ad ad

जीवनशैली


बर्सेनि बढ्दै कुष्ठरोगका बिरामी, के छ सरकारको पहल?

बर्सेनि बढ्दै कुष्ठरोगका बिरामी, के छ सरकारको पहल?

समृद्धा केसी
माघ १६, २०७९ सोमबार १०:१, काठमाडौँ

नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको कुष्ठरोग बढ्दै गइरहेको छ। सन् २०१० मा राष्ट्रिय स्तरबाटै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि पछिल्ला वर्षहरुमा बिरामीको संख्या बढ्दै गइरहेको छ। 

सन् २०२१/०२२ मा मात्र दुई हजार दुई सय ८५ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेको एपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको तथ्याङ्कमा उल्लेख छ। 

देशको कुल जनसंख्याको १ प्रतिशतभन्दा कममा प्रिभ्यालेन्स रेट (संक्रमण दर) देखियो भने त्यसलाई निवारण भएको मानिन्छ। 

त्यसलाई नै आधार मान्ने हो भने सन् २०१० मा कुष्ठरोगको प्रिभ्यालेन्स रेट प्रतिदस हजार जनसंख्यामा ०.८९ प्रतिशत थियो र अहिले पनि त्यो दर ०.८१ प्रतिशत रहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले बताए। तर अहिले १६ जिल्लाको प्रिभ्यालेन्स रेट एक प्रतिशत भन्दा बढी रहेको उनले जानकारी दिए। 

कुष्ठरोगका ४० प्रतिशत बिरामी मधेश प्रदेशमा छन् जहाँको प्रिभ्यालेन्स रेट १.४३ रहेको छ भने लुम्बिनी प्रदेशमा २५ प्रतिशत बिरामी छन् र प्रिभ्यालेन्स रेट १.१२ प्रतिशत रहेको उनले जानकारी दिए। 

बारा, झापा, मोरङ, सर्लाही, धनुषा, प्युठान, सिरहा, कपिलवस्तु,, पर्सा, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाममा अझै पनि प्रिभ्यालेन्स रेट एक प्रतिशत भन्दा माथि रहेको उनले जानकारी दिए। 

‘राज्यको हिसाबले हामीले कुष्ठरोग उन्मूलन गरिसकेको हो। त्यसकारण अबको दायित्व समुदायको पनि हो,’ उनले भने ‘कुष्ठरोग लागेको थाहा पाउनेबित्तिकै स्वास्थ्य संस्थामा बिरामीलाई पठाउनु पर्छ। रोगप्रतिको नकारात्मक धारणालाई हटाउन पनि उत्तिकै आवश्यक छ।’

त्यस्तै सबैले कुष्ठरोग उपचारपछि निको हुने रोग भएकाले समयमै उपचार गराउनु पर्छ भन्ने जनचेतनजा जगाउनु अहिलेको मुख्य कार्य रहेको उनको भनाइ छ।

‘बिरामीको समयमा उपचार भयो भने त्यसले निम्त्याउन सक्ने अपाङ्गता र अरुलाई सार्न सक्ने सम्भावना पनि कम हुन्छ,’ उनले भने।

महाशाखाले कुष्ठरोग नियन्त्रणका लागि पालिकास्तरमा विभिन्न कार्यक्रम सञ्चालन पनि गरिहेको उनी बताउँछन्। 

नेपालमा विगतमा कुष्ठरोगीको अवस्था निकै कहालीलाग्दो भए पनि अहिलेको अवस्था केही सहज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी बताए। 

‘पहिलाको अवस्था हेरेर अहिले केही सहज भए पनि हामीले सोचेजस्तो सहज भइसकेको छैन,’ उनले भने ‘निको भइसकेका कुष्ठरोगका बिरामी समाजमा अझै पनि सहजै पुनर्स्थापित हुन सकेको देखिँदैन।’

समाजमा कुष्ठरोगबारे गडेर बसेको नकारात्मक सोचमा अझै परिवर्तन ल्याउन चुनौतीपूर्ण देखिएको मन्त्री गिरीले बताए। 

उनी भन्छन्, ‘बिरामीहरु समाजबाट बहिष्कार  हुने र लान्छनाका डरले रोग लुकाएर बस्न बाध्य छन्। यदि यी कुराहरुलाई सहजरुपमा ल्याएर बिरामीलाई उपचारको दायरासम्म ल्याउनका लागि सबैले योगदान गनुपर्छ।’

निवारणका लागि सरकारको पहल
कुष्ठरोग बढी देखिएका १६ जिल्लाहरुमा विशेषखालको कार्यक्रम सुरु गरिएको कुष्ठरोग नियन्त्रण तथा अपाँगता व्यवस्थापन शाखा प्रमुख डा. प्रशन्न नापितले जानकारी दिए।

२०२२ मा पत्ता लागेका कुष्ठरोगका बिरामीहरुमध्ये एक सय ७० जना अपाङ्गता भएपछि मात्र उपचारको दायरामा पुगेको उनले बताए।

हरेक वर्ष देखिने कुष्ठरोगका बिरामीहरुमध्ये बालबालिकाहरु पनि रहेकाले यो रोग फैलिरहेको छ भनेर बुझ्न सकिने उनको भनाइ छ। नयाँ बिरामीहरुमध्ये महिलाको संख्या पनि बढिरहेको छ। 

सन् २०२०/०२१ मा कोभिड महामारी भएकाले त्यो समयमा नयाँ बिरामी कम पत्ता लगोका थिए भने अहिले बिरामीको संख्या बिस्तारै बढ्दै गइहरेको उनले जानकारी दिए। 

सरकारले कुष्ठरोगका सक्रिय बिरामीको खोज कार्यक्रम लागू गरेको छ। 

‘कुष्ठ रोग अन्त्य गर्नु छ भने समुदायबाट नयाँ बिरामी पत्ता लगाई उनीहरुलाई उपचारको दायरासम्म ल्याउनु हो,’ शाखा प्रमुख डा.नापितले भने। 

बिरामी अस्पताल जानुभन्दा अगाडि सुरुवाती चरणममा समुदायमै पहिचान गर्नु अहिले सरकारको रणनीति रहेको उनी बताउँछन्। त्यस्तै, अपाङ्गता भएका बिरामी र पुनर्स्थापना केन्द्र बनाउन पनि सरकारले महत्वपूर्ण भूमिका खेलिरहेको उनले जानकारी दिए। 

नेपालले सन् २०३० सम्ममा कुष्ठरोग प्रिभ्यालेन्स रेट शून्यमा झार्ने लक्ष्य लिएको छ।

‘अब कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर स्थानीय सरकारसम्म मिलेर त्यहाँबाट नै बिरामीको पहिचान गरी कुष्ठरोगमुक्त पालिका घोषणा गर्ने उदेश्य छ,’ उनले भने।

कुष्ठरोगका बारेमा समाजमा भेदभाव कायमै रहेकाले लक्षण देखिए पनि उपचार गराउन नजाने भएकाले धेरै बिरामी अपाङ्ग हुने गरेको उनले बताए।

के हो कुष्ठरोग? 
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको निकै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर काला स्नायु (नसा) मा असर गर्दछ। 

उपचार नगरेको बिरामीसँग सम्पर्कमा गएको व्यक्तिलाई श्वासप्रश्वासका माध्यमले सुरुको अवस्थामा यो रोगको निदान र उपचार गरे अरुलाई सर्दैन।

त्यस्तै, समयमा नै यो रोगको उपचार गरे पूर्ण निको हुनुका साथै अपाङ्गता हुने जोखिमबाट पनि बचाउन सकिन्छ। 

कुष्ठरोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखापर्नुका साथै स्नायुहरूमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशीहरू कमजोर बनाइदिन्छ। 
त्यस्तै छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।

कुष्ठ रोग गराउने भाइरस शरीरभित्र प्रवेश गरेपछि छुँदा थाहा नहुने, रातो फुस्रो दागहरु देखिने, हातखुट्टा झम्झम हुने र नदुख्ने घाउहरु देखा पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .