कोशी


कानुनको सीमाभित्र रहेर महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गर्‍यौँ : खगराज अधिकारी

कानुनको सीमाभित्र रहेर महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गर्‍यौँ : खगराज अधिकारी

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १२:५८, विराटनगर

नेकपा एमालेका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले कानुन मान्दै पार्टीको एघारौँ महाधिवेशन गर्ने स्थान पोखराबाट काठमाडौँ सारिएको बताएका छन्।

सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई यात्रामा रोक लगाएका कारण त्यसको पालना गर्दै एमालेको एघारौँ महाधिवेशन काठमाडौँमा सार्ने निर्णय गरिएको उनले बताए। 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारबाट भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीललाई विदेश भ्रमणमा रोक लगाउँदै काठमाडौँ उपत्यकाबाट बाहिरिन पनि अनुमति लिन भनेको छ। 

यसैले अब एमालेले एघारौँ महाधिवेशन काठमाडौँमा मंसिर २७ देखि २९ गतेसम्म गर्ने भएको नेता अधिकारीले पत्रकार सम्मेलनमा बताए।

‘पोखरामा गर्ने तयारी थियो, तर सरकारले हाम्रो पार्टी अध्यक्षलाई नै स्थान हद लगाइदिएपछि हामीले कानुनको सीमाभित्र रहेर महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेका छौँ’, उनले भने। 

उनले महाधिवेशनमा पार्टी एकताबद्ध भएर अघि बढ्ने र अनुशासित रूपमा जनप्रदर्शन गर्ने तयारी भइरहेको जानकारी पनि दिए। 

‘चुनाव हुने वातावरण छैन’

यसैबीच एमाले नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले फागुन २१ मा चुनाव हुने वातावरण नदेखिएको दाबी गर्दै प्रतिनिधि सभा पुन:स्थापना गरिनुपर्ने जिकिर गरेका छन्। 

अधिकारीले भने, ‘हामी संविधानलाई सही दिशामा लैजान चाहन्छौँ। संविधानकै ट्र्याकमा रहेर संसद् पुनःस्थापना गरेर असन्तुष्ट पक्षका माग सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो ठहर हो।’

सरकारले देशमा सुरक्षा र स्थिरता कायम गर्न नसकेको आरोप लगाउँदै उनले थपे, ‘सरकारले नियन्त्रणमा लिएको भनिएका हतियारभन्दा धेरै गुना बढी हतियार अझै बाहिर छन्। यस्तो अवस्थामा जनताले सुरक्षाको अनुभूति गर्न सक्दैनन्। निष्पक्ष वातावरण नभएसम्म निर्वाचन हुन सक्ने स्पष्ट छैन।’

उनले फागुन २१ गते निर्वाचन हुन्छ भनेर एमाले जनतालाई ढाँट्न नचाहने टिप्पणी गरे। 

फरक प्रसंगमा उनले कारबाहीका नाममा असल सहकारीविरुद्ध पनि आक्रमण भइरहेको बताए। 

उनले भने, ‘सहकारीका नाममा ठगी गर्नेहरूलाई हामी समर्थन गर्दैनौँ, तर असल सहकारीमाथि आक्रमण गरेर जनताको वित्तीय साक्षरता र अर्थतन्त्रमा जनताको पहुँच घटाउनु पनि गलत हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad