मोरङ र सुनसरी जिल्लामा बढ्दै गएको आपराधिक गतिविधि, लागुऔषध कारोबार र गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले चलाएको विशेष ‘स्वीप अप्रेसन’का क्रममा १९२ जना पक्राउ परेका छन्। वैशाख ९ गते साँझ ६ बजेदेखि सुरु भई वैशाख ११ गते बिहानसम्म चलेको यस ३६ घण्टे अभियानले पूर्वी नेपालको सुरक्षा व्यवस्थामा नयाँ सक्रियता थपेको छ।
मोरङमा ७२ जना नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका इकाइहरूले चलाएको अभियानमा ७२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा टोल-टोलमा गुण्डागर्दी गर्ने, धम्की दिने, लागुऔषध बिक्री तथा सञ्चय गर्ने र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्नेहरू रहेका छन्।
प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार, समाजमा अराजकता फैलाउने र शान्ति सुरक्षामा खलल पुर्याउनेहरूलाई लक्षित गरी यो कारबाही गरिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सुनसरीमा १२० पक्राउ
सुनसरी प्रहरीले यस पटक पक्राउ परेकाहरूमा १५ जना लागुऔषध प्रयोगकर्तालाई सुधारका लागि पठाइएको छ। त्यस्तै गम्भीर प्रकृतिका लागुऔषध कारोबारमा संलग्न २ जना र लामो समयदेखि फरार रहेका १ प्रतिवादीमाथि कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।
सामान्य कसुरमा संलग्न ७६ जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाइएको छ भने २६ जनामाथि थप अनुसन्धान भइरहेको छ।
सुनसरी प्रहरीले यस क्रममा २६।५६ ग्राम ब्राउनसुगर र ४४ पिस प्रतिबन्धित ट्याब्लेटहरू समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं डीएसपी चन्द्रबहादुर खड्काले समाजमा आपराधिक मनोवृत्ति निरुत्साहित गर्न यो अभियान प्रभावकारी भएको बताए।
Shares

प्रतिक्रिया