टाउकोमा निलो टोपी, पुक्क फुलेका गाला। गुलाबी र सेतो कोठे सर्ट लगाएकी उनी घरी मास्क मिलाउँथिन्, घरी हातका औँला नियाल्थिन्।
बुबासँग पाटन अस्पताल आएकी हुन् कालिकोटकी ११ वर्षीया ‘कोपिला’ (नाम परिवर्तन)।
निन्याउरो अनुहार लगाएर डाक्टरका कुरा ध्यानपूर्वक सुनिरहेकी थिइन्। डाक्टरले उनले खानु पर्ने औषधिको बारेमा बुबालाई बुझाउँदै थिए। उनले डाक्टरको कुरा नबुझेको संकेत दिए। त्यसपछि डाक्टरले कोपिलालाई नै प्रष्ट्याउन थाले, ‘बुबाले बुझ्नु भएन। तिमीले राम्रोसँग सुनेर त्यही अनुसार औषधि खानु है!’
अनि, डाक्टरले कोपिलालाई कुन औषधि कुन समयमा कसरी खाने भन्ने बताए।
उनले मुन्टो हल्लाउँदै बुझेको संकेत गरिन्। कोपिला कालिकोटकै विद्यालयमा कक्षा ६ मा पढ्छिन्। बुबासँग कालिकोटबाट काठमाडौं आएको एक महिना भयो। उता कोपिलालाई भने आमाको न्यास्रो लागिसक्यो।
घरमा हुँदा उनी पढाइसँगै आमालाई काम पनि सघाउँथिन्। कक्षा १ देखि नै उनी दोस्रोे हुँदै आएकी छन्।
२०७९ भदौको पहिलो सातादेखि उनको शरीर दुख्न थाल्यो। दुखाइ बढ्दै जाँदा विद्यालय जान पनि छाडिन्। शरीरमा निला डामहरु देखिन थाले।
‘भदौदेखि यसको शरीर खपिनसक्नु दुख्न थाल्यो। रुने, कराउने गरेर घरै बसिसक्नु बनाइन,’ कोपिलाका पीडा सुनाउन थाले उनका बुबा, ‘मरेँ–मरेँ भन्छे, छोरीको पीडाले हामी त सुत्नै सकेनौँ नि।’
कोपिलाका बुबा छोरी छटपटिएको देखेर धामीझाँक्री खोज्न थाले। घरमै बोलाएर झारफुक पनि गराए। दुई वटा बोका र भाले चढाए।
‘तर अँहँ उसलाई बीसको उन्नाइस भएन नि,’ कोपिलाका बुबा भन्छन्, ‘४ महिनासम्म झारफुककै भर परेँ। र, पनि ठिक भएन। मेरो १५ हजार जति त त्यहीँ सकियो।’
कोपिलाको दुखाइ झनझन् बढ्दै गयो। शरीर पनि विस्तारै सेतो हुन थाल्यो।
गएको मंसिरमा बुबाले उनलाई जिल्ला अस्पताल कालिकोट लगे। अस्पतालले कोपिलालाई ‘डेन्जर’ रोग लागेको हुनसक्ने बताइदियो। कोलिकोटबाट उनी ललितपुरको पाटन अस्पतालमा रिफर भइन्। १५ पुसमा बाबुछोरी कालिकोटबाट काठमाडौं आइपुगे।
बसबाट काठमाडौं आर्लिनासाथ उनीहरु सिधै पाटनतिर लागे। अस्पतालमा भर्ना भइन् कोपिला। त्यसपछि उनको जाँच सुरु भयो। रिपोर्टपछि डाक्टरले रक्त क्यान्सर गम्भीर अवस्था पुगिसकेको बताए।
‘त्यसपछि त ममाथि आकासै खसिगो नि! कहिल्यै नाम नै नसुनेको रोगले छोरीलाई गाँजिसकेको रहेछ, हामी भने धामीझाँक्री लगाउन थल्यौँ,’ कोपिलाका बुबाले सुनाए।
परिवारमा कसैको जागिर छैन। आम्दानीको बाटो नभएका उनीहरु कृषिको उत्पादनले धानिएका छन्। छोरीलाई काठमाडौंसम्म ल्याउने खर्च पनि थिएन। १३ हजार रुपैयाँ ऋण काढेर बाटो लागेका हुन्।
‘छोरीको उपचारमा त लाखौं लाग्ने रछ। मैले ल्याको १३ हजार त केही दिनमै सक्किगो नि। दाइको छोराले १० हजार हाल्दिर’छ, अरु पनि यताउति मागेर चलाउँदैछु’, कोपिलाका बुबाले रोगमाथि ऋणको पीडा सुनाए।
‘क्यान्सर भन्ने रोग पनि हुन्छ भनेर सुनेकै थिइनँ। उपचारमा पनि यति धेरै पैसा लाग्ने रहेछ,’ त्यसपछि उनी भक्कानिन थाले, ‘केही गरी नसकेपछि अस्पतालबाट छोरी लिएर भाग्ने सोचेको थिएँ।’
उनका लागि रोग र ऋण नयाँ होइनन्। कोपिलाका बुबाले यी दुई तनाव भोग्न र गुमाउन बाँकी पनि केही छैन। यसअघि उनका दुई वटी श्रीमती पनि वैँशैमा रोगले लग्यो। अहिले पनि उनलाई लाग्छ, पैसा हुन्थ्यो भने बचाउन सकिन्थ्यो। तर अभावका अगाडि केही नलाग्ने रहेछ! उनले त्यसबेलै खेपेका थिए।
कोपिलालाई देखाउँदै उनका बुबाले भने, ‘उसकी आमा त तेस्री हो नि। पहिले दुइटी बिते रोगैले।’
अस्पतालले कोपिलाको उपचारका लागि ६ महिनादेखि एक वर्षसम्म काठमाडौंमै बस्नुपर्छ भनेको थियो।
तर पैसा सकिएकाले अस्पताल बसेको २० दिनमै उनीहरु घर फर्किन खोजेका थिए। उनीहरुले घर फर्किन खोजेको सूचना अस्पतालले पायो।
कोपिलाको उपचारमा संलग्न रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुचरिता तुलाधरले उपचार र बस्ने व्यवस्था मिलाइ दिइन्।
‘पैसा नभएपछि के गर्ने। हामीसँग त भाग्नु विकल्पै थिएन। अस्पतालबाट भाग्न लाग्या बेला म्यामले पत्ता पाएर रोक्नु भइगो। अहिले उपचारमा पनि पैसा लाग्या छैन। बस्ने खाने सबै म्यामले नै गर्द्या छन्’, उनले सुनाए।
अहिले कोपिलाका बाबु–छोरी हात्तिवनमा बस्छन्। क्यान्सरसँग लडिरहेकी कोपिलाको पनि चाहना डाक्टर बन्ने छ। सन्चो भएर घर फर्किएपछि राम्रो पढ्ने र पछि डाक्टर बन्ने सपना उनले सुनाइन्।
उनको ४ पटक कोमो र एक पटक बोनम्यारो प्रत्यारोपण गरिसकिएको छ। अहिले त उनको शरीर पहिले जति दुख्दैन। ठिक भएर घर फर्किने आशामा छिन्।
कोपिलाको उपचार भइरहेको पाटन अस्पतालकै अर्को वार्डमा ६ वर्षीया बालिका लडिरहेकी छन्। उनको एउटा हातमा क्यानुला जोडिएको छ। सलाइन पानी तपतप चुहिँदै उनको शरीरमा चढ्दै थियो।
क्यान्सरकै कारण उनी पनि चार महिनादेखि यस्तै पीडा भोगिरहेकी छन्। बेडको छेउमा बसेर आमा सिर्जनाका खुट्टा सुमसुम्याइ रहेकी थिइन्।
ती बालिका ‘मम्मी–मम्मी’ भन्दै क्यानुला लगाएको हाततिर इसारा गरिहेकी थिइन्। एक वर्ष अघिदेखि पेट दुख्ने, पिसाब पोल्ने र पिसाब गर्न गाह्रो भएपछि नजिकैको अस्पतालमा लगेर अल्ट्रासाउन्ड र पिसाब जाँच गराइन्। तर रोग पत्ता लागेन।
अस्पतालबाट फर्किएपछि उनलाई ज्वरो आयो। त्यसपछि सुमेरु अस्पताल लगियो। अस्पतालले दाहिने मिर्गौलामा क्यान्सर छ भनेपछि अप्रेसनका लागि त्रिवि शिक्षण अस्पताल लगियो।
‘आफ्नै काखमा रमाइरहेकी छोरीले यस्तो रोग लागेर यति ठूलो पीडा भोग्नु पर्ला भनेर कहिले सपनामा पनि देखेकी थिइनँ। के गर्नु निकै गाह्रो भो उसलाई। छोरीलाई लाग्ने रोग आफैँलाई लागे पनि हुने,’ उनकी आमाले भनिन्।
छोरीलाई क्यान्सर भएको उनलाई पत्यारै लागिरहेको छैन।
‘अस्पतालमा क्यान्सर देखिएको दाहिने मिर्गौला नै फालिदिएको छ। चार महिना भो छोरीलाई कहिले त्रिवि शिक्षण त कहिले कान्ति बाल अस्पताल कुदाइरहेका छौँ,’ उनले भनिन्।
बालबालिकामा बढी देखिने क्यान्सर
यी दुई बालिकालाई जस्तै नेपालमा बालबालिकामा सबैभन्दा बढी देखिने क्यान्सर रक्त क्यान्सर हो। रक्त क्यान्सर पनि विभिन्न प्रकारको हुने र सबैभन्दा बढी ‘एएलएल’ (एक्युटलिम्फोब्लास्टिक ल्युकेमिया) रक्त क्यान्सर देखिने रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुचरिता तुलाधरले बताइन्।
त्यस्तै टाउकोको क्यान्सर, मिर्गौलाको क्यान्सर र आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) पनि धेरैमा देखिएको उनी बताउँछिन्।
‘धेरैमा देखिने रक्त क्यान्सरको उपचार भने निकै लामो हुन्छ। ६ महिनासम्म अस्पताल सहजै आउन सक्नेगरी नजिकै बस्नु पर्ने हुन्छ,’ उनले भनिन्, ‘ल्युकेमियामा कडा–कडा केमो चढाउनु पर्ने हुन्छ र बिरामीको अवस्था हेरेर बोनम्यारो पनि गर्नु पर्ने हुन सक्छ र दुई वर्षसम्म लगातार औषधि खानु पर्छ।’
बिरामीलाई जति बेला पनि गाह्रो हुन सक्ने भएकाले अस्पतालको नजिक बस्न आग्रह गरिने उनले बताइन्।
बच्चाहरुमा लाग्ने क्यान्सर ठूलो मान्छेको जस्तो चुरोट, रक्सी वा अन्य खानपानका कारण नलाग्ने उनले जानकारी दिइन्।
निकै कम बच्चाहरुमा मात्र वंशाणुगत क्यान्सर देखिने र उनीहरुमा क्यान्सर किन लाग्छ भनेर अहिलेसम्म पनि यकिन कारण पत्ता लगाउन नसकिएको उनी बताउँछिन्।
रक्त क्यान्सर हुँदा लगातार ज्वरो आउने, शरीरमा निलडाम देखिने, शरीर निकै दुख्ने, हेमोग्लोबिनको मात्रा कम हुँदै जाँदा बालबालिकाको शरीर सेतो हुने र थकित हुने जस्ता लक्षण देखा पर्ने उनी बताउँछिन्।
त्यस्तै शरीरमा गिर्खा, गाँठागुठी आउने, गिँजाबाट रगत बग्ने र बच्चा फुस्रो हुँदै जाने भए तत्काल अस्पताल लैजानु पर्ने उनको सुझाव छ।
धेरै बिरामीले पाउँदैनन् उपचार
कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटाका अनुसार क्यान्सर लागेकामध्ये ५० प्रतिशत बालबलिकामा रक्त क्यान्सर देखिन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा वर्षेनि १५ सयदेखि दुई हजारको हाराहारीमा बालबालिकामा क्यान्सर पुष्टि हुन्छ।
डा. सापकोटा भन्छन्, ‘हरेक वर्ष दुई हजार बालबालिकामा क्यान्सर पुष्टि हुने गरे पनि उपचारको दायरामा बढीमा ३० प्रतिशत मात्र आउने गर्छन्। कान्ति अस्पतालमा वर्षमा दुई सय ५० जना बिरामीहरु उपचारका लागि आउने गर्छ। सबै अस्पतालको तथ्यांक हेर्दा पाँच÷छ सय बिरामीले मात्र उपचार गराउँछन्।’
बालबालिकाकाले नसर्ने रोगका कारण ज्यान गुमाउने मध्ये नवौँ मुख्य रोग क्यान्सर रहेको र यो रोगको पहिचान हुने संख्या बढ्दै गइरहेको डा. सुचरिता तुलाधरले बताइन्।
नेपालमा बालबालिकाको क्यान्सरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति अस्पताल, तिलगङ्गा आँखा अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर क्यान्सर र भक्तपुर क्यान्सर अस्पतालमा उपचार हुन्छ।
रक्त क्यान्सर भएका १० प्रतिशत बालबालिकालाई मात्र बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने भए पनि कम्तीमा ६ महिनासम्म भने निकै कडा औषधि चलाउनु पर्ने डा. सापकोटाले जानकारी दिए।
‘क्यान्सरको सुरुवाती अवस्थामा खासै लक्षण देखिँदैन। बालबालिमा देखिने क्यान्सरका विषयमा अझै पनि जनचेतना फैलिसकेको छैन। मुख्य गरेर अभिभावक सचेत हुनु पर्ने हो तर त्यस्तो देखिँदैन,’ उनले भने।
त्यस्तै, क्यान्सर भएको थाहा पाउँदापाउँदै पनि कतिपय अभिभावक उपचार खर्च धान्न नसकेर भाग्ने गरेको डा. तुलाधारको भनाइ छ।
क्यान्सर लाग्यो भने करिब एक वर्ष लगातार नै अस्पताल धाउनु पर्ने भएकाले अभिभावकले सबै काम छोडेर उनीहरुकै उपचारमा लाग्नु पर्ने अर्को समस्या भएकाले पनि उपचारलाई निरन्तरता दिन नसक्ने डा. तुलाधारले बताइन्।
‘पाटन अस्पतालमा आउने धेरै बिरामी विकट ठाउँबाट उपचारका लागि आउँछन् उनीहरु आर्थिकरुपमा निकै कमजोर हुन्छन्। सरकारले दिएको पैसाले एक छेउ पनि लाग्दैन। पैसा नभएकै कारण कयौं बिरामी भाग्न खोज्छन् तर हामीले त्यस्ता बिरामीका लागि विभन्न संघसंस्थासँग मिलेर निशुल्क उपचार र खाने बस्ने व्यवस्था मिलाइरहेका छौं,’ उनले भनिन्।
कोही पनि बालबालिका क्यान्सर रोग लागेर अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकारी अस्पतालले गैरसरकारी संस्थासँग मिलेर निशुल्क उपचार सेवा दिरहेको उनी बताउँछिन्।
अभिभावकले ध्यान दिनु पर्ने कुरा
नवजात शिशुहरुमा पनि क्यान्सर देखिन सक्ने भएकाले अभिभावक निकै सचेत बन्नु बर्ने डा. तुलाधारले बताइन्।
क्यान्सर लागेको सुरुवाती अवस्थामै अभिभावकले आफ्ना छोराछोरीलाई अस्पतालमा ल्यायो भने उनीहरुलाई बचाउन पनि सकिने र खर्च पनि कम हुने उनले बताइन्।
डा. सापकोटा भन्छन्, ‘धेरैमा रक्त क्यान्सर लाग्नेबित्तिकै निको हुँदैन, किन पैसा खर्च गर्ने भने भ्रम पनि छ तर यो कुरा गलत हो। किनभने समयमै अस्पताल ल्यायो भने ८० देखि ९० प्रतिशत यो क्यान्सर निको हुन्छ। सबैभन्दा धेरै निको हुने क्यान्सर भनेकै रक्त क्यान्सर हो।’
बालकालिकाले आफ्नो पीडा राम्रोसँग बताउन नसक्ने भएकाले अभिभावक निकै चनाखो भएर छोराछोरीको शरीरमा कुनै असामान्य परिर्वतन भएको छ कि भनेर बेलाबेलामा जाँच गरिरहनु पर्ने चिकित्सकको सुझाव छ।
Shares
प्रतिक्रिया