पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि निमित्त उपकुलपति प्रा.डा. बिजुकुमार थपलियासहित ३४ जनाले आवेदन दर्ता गराएको नाम सार्वजनिक भएको छ।
सरकारले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति चयन गर्न दरखास्त आह्वान गरेपछि प्राज्ञिक तथा प्रशासनिक क्षेत्रका दिग्गज व्यक्तित्वहरूले उत्साहजनकरूपमा आवेदन दिएका हुन्।
सार्वजनिक भएको आवेदकहरूको अन्तिम सूचीअनुसार मुलुकका विभिन्न जिल्लाका प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरू उपकुलपतिको दौडमा उत्रिएका छन्।
यस पटकको आवेदनमा निमित्त उपकुलपति प्रा.डा. थपलियाको नाम पनि समावेश भएपछि विश्वविद्यालय वृत्तमा नयाँ तरंग पैदा भएको छ। यसअघि विभिन्न सञ्चारमाध्यम र प्राज्ञिक क्षेत्रमा आफू उपकुलपति पदको दौडमा नरहेको र आवेदन नदिने घोषणा गरेका थपलियाले अन्तिम समयमा आएर आफ्नो दाबेदारी पेस गरेका हुन्। विश्वविद्यालयको नेतृत्वका लागि खुला प्रतिस्पर्धाको आह्वान हुँदा संस्थाको गरिमा र निष्पक्षताका लागि आफू पुनः सोही पदको आकांक्षी नबन्ने सार्वजनिक अभिव्यक्ति दिएका थपलियाको नाम अन्तिम सूचीको ३३ औँ नम्बरमा दर्ता भएको देखिएको छ।
वर्तमान नेतृत्वमै रहेका व्यक्ति आफैँ पुनः प्रतिस्पर्धामा भाग लिँदा छनोट प्रक्रियाको निष्पक्षतामाथि समेत प्रश्न उठ्ने भन्दै कतिपयले आलोचना गर्न थालेका छन्। थपलिया यसअघि संघीय सरकारले जारी गरेको ऐनबाट बर्खास्तीमा परेका उपकुलपति हुन्। उनै थपलियालाई निमित्त उपकुलपतिका रूपमा प्रशासनिक र प्राज्ञिक क्षेत्रको कामचलाउ जिम्मेवारी मन्त्रालयले तोकेको छ।
निमित्त उपकुलपतिकै जिम्मेवारीमा रहेर बागडोर सम्हालिरहेका थपलिया उम्मेदवार बनेपछि अन्य आवेदकहरू माझ 'रेफ्री आफैँ खेलाडी बनेको' भन्दै भित्रभित्रै कतिपय प्राध्यापकहरूले टिप्पणीसमेत गर्दै आएका छन्। यद्यपि थपलियानिकट स्रोतहरूले भने विश्वविद्यालयको आधाउधी काम र योजनाहरू बुझिसकेकाले बाँकी कार्यकालमा ठोस सुधार ल्याउन र संस्थालाई निकास दिन प्राज्ञिक क्षेत्रको दबाब र आग्रहका कारण उनी अन्तिम समयमा निर्णय बदल्न बाध्य भएको दाबी गरेका छन्। आफूले सुरु गरेका कतिपय नीतिगत सुधारका कार्यहरूलाई पूर्णता दिन पनि उनको निरन्तरता आवश्यक रहेको तर्क उनी पक्षधरहरूको छ।
सरकारले सार्वजनिक गरेको नामावलीअनुसार पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि विशेष गरी कोसी प्रदेशको मुकाम तथा विश्वविद्यालयको मुख्य क्षेत्र आसपासका जिल्लाबाट उल्लेख्य सहभागिता देखिएकाे छ। मोरङ जिल्लाबाट मात्रै पाँच जना प्राज्ञहरूले यस पदका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन्।
आवेदन दिनेहरूमा विराटनगर महानगरपालिकाका देवेन्द्र अधिकारी, उमेश कोइराला, अनिल कुमार पोखरेल र सन्देश दास श्रेष्ठ रहेका छन् भने मोरङकै बेलबारी नगरपालिकाबाट गोविन्दप्रसाद गुरागाईँले पनि दरखास्त दर्ता गराएका छन्।
यसै गरी सुनसरी जिल्लाबाट धरानका अशोककुमार झा र दुहबीका सुवर्ण पोखरेलले उपकुलपति बन्ने इच्छा देखाएका छन्। कोसी प्रदेशकै भोजपुरकी रोजी श्रेष्ठ, खोटाङका बाबुराम तिमिल्सिना, इलामका नरेन्द्र कटुवाल र उदयपुरकी ताराकुमारी काफ्लेले पनि आवेदन दर्ता गराएका छन्।
लामो समयदेखि झापा मोरङ सुनसरीमा बस्दै आएका तर ठेगाना अन्यत्रै भएका प्राध्यापक तथा यस क्षेत्रका विज्ञहरूले समेत उपकुलपतिमा आवेदन दिएको खुलेको छ। निमित्त उपकुलपति थपलियाको समेत ठेगाना विराटनगर नभई नुवाकोट हो।
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट पनि उत्तिकै संख्यामा आवेदन परेको देखिन्छ। काठमाडौँका विजय अर्याल, उत्तमकुमार रेग्मी र दिलिप पराजुलीले प्रतिस्पर्धामा नाम दर्ता गराउँदा भक्तपुरका जगतकृष्ण पोखरेल, ललितपुरका होमबहादुर बस्नेत र काभ्रेपलाञ्चोकका तुलसीदास श्रेष्ठ र तनहुँका काजिराम अधिकारीले पनि नेतृत्वका लागि दाबी पेस गरेका छन्।
मधेस प्रदेश र पश्चिम नेपालका विभिन्न जिल्लाबाट समेत उच्च प्राज्ञिक पृष्ठभूमि भएका व्यक्तिहरूले आवेदन दिएका छन्। सर्लाहीका डिल्लीप्रसाद पौडेल, धनुषाका रामदयाल यादव र नन्दकिशोर साह, जनकपुरका राम मल्लिक, सप्तरीका राजनारायण यादव तथा महोत्तरीका कादिर आलमले उपकुलपतिका लागि आवेदन दिएका छन्।
त्यस्तै बाराका मुख्तार अन्सारी र रौतहटको औरहीका विनोदकुमार यादवको पनि सूचीमा नाम रहेको छ। पश्चिम तथा दुर्गम जिल्लाहरूबाट प्रतिनिधित्व गर्दै गोरखाका कृष्णप्रसाद पाण्डे र सुजन बाबु मरहठ्ठा, स्याङ्जाका ध्रुवलाल पाण्डे, रूपन्देही तिलोत्तमाका माधव लम्साल, मकवानपुरका उमेशकुमार आचार्य र दाङका जनार्दन लामिछानेले उपकुलपति पदका लागि आफ्नो दरखास्त बुझाएका छन्।
निमित्त उपकुलपतिको 'सरप्राइज' इन्ट्री र देशभरका अन्य ३३ जना दिग्गज प्राज्ञहरू मैदानमा उत्रिएका कारण पूर्वाञ्चल विश्वविद्यालयको नयाँ नेतृत्व चयन प्रक्रिया निकै रोचक र प्रतिष्ठाको विषय बनेको छ। अब सरकारद्वारा गठित छनोट समितिले उम्मेदवारहरूको सर्टलिस्ट तयार गरी कार्ययोजना र अन्तर्वार्ताका आधारमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्नेछ।
कतिपयले विश्वविद्यालयको उपकुलपति छनोटका लागि भएको यो प्रक्रियालाई कुलपति प्रधानमन्त्री बालेन्द्र शाह र सहकुलपति शिक्षामन्त्री सस्मित पोखरेलको अग्नि परीक्षाको रूपमा समेत चित्रण गरेका छन्।
Shares

प्रतिक्रिया