ad ad

जीवनशैली


तीजमा कस्तो मेकअप गर्ने? खुसी पाठकका टिप्स

तीजमा कस्तो मेकअप गर्ने? खुसी पाठकका टिप्स

ऐना युनिसेक्स सलुनकी संस्थापक खुसी पाठक। तस्बिर : विशाल कार्की/नेपालखबर


लक्ष्मी जि.सी
भदौ १, २०७९ बुधबार ६:३९, काठमाडौँ

आकर्षक र सुन्दर देखिन सबैलाई मन लाग्छ। त्यसका लागि कतिले घरेलु उपाय गरिरहेका हुन्छन् भने कति ब्युटीपार्लर जाने गर्छन्।

महिलालाई मात्र होइन, पुरुषलाई पनि आकर्षक देखिन रहर लाग्छ तर महिलाको तुलनामा पुरुषहरूले आफ्नो त्यो इच्छालाई कम व्यक्त गर्ने ऐना युनिसेक्स सैलुनकी संस्थापक खुसी पाठक सुनाउँछिन्। 

आफ्नो पढाइको विषय फरक भए पनि यो क्षेत्रमा सम्भावना देखेर खुसीले यसमा हात हालेकी हुन्। काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड मलमा खुसीले ऐना युनिसेक्स सैलुन सञ्चालन गरेको एक वर्ष पुरा भइसकेको छ। यो एक वर्षलाई फर्केर हेर्दा आफू सफल भएको खुसीको ठहर छ।

‘सुरु गर्दा मनमा डर लागे पनि त्यसपछि त्यस्तो महसुस गर्नु परेको छैन,’ उनी भन्छिन्, ‘टाढाटाढाबाट ग्राहकहरू आउनुहुन्छ, एकपटक आएको ग्राहक दोहोर्याएर आइराख्ने हुँदा आफू सफल भएको महसुस हुन्छ।’ 

चाडबाडको समयमा ब्युटीपार्लर र सैलुनहरुमा भीड लाग्ने गर्छ। अरु समयभन्दा विवाहको समयमा धेरै भीड हुने उनको अनुभव छ।

पहिलो पटक नयाँ क्षेत्रमा हात हालेकी खुसीले भनिन्, ‘साउनदेखि व्यापारमा केही कमी आउने रहेछ। साउनको महिनामा नेपाली समुदायमा कपाल र नङ काट्न नहुने चलन छ। तर, फेसियललगायत काम भने भइरहेको छ।’

खुसीले सुरु गरेको युनिसेक्स पार्लरमा महिला र पुरुष दुवैको भीड लाग्छ। विशेषतः पार्लरहरुमा महिलाहरु मात्र जान्छन्। तर युनिसेक्स पार्लर महिला र पुरुष दुवैका लागि भएकाले परिवारका सबै सदस्य आउने उनी बताउँछिन्। 

‘बिस्तारै हाम्रो समाजको सोच पनि फराकिलो हुँदै गएको छ, परिवार नै मिलेर आउनुहुन्छ,’ उनी भन्छिन्।

भिडिओ

ऐनाको सुरुवात गर्दा खुसीले जोखिम मोलेकी थिइन्। लगानी गर्दै जाँदा केही बढी भयो। तर सुरुवातबाट आजसम्म उनले पछाडि फर्केर हेर्न परेको छैन। ऐना नाम राख्नको लागि खुसीले आफ्नो मनको कुरा सुनिन्। 

‘ऐना भनेको प्रतिबिम्ब हो। यसले कहिल्यै झुट बोल्दैन र यो सुन्दरतासँग जोडिएको छ,’ उनी भन्छिन्।

सुरुवातमा आकर्षक नाम अनि नयाँ सजावटको कारण ग्राहक आएको र अब सेवाबाट खुसी भएर दोहोरिन थालेको उनको भनाइ छ।

तीज आउँदै छ। धेरैलाई त यो चाडले छोइसकेको छ। त्यसैले चाडपर्वमा मेकअप गर्नुभन्दा अगाडि कहाँ जाँदैछौँ भन्ने कुरालाई पनि ध्यान दिन जरुरी रहेको उनको भनाइ छ। त्यसैले मेकअप सम्बन्धमा उनले केही टिप्स पनि दिइन् :

नायिका गौरी मल्लसँग खुसी पाठक। तस्बिर : विशाल कार्की/नेपालखबर

तीजमा कस्तो मेकअप गर्ने?
तीजको समयमा रातो रङ बढी प्रयोग हुन्छ। रातो रङलाई तीजको प्रतीकको रुपमा मानिन्छ। विवाहित होस् वा अविवाहित सबैले रातो रङ नै प्रयोग गर्छन्। रातो रङ आफैँमा हेभी कलर हो त्यसैले रातो पहिरनमा हलुका मेकअप सुहाउँछ। 

आँखामा हेभी मेकअप गरेर ओठमा न्यूड कलर लगाउँदा उपयुक्त हुन्छ। ओठमा रातो लिपिस्टिक नै लगाउने हो भने आँखामा भने हल्का मेकअप गर्नुपर्छ। 

स्किन केयर र मेकअपमा फरक 
राम्रो देखिने धुनमा बजारमा पाइने जस्तोसुकै प्रडक्ट प्रयोग गर्नुहुँदैन। मेकअप गर्नुभन्दा अगाडि आफ्नो स्किन कस्तो छ भनेर थाहा पाउन जरुरी छ।

मेकअप गर्नुअघि स्किन केयर महिला र पुरुष दुवैलाई जरुरी छ। अहिले स्किन केयरको बारेमा चर्चा पनि राम्रै भइरहेको छ। स्किन केयर सबैलाई आवश्यक छ भने मेकअप भनेको इच्छा हो।

तपाईं आफ्नो अनुहार धोएर वा क्लिन्जिङ गरेपछि मोस्जराइजर र सनस्क्रिन लगाउने प्रक्रियासम्म स्किन केयर हो। सनस्क्रिन दुई तहमा लगाउन अति जरुरी छ। अहिलेको गर्मी र धुलोधुँवाको कारण पनि सनस्क्रिन लगाउन आवश्यक छ। 

सनस्क्रिनपछि हामीले जे लगाउँछौँ, त्यो हाम्रो चाहना हो। मेकअप कस्तो गर्ने भन्नेबारेमा भने ध्यान दिनुपर्छ। सनस्क्रिन लगाएपछि फाउन्डेसन लगाउनुपर्छ।

यसले घामबाट हाम्रो छालालाई रक्षा गर्छ। आफ्नो छालाको सुरक्षाको लागि दिनमा दुई पटक सनस्क्रिन लगाउनु पर्छ। त्यसपछि कम्प्याक्ट पाउडर लगाउनुपर्छ। मेकअप उमेरअनुसार पनि फरक हुन्छ। त्यसैले आफ्नो उमेरलाई पनि ध्यान दिनुपर्छ। 

आफ्नो छाला कस्तो छ भनेर यसरी थाहा पाउनुहोस्
व्यक्तिअनुसार छाला फरक हुन्छ। एउटै परिवारमा पनि सबैको छाला एकै प्रकारको हुँदैन। हामी परिवारमा सबैले एउटै क्रिम प्रयोग गरे हुन्छ भन्ने मान्यता राख्छौँ तर त्यो गलत छ। छालाको प्रकार जस्तो छ, त्यसैअनुसार हेरचाह गर्नुपर्छ। सामान्यतः हाम्रो छाला ५ प्रकारको हुन्छ। 

१) नर्मल– यस्तो छालामा धेरै चिल्लो पनि हुँदैन र धेरै सुख्खा पनि हुँदैन।
२) ओइली– यस्तो स्किनमा चिल्लो धेरै आउँछ। 
३) ड्राइ– यसमा आफ्नो छाला सुख्खा हुन्छ। 
४) कम्बिनेसन– यस्तो छालामा गाला सुख्खा हुन्छ भने अन्यत्र ज्यादा चिल्लो।
५) सेन्सेटिभ– यस्तो छालामा कुनै प्रडक्ट लगाउनुअघि परीक्षण गर्न जरुरी छ। अन्यथा त्यसको असर देखिन सक्छ। त्यसका लागि कानपछाडि आफुले प्रयोग गर्न लागेको नयाँ प्रडक्टलाई लगाएर २४ घण्टासम्म छाड्नुपर्छ यस्तो गर्दा केही रियाक्सन भएन भने त्यो प्रडक्ट तपाईंका लागि उपयुक्त छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .