उमेरसँगै रोगले पनि नेटो काटिसकेको छ, आङदामी शेर्पाको। तर उनी आज पनि युवाजस्तै फूर्तिला र जोसिला देखिन्छन्। हप्तैपिच्छे जोरपाटीस्थित नयाँबस्तीबाट नेपाल मेडिकल कलेज (जोरपाटी) एक्लै जानेआउने गर्छन्।
८१ वर्ष पुगिसकेका शेर्पा सोलुखुम्बुबाट वर्षौंअघि काठमाडौं आए। शिक्षक हुँदै राजनीति पनि गरेका उनी स्वभावैले निकै फूर्तिला देखिन्छन्।
विदेश रहेका दुई छोराले पटकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेर बुझाएकाले उनी बेलाबेलामा स्वास्थ्य परीक्षण पनि गर्थे।
राष्ट्रपति भण्डारी, जसले ‘ब्लड क्यान्सर’ जितिन्, ‘हिप रिप्लेसमेन्ट’ बल्झिरह्यो
उनले एक वर्षअघि अचानक थकान र कमजोरी महसुस गर्छन्। घाँटीमा पनि स–साना गिर्खाहरु देखिन थाल्छन्।
दैनिक क्रियाकलाप नै गर्न नसक्ने भएपछि अस्पताल पुग्छन्। सबै जाँच गरेपछि उनलाई क्यान्सरको शंका गर्दै काठमाडौंको कुनै निजी क्यान्सर अस्पताल पठाइन्छ।
अस्पतालले घाँटीको क्यान्सर अन्तिम चरणमा पुगेको र ६ महिनाभन्दा बढी नबाँच्ने भन्दै शर्पाको हातमा रिपोर्ट थमाउँछ।
क्यान्सर पुष्टि भएर अस्पतालले मृत्युको समय पनि तोकिसकेकाले विदेशमा भएका छोराहरु पनि नेपाल आउँछन्।
डाक्टरले निकालेको मृत्युको मितिभन्दा बढी बाँच्छु भन्ने सोच्थे शेर्पा। तर, मेडिकल साइन्स गलत हुँदैन भन्दै घरमा छोराहरु र सबै आफन्त भेट्न आएपछि भने बाच्दिनँ कि भन्ने सोचेको उनी सुनाउँछन्।
उनी निकै जिद्दी स्वभावका थिए। क्यान्सरको उपचार खोज्दै उनी भारतसम्म पुगे तर त्यहाँ पनि रिपोर्ट उही आयो।
त्यसपछि उपचार खोज्दै उनी जोरपाटीस्थित नेपाल मेडिकल कलेज जान्छन्। त्यहाँ पनि उनलाई क्यान्सर भएको र अन्तिम चरणमा रहेको बताइन्छ। तर मृत्युको समयावधि भने तोकिँदैन।
अस्पतालमा उनले उपचारसँगै परामर्श पनि लिन्छन्। डाक्टरले आफू जति सचेत भयो, जति स्वस्थ्य जीवनशैली अपनायो उति नै लामो समयसम्म बाँच्न सकिने संकेत दिएपछि शेर्पा उच्च मनोबल बनाएर उपचार गर्न थाल्छन्।
शेर्पाको क्यान्सर पुष्टि भएको एक वर्ष पुगिसक्यो। अहिले पनि उनलाई हेर्दा लाग्दैन, उनी क्यान्सरसँग लडिरहेका छन्। निकै हिम्मतिला र जोसिला देखिन्छन्।
उनी बिहानै उठ्छन्, घरको काममा श्रीमतीलाई सघाउँछन्। दिनभरि साथीसँग रमाइलो गर्दै तास पनि खेल्ने गर्छन्।
‘क्यान्सरको ठूलो अस्पतालले मलाई ६ महिना मात्र बाँच्छस् भन्यो। नमस्ते भनेर म त्यहाँबाट हिडेँ,’ उनले भने, ‘त्यो बेला मैले जुनसुकै रोग लागे पनि आत्मबल बलियो बनाउनु पर्छ भन्ने सोचेँ। बिरामीले आत्मबल बलियो बनायो भने रोग आफ्नो पछाडि पर्ने रहेछ। नत्र सुतेर बस्यो भने बिरामी डाक्टरले तोकेको समयमा मर्छ।’
मुसुक्क हाँस्दै शेर्पा भन्छन्, ‘म यति छिट्टै मर्नेवाला छैन। म अझै थुप्रै बाँच्छु। तर क्यान्सरको त्यो ठूलो अस्पतालले मलाई ६ महिनाभन्दा बढी बाँच्दैन भनेर ग्यारेन्टी दिएर लेखेको थियो। तर खोइ म अहिलेसम्म उस्तै जोसिलो भएर बाँचिरहेको छु।’
क्यान्सर चौथो चरणमा पुगिसकेपछि निको पार्न नसके पनि बिरामीको आयु बढाउन सकिने शेर्पाको उपचार गरिहेकी क्यान्सर रोग विशेषज्ञ डा. रश्मि पुन गुरुङले बताइन्।
उनी भन्छिन्, ‘शेर्पा बा निकै फूर्तिलो हुनुहुन्छ। ८१ वर्ष पुगिसक्नु भएको छ। क्यान्सर पनि अन्तिम चरणमा छ तर उहाँको आत्मबल भने अझै पनि निकै बलियो छ।’
प्रतिक्रिया