको तर प्रभावकारी रुपमा प्रयोगमा आउन नसकेको डा. खड्गीले बताए। चिनियाँ प्रोफेसरहरुले त्यही प्रविधिलाई केही मोडिफाइ गरेर १९९८ देखि लगातार प्रयोगमा ल्याएका थिए। 

चीन त्यही प्रविधि विकास गर्ने प्रोफेसरसँग डा. खड्गीको भेट हुन्छ। प्रोफेसरकै टिम सहित उनी धुलिखेल अस्पताल जान्छन् र ३० जना बिरामीको निशुल्क मिनी पीसीएनएल सर्जरी गरेर पत्थरी निकाल्छन्। सबै शल्यक्रिया सफल भएपछि उनलाई हिम्मत आउँछ र संसारभर मिनी पीसीएनएल पुर्‍याउने सोच बनाउँछन्। 

त्यो बेलासम्म चीनबाहेक अन्य मुलुकमा यो प्रविधि खासै उपयोग हुन सकेको थिएन।

चीनबाट फर्किएपछि उनी नर्भिक अस्पतालमा काम गर्न थाल्छन्।  मिनी पीसीएनएलबाट नै सर्जरी गरे। तर एक्लैले गर्न नसक्ने भएकाले चिनियाँ प्रोफेसरलाई एक वर्षसम्म बोलाएर उनले नर्भिकमा मिनी पीसीएनएल सर्जरी गरे। 

‘उहाँलाई एक वर्षसम्म बोलाइरहेँ। उहाँ सँगै बस्नु हुन्थ्यो अनि मैले सर्जरी सिक्थेँ,’ उनले भने, ‘परिवारको सहयोगले मिनी पीसीएनएल गर्ने समाग्री म आफैँले चीनबाट ल्याएको थिए।’

सुरुमा पेट नै नचिरी पत्थरी निकाल्ने भने कुरालाई धेरैले विश्वास गर्न नसकेको उनले सुनाए। मिनी पीसीएनएल नेपाल भित्र्याउँदै गर्दा उनलाई त्यसमा कुनै शंका थिएन। तर नेपालका लागि नयाँ भएकाले केही चुनौतीको सामना गर्नु परेको उनले बताए।

‘तर म पछाडि हटिनँ,’ उनले भने, ‘नेपाल मात्र होइन, संसारभर नै यो प्रविधि लैजाने सोच बनाएँ। किनभने चिनियाँहरुको अंग्रेजी त्यति हाम्रो थिएन। कोअर्डिनेसन थिएन। मैले नै पपुलर गर्ने सोच बनाएँ।’

‘त्यो बेला भुक्नेहरु धेरै थिए तर म पछाडि हटिनँ। आफ्नो काम गर्दै गएँ। मलाई थाहा थियो, यो टेक्नोलोजीले संसार हल्लाउँछ भनेर,’ उनले थपे। 

डा. खड्गीले मिनी पीसीएनएल धेरै देशमा पुर्‍याएको बताए। जुन देशमा जाँदा पनि  सोही प्रविधिको बारेमा प्रिजेन्टेसन दिने गरेको उनले बताए। अहिले एकदमै राम्रो पिकअप लिइसकेको समेत उनी बताउँछन्। 

दुई दर्जनभन्दा बढी लाइभ सर्जरी 
उनले नेपालबाहेक अरु देशमा दुई दर्जनभन्दा बढी लाइभ सर्जरी गरिसकेका छन्। 

‘सायद नेपालबाट यति धेरै लाइभ सर्जरी गर्ने कोह् िपनि डाक्टर छैन होला,’ उनी भन्छन्, ‘मैले सन् २०१३ मा पेरिसमा पहिलो पटक लाइभ सर्जरी गरो।’

बर्लिन, कुबेत, दोहा, पाकिस्तान, मोरक्को र सबैभन्दा धेरै भारतमा भिडिओ कन्फ्रेन्समार्फत दुई दर्जन भन्दा बढी लाइभ सर्जरी गरिसकेको उनी बताउँछन्। 

‘कन्फ्रेन्समा आएका सयौंले लाइभ सर्जरी हेरिरहेको देखेर म पहिलो पटक नर्भस  भएको थिएँ। तर बिस्तारै बानी हुँदै गयो। अहिले त रमाइलो लाग्छ,’ उनले भने, ‘मलाई नेपाली स्टोन मास्टर भनेर चिन्छन्। सहभागीका रुपमा होइन, पाहुनाको रुपमा बोलाउँछन्।’

खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी 
उनले नर्भिक अस्पतालमा पाँच वर्ष काम गरे। त्यसपछि त्यसपछि भेनस अस्पतालमा पनि काम गरे। 

२०१३ मा पार्टनरसिपमा उनले निदान अस्पताल सञ्चालनमा ल्याउँछन्। तर सोचे जस्तो हुन नसकेपछि निदानबाट छुटिन्छन्। वयोधा र शुभेच्छा अस्पतालमा पनि काम गर्छन्। 

लामो समय अरुको अस्पतालमा काम गर्दा सामाजिक सेवाको चाहना पुरा हुन नसकेकाले आफैँ अस्पताल खोल्ने निर्णयमा पुगेको उनी बताउँछन्।

ललितपुरको कुपण्डोलस्थित आरुस लाइफस्टाइल हस्पिटलको सहकार्यमा २५ शय्याको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी उनले दुई वर्षअघि १२ करोड लागतमा स्थापना गर्छन्। 

खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीका तीन वटा मुख्य उदेश्य रहेको उनले बताए।

‘पहिलो उदेश्य भनेको इन्डोयुरोलोजीद्वारा पत्थरीको सर्जरी गर्ने, दोस्रो, देश–विदेशका युरोलोजिस्टलाई तालिम दिने र विपन्न नागरिकलाई सरकारी सेवाभन्दा पनि कम शुल्कमा उपचार गर्ने,’ उनले भने, ‘हामीकहाँ अमेरिका र यूकेबाट पनि तालिम लिन विशेषज्ञहरु आइसक्नु भएको छ।’

इन्स्टिच्युटमा दिनको चार जनाका दरले  विपन्न बिरामीलाई सर्जरी गरिन्छ। त्यसका लागि वडाको सिफारिस ल्याउनु पर्ने हुन्छ। 

सरकारी शुल्क भन्दा कम भनिएता पनि त्यति पैसा पनि नहुने बिरामीलाई निशुल्क पनि मिनी पीसीएनएलद्वारा शल्यक्रिया गरेर पत्थरी निकालिरहेको उनले बताए। 

युरोलोजीमा औजारहरु धेरै लाग्ने र निकै मंहगो पर्ने भएकाले अहिले नै सबै सेवा प्रदान गर्न नसकिने उनी बताउँछन्। 

‘म सानैबाट सामाजिक कार्यमा रुचि राख्थेँ,’ उनले भने, ‘सधैँभरि अरुकै अस्पतालमा सेवा दिँदै गर्दा प्रत्यक्षरुपमा कहिल्यै पनि बिरामीलाई मैले सोचे अनुसार आर्थिकरुपमा सहयोग गर्न सकिनँ कि भन्ने पनि लाग्यो। पैसा मात्र सबै चिज होइन। मेरो सिद्धान्त भनेको भएकासँग लिने हो र नभएकालाई सक्दो सहयोग गर्ने हो।’

कत्तिको मंहगो छ मिनी पीसीएनएल?
ओपन सर्जरी गरेर पत्थरी निकाल्ने भन्दा मिनी पीसीएनएल सर्जरी अलिकति मंहगो पर्ने डा. खड्गीले बताए। उनका अनुसार यसमा १ लाख २० हजारदेखि बढीमा २ लाख ५० हजारसम्म लाग्छ।

स्टोनको आकार हेरेर शुल्क तोकिने उनी बताउँछन्। ठूला पत्थरीहरु सर्जरी गर्दा  चार घण्टा भन्दा बढी समय लाग्ने र औजारहरु पनि बिग्रने सम्भावना बढी हुने भएकाले ठूलो स्टोनको सर्जरी गर्दा बढी शुल्क लाग्ने उनले सुनाए। 

उनका अनुसार विपन्न वर्गका लागि भने जति ठूलो पत्थरी भए पनि शल्यक्रिया गर्न जम्मा बीस हजार मात्र पर्छ र औषधि सबै गरेर बढीमा पचास हजारसम्म लाग्छ। 

दुई वर्षमा झन्डै दुई सय विपन्न नागरिकले सेवा लिइसकेको उनले बताए। तर सोचेजस्तो विपन्न नागरिकहरु सेवा लिन भने नआएको उनको भनाइ छ।

बुबा–आमाको नामबाट खोलिएका दुई अप्रेसन थिएटर 
इन्स्टिच्युटमा दायाँ र बायाँ मिर्गौलाका लागि छुट्टाछुट्टै थिएटर खोलिएको छ। जसको नाम बुबा–आमाको नामबाट राखिएको छ– रुद्र र लक्ष्मी। 

दायाँ मिर्गौलाको पत्थरी सर्जरी गर्दा रुद्र थिएटरमा बिरामीलाई राखिन्छ भने बायाँको गर्नु पर्दा लक्ष्मीमा लगिन्छ। 

डा. खड्गीका बुबा–आमा ६ वर्षपहिला नै बितिसकेकाले उनीहरुकै सम्झनामा नाम राखिएको उनले सुनाए। 

‘दायाँ मिर्गौलाको सर्जरी हुनेलाई रुद्र र बायाँको गर्दा लक्ष्मी नाम दिएको छु,’ उनले भने, ‘संयोग पनि कस्तो मिलेको, मेरो बुबा–आमाको नाम पनि आर र एलबाट सुरु हुने। यसरी राखिदिँदा बिरामी पनि खासै कन्फ्युज हुँदैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .