ad ad

अन्तर्वार्ता


महिलामा लाग्ने दुई खाले क्यान्सर पहिले नै पत्ता लगाउन सकिन्छ : डा. रश्मि पुन (अन्तर्वार्ता)

महिलामा लाग्ने दुई खाले क्यान्सर पहिले नै पत्ता लगाउन सकिन्छ : डा. रश्मि पुन (अन्तर्वार्ता)

क्यान्सर रोग विशेषज्ञ डा. रश्मि पुन गुरुङ। तस्बिर:सरोज बैजु/नेपालखबर


समृद्धा केसी
माघ २१, २०७९ शनिबार ८:३, काठमाडौँ

आज विश्व क्यान्सर दिवस। क्यान्सरबाट मृत्यु भएकाप्रति समवेदना व्यक्त गर्न रमृत्यु हुनेको संख्या कम गर्न जनचेतना विस्तारका लागि आज विभिन्न कार्यक्रम गर्दै विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाइँदैछ।

क्यान्सरलाई नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ।

नेपालमा क्यान्सर रोगीका संख्या बढ्दो क्रममै छ। तर, अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच-उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सकिन्छ।

हरेक वर्षको फेव्रुअरी–४ तारिखका दिन, संसारभरि ऐक्यवद्ध रुपमा क्यान्सरसँग लड्न चेतना स्वर भर्ने दिनका रुपमा लिने गरिएको छ। 

यसै सन्दर्भमा नेपाल मेडिकल कलेज जोरपाटी तथा नेसनल क्यान्सर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. रश्मि पुन गुरुङसँग क्यान्सर रोगका विषयमा नेपालखबरले गरेको कुराकानीः

भिडिओः

सामान्य भाषामा क्यान्सर भन्नाले के बुझ्ने? 
क्यान्सर भन्नाले हाम्रो शरीरमा भएका कोसिकाहरु अनियन्त्रित रुपमा वृद्धि भई शरीरमा स–साना गिर्खाहरु हुनुलाई क्यान्सर भन्न सक्छौँ। 

हाम्रो शरीरले बनाउने कोसिकाहरु केही समयपछि आफैँ मरेर जानु पर्ने हुन्छ। तर विभिन्न कारणहरुले गर्दा ती कोसहरु मरेर गएनन् र शरीरलाई चाहिनेभन्दा धेरै बन्दै गइरहे भने त्यो बिस्तारै ट्युमरमा परिणत हुन्छ। जसले क्यान्सरको रुप लिन्छ। 

नेपालको सन्दर्भमा महिलामा बढी देखिने क्यान्सर कुन हो र कसरी फैलिरहेको छ? 
नेपालमा वर्षेनि २० हजार पाँच सय हाराहारीमा नयाँ क्यान्सरका बिरामी भेटिने गर्छन्। त्यसमध्ये करिब २५ सयमा पाठेघरको मुखको क्यान्सर देखिने गर्छ। त्यसैगरी स्तनको क्यान्सर पनि देखिन्छ। 

विश्वमा चौथो नम्बरमा पर्ने पाठेघर मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा पर्छ भने दोस्रोमा स्तन क्यान्सर देखिन्छ। 

नेपालमा पनि क्यान्सर भयावह रुपमा फैलिरहेको छ। त्यसमा महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सर पनि धेरैमा देखिरहेको छ। 

पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुँदा सुरुवाती चरणमा कस्तो लक्षण देखिन्छ? 
पाठेघरको मुखको क्यान्सर हुँदा सुरुवाती चरणमा खासै लक्षणहरु देखिँदैन। तर क्यान्सर फैलिँदै गयो भने महिलाहरुको ढाड दुख्ने, योनीबाट सेतो गन्हाउने पानी बग्ने, रगत बग्ने हुन्छ। 

त्यसैगरी, महिनावारीको समयमा भन्दा अघिपछि रगत बग्ने हुन्छ। वा लामो समयसम्म रगत बगिरहने, महिनावारी  सुकिसकेका महिलामा पनि थोरै रगत देखिन सक्छ भने यौन सम्बन्धपछि पनि रगत देखा पर्न सक्छ। 

त्यस्तै क्यान्सरको चन्तिम चरणतिर भने दिसापिसाबमा समस्याहरु आउने वा कन्ट्रोल गर्न नसक्ने हुन्छ। 

त्यस्तै स्तन क्यान्सर हुँदा अस्पताल आउने बिरामीहरुमा गिर्खा देखिएको हुन्छ। ती गिर्खाहरु कडा, नदुख्ने खालका हुन्छन्।

स्तन क्यान्सर हुँदा आकार र छालामा परिर्वतन देखिन्छ। छाला रातो र मोटो हुने हुन्छ। 

त्यसैगरी, निप्पल भित्र गाडिने, स्तनबाट कुनै पनि प्रकारको पदार्थ बग्ने, काखीमुनि र घाँटीवरिपरि गिर्खाहरु आउने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षणहरु देखा परे भने बिरामी सक्दो चाडो अस्पताल जानु पर्छ।

क्यान्सर लागेर अस्पताल जाने महिलाहरु प्रायः कुन चरणमा पुग्छन्? 
यस अस्पतालमा मात्र नभएर नेपालभरकै अस्पतालमा बिरामीहरु पुग्ने भने रोग निकै बढी सकेपछि मात्र हो। धेरै कम बिरामी छन् जो सुरुवाती चरणमै अस्पताल आउँछन्। 

बिरामी अन्तिम चरणमा अस्पताल जानुको प्रमुख कारण भनेको उनीहरुलाई क्यान्सरबारे जानकारी नै छैन।

पाठेघर र स्तन भन्नेबित्तिकै गोप्य अङ्ग भएकाले महिलाहरु यसै पनि यसबारे बोल्नै चाहँदैनन्। बोलिहाले भने पनि आफूलाई भएको समस्या खुलस्त राख्न सक्दैनन् त्यसैले पनि होला, उनीहरु पाठेघर र स्तन क्यान्सरको अन्तिम चरणमा अस्पताल पुग्ने गर्छन्।

उनीहरु अन्तिम चरणमा अस्पताल आउँदा क्यान्सर निर्मूल गर्न नसकिने भइसकेको हुन्छ। सरकार र डाक्टरले मात्र क्यान्सर रोगबारे बताएर हुँदैन महिलाहरु पनि यसबारे सचेत हुन आवश्यक छ। 

पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर लाग्नुका कारणहरु के–के हुन्? 
पाठेघरको मुखको क्यान्सर लाग्नुका विभिन्न कारणहरु रहेका छन्। सानै उमेरमा विवाह गर्नु, सानै उमेरमा धेरे बच्चा जन्माउनु, धेरै जनासँग यौन सम्बन्ध राख्नु। 

पाठेघरको मुखका क्यान्सर हुने मुख्य कारण भनेको ह्युमन प्यापिलोमा भाइरस हो। यो भाइरस विभिन्न प्रविधिद्वारा जाँच गर्न सक्छौँ। पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर लाग्नुभन्दा करिब १० वर्ष पहिला नै स्क्रिनिङ गरेर लाग्नसक्ने सम्भावना थाहा पाउन सकिन्छ। 

पाठेघर मुखको क्यान्सरमा प्यापस्मियर, भीआईए र एचपीभी डीएनए परीक्षण गर्दा ह्युमन प्यापिलोमा भाइरस पाठेघरमा छ कि छैन भनेर पत्ता लगाउछ। यसरी जाँच गर्दा नर्मल रिपोर्ट आयो भने पाँच वर्षपछि मात्र जाँच गरे हुन्छ। 

त्यस्तै ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप पनि छ। जुन ९ देखि १४ वर्षसम्मका किशोरीलाई सजिलै लगाउन सकिन्छ।

विदेशतिर स्कुले बालिकाहरुलाई यो खोप अनिवार्य लगाउनु पर्छ। नेपालमा पनि यस्तो भयो भने पाठेघरको मुखको क्यान्सरबाट केही हदसम्म भए पनि बचाउन सकिन्थ्यो। अभिभावक पनि सचेत बनेर छोरीहरुलाई यो खोप लगाइ दिनु पर्छ। 

त्यस्तै स्तन क्यान्सर हुने भनेको मोटो, चुरोट खाने र वंशाणुगत रुपले पनि स्तन क्यान्सर लाग्न सक्छ। र, हर्मोन थेरापी गरेकामा पनि स्तन क्यान्सर देखिन सक्छ।  स्तन क्यान्सरमा म्यामोग्राम जाँच गर्दा क्यान्सर लाग्ने सक्ने सम्भावना थाहा पाउन सकिन्छ। 

स्तन क्यान्सर घरमै कसरी जाँच गरेर थाहा पाउन सकिन्छ? 
महिनावारी भएको एक हप्तापछि ऐना अगाडि बसेर आफ्नो स्तन आफैँ परीक्षण गर्दा पनि क्यान्सरका केही लक्षणहरु थाहा पाउन सकिन्छ। 

स्तनको आकारमा परिर्वन आएको छ कि, निप्पलहरु भित्र तानिएको छ कि वा निप्पल निर्चोदा केही पर्दाथ आउँछ कि भनेर हेर्ने गर्नु पर्छ र आफ्नो स्तन आफैँ स्पर्श गरेर कुनै गिर्खाहरु छन् कि छैनन् भनेर पनि जाँच गर्नु पर्छ।

स्तनसँगै काखीतिर पनि स्पर्श गरेर गिर्खाहरु छन् कि भनेर जाँच गर्नु पर्छ। 

जति उमेर बढ्दै जान्छ, स्तन क्यान्सर हुने सम्भावना पनि बढ्दै जाने भएकाले महिनावारी बन्द भएका महिलाले महिनाको एकदुई पटक माथि भने जस्तै जाँच गर्नु पर्छ। त्यस्तै वर्षको एक पटक अस्पतालमै गएर जाँच गर्नु पर्ने हुन्छ।

क्यान्सर लाग्यो भन्नेबितिकै ज्यानै जाने रोग भन्ने बुझिन्छ। खासमा यो के हो? 
सबैतिरका मान्छेहरुले क्यान्सर भनेको मरिहाल्ने रोग हो भनेर बुझ्छन्। क्यान्सर लाग्यो भने अब खर्च नगरौँ बिरामी मरी नै हाल्ने हो सोच्छन् तर त्यस्तो होइन। क्यान्सर भनेको मरिहाल्ने रोग होइन। 

अहिले त नेपालमा पनि सबै क्यान्सरको उपचार सम्भव भइसकेको छ। पहिलो, दोस्रो चरणमै क्यान्सर पत्ता लगाउन सक्यो भने पूर्णरुपमा निको पार्न सकिन्छ। 

अन्य रोगहरु जस्तो यो पनि हामीले ढिलो थाहा पायौँ भने निको पार्न सकिँदैन। यसै पनि यो त डरलाग्दो समस्याकै रुपमा अहिलेसम्म रहेको छ। 

पहिलो र दोस्रो चरणमा क्यान्सर भएर अस्पताल आउने बिरामीलाई शल्यक्रिया, रेडियोथेरापी, विकरणबाट सेकाइ, केमो र हर्मोनल थेरापीद्वारा उपचार गर्छौँ। यहिले यीभन्दा पनि आधुनिक प्रविधिहरु आइसकेका छन्। त्यसकारण क्यान्सर लागेर मरिहाल्छ भन्ने स्थिति अहिले होइन। तर पनि अझै बिरामीहरु यस्तो किन भन्छन् भने यसबारे चेतनाको कमी छ।

हाम्रो समाजले सुन्ने कुरा भनेको पनि क्यान्सर लागेर थला परेको र मरेकोहरु मात्र हो तर त्यही ठाउँमा क्यान्सर सन्चो भएर समाजमा गएर क्यान्सर लागेर पनि जीवन छ भनेर भन्न सक्यो धेरै हदसम्म यो सोचाइलाई कम गर्न सकिन्छ। 

नेपालमा क्यान्सर उपचारका लागि भनेर सरकारी र निजी धेरै अस्पतालहरु खुलिसकेका छन्। उपचारका लागि पनि बाहिर जानु पर्ने अवस्था कम भइसकेको छ। 

भिडिओः

क्यान्सर निकै खर्चालु रोग भनेर सरकारले एक लाख अनुदान दिरहेको छ। यसले उपचार खर्चमा कति सहयोग गर्छ? 
सरकारले दिइरहेको एक लाखले थोरै राहत चाहिँ हुन्छ तर क्यान्सरको उपचारमा लाग्ने खर्चको अगाडि यो निकै थोरै हो। किनभने क्यान्सर लागेको पहिलो चरणमा धेरै खर्च त नहोला तर अन्तिम चरणमा आएका बिरामीले लगातार उपचार गरिरहनु पर्ने भएकाले हामी जस्तो गरिब मुलुकका नागरिकलाई गाह्रो पर्छ।  

केन्द्र र प्रदेशले दिरहेको रकम एकदमै पुग्दैन। त्यसैले यसलाई बढाइदिनु पर्छ। धेरै बिरामीले सरकारले दिएको एक लाखको मात्र उपचार सेवा लिएर घर फर्किएका पनि छन्। यसो गर्दा त न बिरामीलाई फाइदा हुन्छ, न सरकारलाई नै। सरकारको ढुकुटि पनि रित्तियो यता बिरामीको ज्यान पनि जोगिएन। 

क्यान्सरबाट जोगिनका लागि के सुझाव दिन चाहनुहुन्छ? 
क्यान्सरबाट जोगिनका लागि स्वस्थ जीवनशैली अपनाउनु पर्यो। त्यसमा स्वस्थ खानापान र व्यायामहरु गर्नु पर्यो। तौल सन्तुलित राख्ने, धुमपान र मद्यपान गर्नु भएन। 

समय समयमा डाक्टरसँग परार्मश गर्ने। आफूमा कुनै पनि लक्षण देखियो र औषधि गर्दा पनि समस्या समाधान भएन भने आफूमै सीमित नराखी अरुलाई भन्ने।

केटी मान्छेले अरुको मात्र स्याहार गर्छन्, आफ्नो गर्दैनन्। त्यो बानी हटाएर आफ्नो पनि स्याहार गर्नु पर्छ। पाठेघर र स्तन क्यान्सरबाट बच्न सकिने स्क्रिनिङहरु अनिवार्य गर्नु पर्छ। 

त्यस्तै क्यान्सर लाग्यो भने मरिहाल्ने रोग होइन, समयमै उपचार पायो भने पूर्णरुपमा निको हुन सक्छ भनेर सबैलाई थाहा दिन आवश्यक छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .